निर्वाचन विशेष

विश्लेषक भन्छनः युवा मतदाता निर्णायक बन्न सक्छन्

चलायमान मतदाता बढी हुँदा परिणाम फेरिन पनि सक्छ

निर्वाचन आयोगको तथ्यांक अनुसार कास्की–१ मा १ लाख १६ हजार ८ सय ७८ जना मतदाता रहेका छन। ती मध्ये १८ देखि ४० वर्ष उमेर समूहका मतदाताको संख्या ३९ प्रतिशत रहेको छ। ४१ देखि ६० वर्ष उमेरका मतदाताको संख्या ३५ प्रतिशत र ६० वर्ष भन्दा बढी उमेरका मतदाता २४ प्रतिशत रहेका छन।  

त्यस्तै कास्की–२ का ८४ हजार १ सय ३४ जना मतदाता मध्ये १८ देखि ४० वर्ष उमेरका मतदाताको आकार ३७ प्रतिशत रहेको छ। यो क्षेत्रमा ४१ देखि ६० वर्षका मतदाताको संख्या ३६ प्रतिशत र ६० वर्ष माथिका मतदाताको संख्या २५ प्रतिशत रहेको छ।  

त्यस्तै कास्की– ३ मा रहेका १ लाख ७ हजार ५ सय ६० जना मतदातामध्ये १८ देखि ४० वर्ष उमेर समूहका मतदाताको संख्या ४१ प्रतिशत रहेको छ। ४१ देखि ६० वर्ष उमेरका मतदाताको संख्या ३४ प्रतिशत र ६० वर्षभन्दा माथिका मतदाताको संख्या २३ प्रतिशत रहेको छ। देशभरका मतदातालाई आधार मानेर मतदाताको उमेर समूह अनुसारको यो संख्या निकालिएको आयोगको भनाई छ।  

तथ्यांक अनुसार मतदाताको संख्यामध्ये सबैभन्दा बढी १८ देखि ४० वर्ष उमेर समूहका रहेका छन। त्यसपछि ४१ देखि ६० वर्षका मतदाता बढी छन। सबैभन्दा कम मतदाता ६० वर्ष भन्दा बढी उमेरका छन। जेनजी आन्दोलनपछि अहिलेको निर्वाचन हुँदै गर्दा युवापुस्ताका मतदाताको आकार कुनैपनि दलका लागि निर्णायक बन्न सक्ने विश्लेषकहरु बताउँछन। उनीहरुका अनुसार युवापुस्ताका मतादाता अरु भन्दा चलायमान पनि हुने गर्छन।  

अवस्था पहिल्याउन सक्ने, उम्मेदवारको क्षमता दाँज्न सक्ने र भविश्यका लागि उपयुक्त हुने पात्रको रुपमा उम्मेद्वार पहिल्याउन सक्ने क्षमता युवापुस्ताका मतदातामा हुने उनीहको भनाई छ। अझ १८ वर्षदेखि २५ वर्ष उमेर समूहका मतदाताको संख्या मात्र हेर्यो भने यो आकार ७  प्रतिशत हाराहारीमा रहेकोले उनीहरु झनै चलायमान हुने विश्लेषकहरुको बुझाई छ।  

पृथ्वीनारायण क्याम्पसका राजनीतिशास्त्रका प्राध्यापक कपिलमणि दाहाल भन्छन, ‘थपिएका मतदाता संख्या त खासै धेरै छैन। तर, मतदाताको उमेर समूहको बाहुल्यता तथा बाहिरी माहोलले पनि चुनावी परिणाम प्रभावित हुनसक्छ। जेजनी आन्दोलनपछि यो पटकको निर्वाचनमा माहोल केही फेरिएकोले मतदाता बढी चलायमान देखिएका छन।’ उनको बुझाईमा पहिलोपटक मत दिने तयारीमा रहेका नयाँ मतदाता झनै बढी चलायमान देखिन्छन।  

‘स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीको सोचाइँ पहिले जस्तो छैन। उनीहरुको मनस्थिति बदलिएको देखेका छौं,’ उनले भने, ‘युवा मतदाताको बाहुल्यता बढि छ। उनीहरुको सोचाँइ पनि फेरिएको छ।’ हजुरबुबा, बुबाले दिएकै दललाई भोट दिनुपर्छ भन्ने मान्यता अहिलेका युवा मतदाताले नराखने हुँदा चुनावी परिणाम सोचेभन्दा फरक आउन सक्ने उनको बुझाई छ। उनको बुझाईमा पाको उमेरका मतदाताको मत हत्तपति बाडिन्न। तर, नयाँ मतादात मत बाँडिन सक्छ।  

