कला/साहित्य

प्रेमका उत्सवपूर्ण कविता

समीक्षा

जिन्दगीका सपनाहरूबाट

म एक्लिएको थिएँ

आँधीले उडाएको पातजस्तो

तिमी अचानक आयौ

तिमीले मेरा दुःखहरूमा

विस्तारै स्पर्श गरेपछि त हो

म विजय हुन थालेको

(चोटहरूमा, पृष्ठ–४१)

कवि ठाकुर बेलवासे नेपाली साहित्यिक क्षेत्रमा कविका रूपमा परिचित छन्।पत्रकारिता क्षेत्रमा आफ्नो पेसालाई दरिलो बनाउँदै अघि बढिरहे पनि उनी समकालीन नेपाली कविता लेखनमा अब्बल कविका रुपमा परिचित छन्।

कविता भावनाले रङ्गिएको सिर्जना हो भन्दा परक नपर्ला। बिम्ब, प्रतीकका माध्यमबाट कलात्मक लेखनले नै पाठकको ह्दय, मनलाई छुन र पगाल्न सक्दछ। कवि बेलवासे पाठकको अन्तरमन छुन कविता मार्फत यस्तो प्रहार गर्दछन् कि मन उद्वेलित भएर शरीर झङ्कृत गराउँदछ।

जिन्दगीका सपनाहरूमा मान्छे एक्लो महसुस गरिरहन्छ। ऊ जन्मिएर परिवारमा रमाउँछ। युवा वय हुँदै गएपछि समूहमा पनि एक्लो महसुस गर्दोरहेछ। जब जीवनमा बन्धनमा बाँधिन्छ, उडेका एक्ला सपनाहरू विपनामा रूपान्तरित हुँदै यात्राहरू उल्लासपूर्ण तरिकाले बढिरहन्छन्। एक्लो जीवनमा सँगै मर्ने सँगै बाँच्ने कसम खाएर आएको जीवन साथीबाट दुःख, दर्द, पीडा, अभाव र हिँड्दै गर्दा आएका कठिनाइहरूको स्पर्श मार्फत चिर्दै अगाडि बढ्दा जुन खुसी, सफलता र विजय प्राप्त हुन्छ त्यो प्राप्त गरेको कविका कविता मार्फत स्पष्ट हुन्छ।

कवि बेलवासेका यसअघि पनि कविताकृति प्रकाशित छन्। पछिल्लो कवितासङ्ग्रह ‘चोटहरूको उत्सव-२०८१’ प्रशस्तै प्रेम, माया, सम्बन्ध, हार्दिकता, प्रकृतिप्रेम, मानवीय पीडा आदि विषयमा चोटिला प्रहार गरिएका कविता हुन्। यो सङ्ग्रह सौन्दर्य शक्तिको कलात्मक शैलीमा उद्बोध गरिएको कविता कृति हो। वास्तवमा प्रेम शक्ति हो। प्रेम बाबुआमा वा आफन्तले गर्ने प्रेम, साथीभाइ वा प्रेमीप्रेमिकाले गर्ने प्रेम। ठाकुर बेलवासेका कविताहरूले मानव विश्वासका लागि र सम्बन्ध, मिलनका लागि गरिएको प्रेमको शक्तिलाई उजागर गरेका छन्।

ठाकुर बेलवासे कविता जति सुन्दर लेख्छन् मित्रहरूसँगको सम्बन्ध पनि उति नै प्रगाढ र हितैषी छ। प्रेममा प्रगाढता, स्नेहशीलता, भावनात्मकता त रहन्छ नै। उनका कविताले मानव चेत र स्नेहशील भावहरूलाई कलात्मक रूपमा उतारिएका छन्। बाँसले जेलिएका बाँसका घनाझैँ सपना र कल्पनाका विचार र भावहरू मनमा आएर बसेपछि लज्जवती झार लजाए जसरी लजाउँदै जीवनभर यात्रा गर्नुपर्ने प्रेमीहरूको सफल प्रेमलाई ‘एउटा हठात् घटना!’ कविताले व्यक्त गरेको भेटिन्छ। प्रेममा विछोड, वियोगान्तजस्ता यावत् दुखद् पक्षभन्दा संयोग, मिलन, प्रगाढ सम्बन्ध र सुखद पक्षहरू प्रस्फुटित हुँदै यी कविताहरू सकारात्मक धारमा उभिएका भेटिन्छन्।

