कला/साहित्य

मनाइयो मासिक कथावाचनको २८औं श्रृङ्खला

‘नेपाली कथा साहित्यमा पुनर्जागरण अभियान’ ले सञ्चालन गर्दै आइरहेको मासिक कथावाचनको २८औं श्रृङ्खला एक विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ। घट्टेकुलोस्थित वरिष्ठ स्रष्टा पुष्कर लोहनी निवासको ‘स्रष्टा सम्मिलन कक्ष’ मा आयोजित उक्त कार्यक्रमम तीन दर्जन जति स्रष्टाको उपस्थिति थियो।

यस श्रृङ्खलामा वरिष्ठ कथाकार तथा नाटककार स्व. विजय मल्लको शताब्दी जयन्तीको सन्दर्भ पारेर उनको विसं २०१७ मा प्रकाशित तथा अत्यन्तै चर्चित यौनकथा ‘कालो चस्मा’ को पूर्णपाठ वरिष्ठ स्रष्टा इन्दिरा प्रसाईंले वाचन गरेकी थिइन्।

कथावाचनपछि स्रष्टा समिना खनाल ‘पृथा’ र पवित्रा अधिकारीले क्रमशः २०१८ सालमा साहित्यकार ताना शर्माद्वारा सोही कथामाथि गरिएको समीक्षा (बगैँचा पत्रिकाको अंक १ मा प्रकाशित) र सोही साल नै साहित्यकार वामदेव पहाडीद्वारा ताना शर्माबाट गरिएको समीक्षामाथिको प्रतिसमीक्षा अर्थात् ‘अधिसमालोचना’ (बगैँचा पत्रिकाको अंक २ मा प्रकाशित) वाचन गरेका थिए। झण्डै ६५ वर्षअघिको कथा र त्यसपछि तत्कालै गरिएका कडा समालोचनाहरू सुन्दा स्रोताहरूले नितान्त फरक अनुभूति पाएका थिए।

अझ तीन जनाको वाचन सकिएपछि वरिष्ठ स्रष्टाद्वय प्राडा भरतकुमार भट्टराई र प्रमोद प्रधानले विश्लेषणात्मक अनुभूति प्रस्तुत गरेका थिए। “त्यो बेलाको त्यो समय साहित्य लेखन र लेखनपछिको प्रतिक्रिया व्यक्त गर्नमा निकै सक्रिय थियो तर अहिले त्यस्तो सक्रियता देखिन्न”, प्रधानले भने।

त्यसैगरी प्राडा भट्टराईले थपे, “विजयले लेखेको त्यो कथाको प्लट र परिवेशहरू अहिले पनि उस्तै छन्, समय फेरिएको भन्नु कि नभन्नु ? कालो चस्माका प्रवृत्तिहरू अहिले पनि जारी छन् तर महिलालाई मात्र होच्याएर लेख्दा अहिलेका स्रष्टा ज्यादै सचेत हुनुपर्ने अवस्था छ। त्यो हिसाबले समय निकै बदलिएको छ।”

कार्यक्रममा आरम्भिक मन्तव्य ‘नेपाली कथा साहित्यमा पुनर्जागरण अभियान’ का परिकल्पनाकार पुष्कर लोहनीले प्रस्तुत गरेका थिए। विजय मल्लको उक्त कथाको प्लट तयारी तथा उल्लिखित दुवै समीक्षा प्रकाशनमा आफू जोडिएको रसिलो सन्दर्भ पनि उनले उक्त अवसरमा साझा गरेका थिए।

यसैगरी धन्यवाद ज्ञापनसहित कार्यक्रममको समापन गर्ने क्रममा अभियानका अर्का परिकल्पनाकार वरिष्ठ स्रष्टा चन्द्रप्रसाद भट्टराईले लामो समयको प्रतीक्षापछि भए पनि विजय मल्लाप्रति समर्पित यो विशेष श्रृङ्खलाको कार्यक्रम आयोजना गर्न पाएकोमा ज्यादै खुशी लागेको र मासिक कथा–वाचन अभियानले अहिले बजारमा राम्रो स्थान बनाइसकेको र लोकप्रियता बढिरहेकोमा हर्ष प्रकट गरेका थिए।

लाेकप्रिय साहित्यकार डा. चेतनाथ कणेलका अनुसार कार्यक्रममा स्रष्टा उर्मिला पन्त पाण्डेयको कवितासंग्रह ‘कविताञ्जली’ को पनि लाेकार्पण गरिएकाे थियाे। केही स्रष्टाले संग्रहकाे लाेकार्पण गरेका हुन्।

लाेकार्पित कृतिमा पाण्डेयका २०२५ सालदेखि हालसम्म लेखिएका ५९ कविता समेटिएका छन्। उनका पति हंशराज पाण्डेयले कृतिको प्रकाशन गरेका हुन्। 

प्रकाशित: १ चैत्र २०८२ १४:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App