ग्राहक विशेष

सगरमाथा बचाउन एक वैज्ञानिक 'मिसन'

७ सदस्यीय टोली सगरमाथातर्फ

अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताको ७ सदस्यीय टोली सगरमाथाको खुम्बु हिमनदीको हिउँ ‘पग्लिने बिन्दु (मेल्टिङ पोइन्ट) तर्फ किन उन्मुख छ भनेर पत्ता लगाउन शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ।

बेलायतका लिड्स, अवेरीस्टिथ, लेनक्यास्टर विश्वविद्यालय, किंगस कलेज लन्डन, नर्वेको बर्गन विश्वविद्यालयका यी वैज्ञानिकहरूले उक्त क्षेत्रमा एक महिना लामो स्थलगत अध्ययन गर्नेछन्। बेलायतका लिड्स विश्वविद्यालयका प्राध्यापक डंकन क्विन्सेले नेतृत्व गरेको टोलीले ६ हजार मिटर उचाइको ‘वेष्टर्न सिडब्लुएम’ क्षेत्रमा र लिड्स विश्वविद्यालयकाका अर्का प्राध्यापक लि ब्राउनको नेतृत्वमा अर्काे टोलीले वेस क्याम्प र उक्त हिमनदीको तल्लो तटमा हिमनदी खुम्चिँदा त्यहाँको जलीय जैविक विविधतामा परिरहेको असरका बारेमा अध्ययन गर्नेछन्।

क्विन्सेको टोलीले सगरमाथामा पश्चिमी क्षेत्र ‘वेष्टर्न सिडब्लुएम’को ६ हजार मिटर उचाइमा रहेको हिउँमा १५ मिटर ड्रील गरेर गहिराइमा रहेको हिउँमा जलवायु परिवर्तनले पारेको प्रभावका बारेमा अध्ययन गर्ने तयारी छ।

ड्रील गरेर बनाइएको उक्त प्वाँलमा ‘३६० डिग्री’ भिडियो क्यामरा राखेर गहिराइमा रहेका हिउँ र बर्फको संरचनागत अध्ययन गरिनेछ। सतहमा पग्लेको पानी भित्री तहमा छिरेर पुन: जम्दा छुटै तह (लेयर) कायम गर्ने भएकाले भिडियो इमेजमार्फत भित्री तहमा ‘पग्लेको पानी’ कुन मात्रामा पुगेको छ भन्ने हेरिने क्विन्से बताउँछन्।

यी प्वाँलमा तापक्रम मापन गर्ने ‘सेन्सर’ राखेर आगामी १२ महिनासम्म दैनिक रूपमा भूउपग्रहमार्फत तथ्याङ्क सङ्कलन गरिनेछ। यसो गर्दा केही समस्या आएमा अर्काे वर्षको बसन्त याममा वैज्ञानिक टोलीले स्थलगत भ्रमण गरेर यी उपकरणले रेकर्ड गरेका तथ्याङ्क सङ्कलन गरिनेछ।

यो तथ्याङ्कले सतहमा हिउँ र बरफका तह कति तातो छन्, कुन तीव्रतामा ‘पग्लेको पानी’ भित्र छिर्छ र पुन: जम्छ भन्ने जानकारी दिइनेछ। सतहमा रहेको मौसम केन्द्र (वेदर स्टेसन) ले उपलब्ध गराउने तथ्याङ्कले उक्त उचाइमा सौर्य विकीरणको शक्ति र हिमनदीको पग्लने क्रममा रहेको अन्तर्सम्बन्धलाई प्रष्ट पार्ने क्विन्सी बताउँछन्।

‘यो पग्लने र पुन: जम्ने प्रक्रियाले हिउँ र बरफलाई कति स्तरमा तातो बनाएको छ भन्ने आकलन गर्न सहज हुनेछ,’ उनले सगरमाथातर्फ जानुअघि नागरिकसँग भने।

सगरमाथामा हालसम्म ७ पटक अध्ययन भ्रमण गरेका क्विन्सेलगायतको टिमले यसअघि सगरमाथाको आधार शिविर र त्योभन्दा तल रहेको हिउँको तहमा ड्रील गरेर १९० मिटर गहिराइमा तापक्रम सेन्सर राखेर अध्ययन गर्दा त्यति भित्र पनि सबैभन्दा चिसो बरफको तापक्रम माइनस ३.३ डिग्री मात्र रहेको पाएको थियो। वैज्ञानिकका लागि  त्यो आश्चर्यजनक नतिजा थियो।

