कर्पोरेट

विराट एक्स्पो २०२६ को मुख्य प्रायोजक एक्स्ट्रिम इनर्जी ड्रिंक

आगामी पुस २ देखि ११ गतेसम्म विराटनगरमा आयोजना हुने विराट एक्स्पो २०२६ को मुख्य प्रायोजकमा एक्स्ट्रिम इनर्जी ड्रिंक रहने भएको छ ।

मुख्य प्रायोजनसम्बन्धी सम्झौतामा एक्स्ट्रिम इनर्जी ड्रिंक्स र उद्योग संगठन मोरङबीच बिहीबार विराटनगरमा हस्ताक्षर भएको हो । सम्झौतासँगै म्याक्स टाइगर इनर्जी ड्रिंक ‘इनर्जी पार्टनर’ र वामवाम हाइड्रेसन ड्रिंक ‘हाइड्रेसन पार्टनर’ का रूपमा एक्स्पोसँग जोडिएका छन् ।

उद्योग संगठन मोरङले करिब तीन दशकदेखि आयोजना गर्दै आएको विराट एक्स्पोको यो नवौँ संस्करण हो । पूर्वी नेपालको महत्वपूर्ण औद्योगिक तथा व्यापारिक प्रदर्शनीका रूपमा स्थापित एक्स्पोलाई यस वर्ष परम्परागत प्रदर्शनीको दायराभन्दा फराकिलो बनाउने आयोजकले जनाएको छ ।

एक्स्पोमा ‘लर्न एन्ड वर्क’, ‘बिल्ड’, ‘कनेक्ट’, ‘इन्फ्लुएन्स’, व्यापार विस्तार र मनोरञ्जनलगायत गतिविधिलाई समेटिनेछ । कार्यक्रममा उद्योगी, व्यवसायी, उद्यमी, लगानीकर्ता, विद्यार्थी, युवा तथा नीति निर्माताको सहभागिता रहने आयोजकको भनाइ छ ।

आयोजकले एक्स्पोमा २ लाख ५० हजारभन्दा बढी आगन्तुक सहभागी हुने अपेक्षा गरेको छ ।

सम्झौता कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले एक्स्ट्रिम इनर्जी ड्रिंकसँगको सहकार्यले विराट एक्स्पोको प्रभाव र पहुँच विस्तार गर्न सहयोग पुग्ने बताए । उनका अनुसार एक्स्पो उत्पादन तथा सेवाको प्रदर्शनमा मात्र सीमित नभई उद्योग, व्यापार, उद्यमशीलता, लगानी, रोजगारी र नयाँ अवसरलाई जोड्ने साझा मञ्चका रूपमा अघि बढिरहेको छ ।

विराट एक्स्पो २०२६ का संयोजक विपिन काबराले मुख्य प्रायोजकका रूपमा एक्स्ट्रिम इनर्जी ड्रिंकको सहभागिताले एक्स्पोका गतिविधिमा थप आकर्षण थपिने बताए । साझेदारीलाई ब्रान्ड प्रवद्र्धनमा मात्र सीमित नराखी एक्स्पोका विभिन्न गतिविधि र अवसरसँग जोड्ने तयारी रहेको उनले जानकारी दिए ।

एक्स्ट्रिम इनर्जी ड्रिंककी व्यापार प्रमुख सोनिया राणाले एक्स्पोको नवौँ संस्करणमा मुख्य प्रायोजकका रूपमा सहकार्य गर्न पाउनु महत्वपूर्ण अवसर भएको बताइन् । उनले एक्स्पोका विभिन्न गतिविधिमार्फत साझेदारीलाई प्रभावकारी र अर्थपूर्ण बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।

उद्योग संगठन मोरङका अनुसार विराट एक्स्पो २०२६ ले उद्योग, व्यापार, प्रविधि, लगानी, उद्यमशीलता र नयाँ पुस्ताका अवसरलाई एउटै मञ्चमा जोड्ने लक्ष्य लिएको छ ।

प्रकाशित: २ आश्विन २०८३ २०:३० शुक्रबार