‘नयाँ र युवा मतदाताको मत योपटक बाँडिने जस्तो देखिन्छ,’ उनले भने, ‘पाका मतदाता पुरानै दलमा अडिग हुनसक्छन। तर, युवा मतदाता चलायमान बन्न सक्छन। अहिले ४० वर्ष मुनिका मतदाताको संख्या बढी छ।’

४१ देखि ६० वर्ष उमेर समूहका मतदाताको आकार ३५ प्रतिशत हाराहारीमा भएपनि उनीहरु पनि युवाको मतजस्तै अस्थिर हुन सक्ने उनले बताए। ६० वर्ष भन्दा माथिका मतदाता मध्ये अधिकांशले हिजोकै दललाई मत दिन सक्ने उनको अनुमान छ। ‘पुराना मतदाता सैद्धान्तिक रुपमा कुनै न कुनै दल निकट रहेका हुन्छन,’ उनले भने, ‘ती मतदाताले हत्तपत्ति दल बदल्दैनन। पहिल्यै देखि भोट दिँदै आएको दल खोज्ने मतदाता भनेका पाका उमेरका हुन्छन।’  

मानवशास्त्री अमृतकुमार भण्डारी पनि युवापुस्ताका मतदातामा एक प्रकारको माहोल रहेको बताउँछन। ‘बाहिरबाट देखिने तथ्यांक एकातिर छ। तर, भोट खसाल्ने भनेको स्थायी रुपमा घरमै बसोबास गर्ने मतदाताले हो। पाका उमेरका मतदाता युवाभन्दा अडिग हुन्छन,’ भण्डारी भन्छन, ‘६० वर्ष माथिका मतदाताले झट्ट अन्यत्र मत बदल्दैनन, उनीहरु आफ्नै घरमा पनि छन। त्यसैले युवाको आकार बढी छ भन्दैमा परिणाम नै बदलिन्छ भन्न सकिन्न।’  

उनको विश्लेषणमा निर्वाचनमा ५५ प्रतिशत हाराहारीमा मात्र भोट खस्ने गरेको छ। ती मध्ये ६० वर्ष कटेका मतदाताको आकार बढि हुन्छ। किनकी युवा मतदाता घरमा छैनन । मतदाता नामावलीमा नाम भएपनि उनीहरु घर बाहिर रहेका छन।

‘नेपालमा पछिल्ला निर्वाचनमा ५५ प्रतिशत हाराहारीमा मात्र भोट खस्ने गरेको छ। ती मध्ये बढी भोट खसाल्ने भनेको गाउँका मतदाता हुन। युवा पुस्ताका मतदाता मत हाल्न नजान पनि सक्छन, उनीहरु घरै नहुन पनि सक्छन,’ भण्डारी भन्छन, ‘तर, गाउँमा बसेका पाका उमेरका मतदाताहरुमध्ये अधिकांशले मत खसाल्छन।’

भण्डारीको विश्लेषणले पछिल्लो राजनीतिक माहोलले परिवर्तनको पक्षमा देखाएको भएपनि आकारले फरक पार्न सक्छ। ‘हामीसँग औपचारिक वा अनौपचारिक भेटघाटमा राजनीतिक छलफल गर्ने युवापुस्ताका मतदातामध्ये अधिकांशको सोचाई फरक छ। युवाहरु चलायमान पनि छन,’ उनले भने,‘तर, चलायमान मतदाताको ठूलो आकार देशभन्दा बाहिर छ।’

मत संख्याको आकारले ठूलो संख्या ४० वर्ष मुनिका मतदाता देखाएको भएपनि बैदेशिक रोजगारी र उच्च शिक्षाका लागि विदेश गएका मतदाता पनि त्यही उमेर समूहको अधिक हुने भएकोले फेरि निर्णायक मतमा पाकै उमेरमा फर्किनुपर्ने अवस्था आउन सक्ने पनि उनले बताए। ‘मत संख्या धेरै खस्यो भने त्यसले प्रभाव पार्छ। किनभने अहिलको युवा मतदाता भने पक्कै चलायमान छन। उनीहरु सैद्धान्तिक राजनीति भन्दा व्यक्ति अनुसार परिवर्तन हुन सक्छन,’ भण्डारीले भने।  

प्रकाशित: ६ फाल्गुन २०८२ १५:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App