‘हामीले  त्यो बरफ त्योभन्दा धेरै चिसो हुने अपेक्षा गरेका थियौँ। विशेषगरी जुन चिसो वातावरणमा हामीले यसलाई भेट्टाएका थियौँ, त्यो हिसाबले यो आश्चर्यजनक थियो। यसको स्थानीय जलवायुसँग सामञ्जस्यता थिएन,’ उनले भने ।  

त्यही नतिजाको गुत्थीमा पुग्न अहिले यो अध्ययन गर्न लागिएको चर्चा गर्दै उनले यो अध्ययनले भविष्यमा हिमनदीहरू भविष्यमा कसरी विकसित हुनेछन् भनेर मोडेल गर्न अथवा  सिमुलेट गर्न आधार दिने बताए।  

‘परिवर्तित अवश्थामा उच्च हिमाली क्षेत्रमा आगामी कति वर्षसम्म हिउँ टिक्न सक्नेछन् भन्ने विषयमा अध्ययन महत्त्वपूर्ण हुनेछ,’ उनले भने। जलवायु परितर्वनको कारण सगरमाथालगायत हिमालय क्षेत्रमा हिउँनदी पग्लने क्रममा तीव्रता आएको कैयन् वैज्ञानिक अध्ययनले देखाएका छन्।  

सगरमाथाको धारमा हिउँ जम्दा यसले स्थिरता दिने तर, पग्लँदा यो अस्थिर बनेर हिउँ पहिरो जाने  प्राध्यापक क्विन्से बताउँछन्। ‘विज्ञानका हिसाबले सगरमाथा अहिले संकटको बिचमा छ। यसलाई संरक्षण गर्न तत्काल पहल गर्न आवश्यक छ,’ उनी भन्छन्, ‘सगरमाथा विश्वव्यापी सम्पदा हो, एक सम्पत्ति हो। यसको संरक्षणमा विश्व समुदाय एक हुनैपर्छ।'

जलवायु परिवर्तनका लागि खनिज इन्धनको प्रयोगले गर्ने कार्बन उत्सर्जन प्रमुख कारण रहेको मानिन्छ। विश्वको कुल कार्बन उत्सर्जनमा जी-२० समूहका राष्ट्रको हिस्सा ८० प्रतिशतभन्दा बढी छ ।  

‘यी राष्ट्रहरूले ऊर्जा उत्पादनको मुख्य स्रोतमा रहेको जीवाश्म इन्धनबाट टाढा रहनुपर्छ र नवीकरणीय ऊर्जामा रूपान्तरण हुनुपर्छ। त्यसो गर्न सकेमा मात्र जलवायु सङ्कटसँग जुध्न सकिनेछ,’ उनी भन्छन्।  

अन्यत्र भएको कार्बन उत्सर्जनबाट क्षति बेहोरिरहेका नेपालजस्ता राष्ट्रलाई क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने बताउँदै प्राध्यापक क्विन्से भन्छन्, ‘यो विषय जलवायु न्यायसँग प्रत्यक्ष सम्बन्ध राख्दछ।  जलवायु न्याय नेपालको नैसर्गिक अधिकार हो।’

जलवायु परिवर्तन  मुख्यतया राजनीतिक मुद्दा रहेको प्रसङ्ग उद्धृत गर्दै उनले त्यसैले नेपालका राजनीतिज्ञहरूले अन्य राष्ट्रहरूका सम्बन्धित राजनीतिज्ञहरूसँग संवाद गर्नुपर्ने उनको सुझाव छ । नेपालसँग अझै पनि संसारको सबैभन्दा सुन्दर पर्वत श्रृङ्खला रहेको चर्चा गर्दा उनले भने, ‘म विश्वका पर्यटकलाई नेपाल आउन र यहाँको वातावरणको आनन्द लिन आग्रह गर्दछु। किनभने किनभने केही पुस्तामा पहाडी क्षेत्रहरू धेरै हिसाबले फरक देखिनेछन्।'

प्रकाशित: २९ चैत्र २०८१ २०:१४ शुक्रबार

#sagarmatha