कला/साहित्य

पप गायिका रिहानाको घर बाहिर १० राउन्ड गोली चल्यो

विश्वप्रसिद्ध अमेरिकन पप गायिका रिहानाको अमेरिकास्थित घरबाहिर गोली चलेको छ।

लस एन्जलस प्रहरीका अनुसार घटना आइतबार दिउँसो करिब १ः२१ बजे क्यालिफोर्नियाको बेवर्ली हिल्समा रहेको रिहानाको घरअगाडि भएको हो। गायिकाको घर बाहिरबाट करीब १० राउन्ड गोली चलाइएको बताइएको छ।

रिपोर्टअनुसार एक गोली घरको पर्खाल छेडेर भित्रसम्म पुगेको थियो। घटनापछि प्रहरीले तुरुन्तै कारबाही गर्दै करिब ३० वर्षकी एक संदिग्ध महिलालाई नियन्त्रणमा लिएको जनाएको छ ।

गोली चल्दा रिहाना घरभित्रै भएपनि उनी र घरका अन्य सदस्यहरु सुरक्षित रहेका प्रहरीले जनाएको छ। ती महिलाले रिहानालाई नै लक्षित गरेर गोली चलाएको हो वा अन्य कुनै कारण रहेको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ। उक्त घटनापछि गायिकाको सुरक्षा व्यस्था कडा गरिएको छ।

हाल कलाकार तथा सेलिब्रेटीहरूको घरमा आक्रमणका घटनाहरू बढ्दै गएको देखिएको छ। यसअघि भारतमा पनि बलिउड निर्देशक रोहित शेट्टी, अभिनेता सलमान खान, दिशा पाटनीको बहिनी खुश्बु पाटनी, जस्ता कलाकारहरुको घरमा गोली चलेको थियो।

प्रकाशित: २५ फाल्गुन २०८२ १७:०२ सोमबार