‘चोटहरूको उत्सव’ मा ३८ कविता उनिएका छन्। कविताभित्र स्नेहका गुम्फनहरू त छँदै छन् त्यसमाथि गरिबीमा बाँच्न विवश आम मान्छेमा मायाका पीडा पनि उतारिएका छन्। ‘मोह किन जाग्छ गरिबलाई सुन्दरताको!’ गरिबीले थलिएको भुइँमान्छेको कविता हो। आफू सुन्दर वा जिन्दगी स्वस्थ रुपमा बाँच्न नसकेको मान्छेको पीडा हो। अभावको कारण आफ्ना स्वतन्त्र इच्छाहरू कहाँ पूरा हुन्छन् र? तर पनि गरिब र धनीका इच्छाआकांक्षा, दुःखसुख, भवनाहरू समान रहन्छन्। गरिब भोलि धनी हुन सक्छ धनी गरिब। अभावको कारण गरिबको घरमा प्रकृतिबाट निः शुल्क पाउने पानीको पनि अभाव रहन्छ। सफाचट भएर हिँडिएको नदेख्दा देख्नेले गरिब वा कम्जोर देख्ने प्रवृत्ति छ हाम्रो समाजमा। अलिकति ठाँटिएर हिँडेमा सम्पन्न देखिने मानसिकता पनि अझै छ हामीसँग। तर प्रेम, माया त गरिब वा धनीसँग समान रहन्छ। गरिबी हुनुको पीडा यसरी व्यक्त गरिएको भेटिन्छ कवितामा –

गरिबको घरमा

पानी सधैँ कहाँ हुन्छ

कहाँ हुन्छ घरमा नयाँ पत्ती

सफाचट बनेर बाहिर निस्कन!

यी कविताहरूमा प्रेमका चोट वा स्नेहका चोट प्रसस्त उतारिएका छन्। ती चोटहरू महापहिरो, भूकम्पबाट बचेर पोखिएका हुन् वा जीवनका हरयात्रामा भेटिएका हुन् कुनै न कुनै रूपमा मनभित्रका प्रेमयुक्त भावहरू व्यक्त भएका छन्। कविताको माध्यमबाट जीवनलाई प्रेमको पाठशाला सम्झने कवि बेलवासे समकालीन समयका तस्बिरहरूलाई गहनका साथ उतार्न सफल छन्।

गुलाफ रातो बन्न

तिमीले चुम्नुपर्छ

जून चहकिलो बन्न

तिमी हाँस्नुपर्छ (सौन्दर्य शक्ति)

हो रातो गुलाफले प्रेमीप्रेमिकाको मन जसरी प्रफुल्लित बनाउँछ त्यसरी नै प्रेम, स्नेह, मायाले जीवन हसाउँछ र खुसी बनाउँछ। बेलवासेका कवितामा जुन सौन्दर्य शक्ति छ त्यसले पाठकलाई मोहित बनाउने छ। त्यस्तै यी बिम्बपूर्ण प्रेमिल अभिव्यक्तिले पाठकको अभिरुचि पूरा हुने नै छ। कवितामा गद्यात्मक रूपमा कोरिएका भावना र अनुभूतिले मन र मस्तिष्कलाई विरेचन अवस्य गराउने छ। अतः यति सुन्दर कृतिका लागि प्रिय कवि ठाकुर बेलवासेलाई हार्दिक बधाई एवम् पूर्ण सफलताको कामना गर्दछु।

कृति: चोटहरूको उत्सव (कवितासङ्ग्रह)

कवि: ठाकुर बेलवासे

प्रकाशक: सुनकोसी वाङ्मय प्रतिष्ठान, काभ्रेपलान्चोक

प्रकाशन: २०८१

मूल्य: रु. २५०/-

पृष्ठ: १२४ +४

प्रकाशित: २४ वैशाख २०८२ ११:४७ बुधबार

# Poem # Nagarik