बाढी प्रभावित नागरिकलाई लक्षित गर्दै आर्या फार्मा ल्याब प्रालिले नुवाकोटमा सातदिने सामुदायिक स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । कम्पनीले चितवन मेडिकल कलेजसँगको सहकार्यमा विदुर नगरपालिकाका प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा उपलब्ध गराउन लागेको हो ।
शिविर विदुर नगरपालिका–७ स्थित सलोचना स्कुल, वडा नं. ५ स्थित त्रिशूली विद्यालय र वडा नं. ९ स्थित भैरवडाँडामा सञ्चालन गरिने कम्पनीले जनाएको छ ।
शिविरमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा परामर्श, आवश्यक औषधि वितरण र विभिन्न रोगको परीक्षण निःशुल्क गरिनेछ । थप उपचार आवश्यक पर्ने बिरामी पहिचान गरी सम्बन्धित स्वास्थ्य संस्थामा रेफर गर्ने व्यवस्था पनि गरिने जनाइएको छ ।
बाढीपछि प्रभावित परिवारलाई स्वास्थ्य संस्थासम्म पुग्न आर्थिक तथा व्यावहारिक कठिनाइ हुन सक्ने भएकाले समुदायमै पुगेर सेवा दिन शिविर सञ्चालन गर्न लागिएको आर्या फार्मा ल्याबले जनाएको छ ।
यसअघि कम्पनीले बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ८२ लाख रुपैयाँ बराबरका औषधिजन्य सामग्री सहयोग गरेको थियो । कम्पनीले उक्त सहयोगपछि स्वास्थ्य शिविरमार्फत प्रभावित समुदायमा स्वास्थ्य सेवा विस्तार गर्न लागेको हो ।
प्रकाशित: २९ भाद्र २०८३ १७:२५ सोमबार



