अपराध

भक्तपुरमा प्रतिसिलिन्डर २८ सयमा ग्यास बेच्ने दुई व्यापारी पक्राउ, ८९ सिलिन्डर बरामद

खाना पकाउने एलपी ग्यास चर्को मूल्य लिई कालोबजारी गरेको आरोपमा प्रहरीले भक्तपुरका दुई छुट्टाछुट्टै स्थानबाट दुई जना व्यापारीलाई पक्राउ गरेको छ। उनीहरूको साथबाट भरिएका ८९ थान ग्यास सिलिन्डर बरामद गरिएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट प्रहरी निरीक्षक हेमबहादुर थपलियाको कमान्डमा खटिएको टोलीले बिहीबार साँझ ५ बजे सूर्यविनायक नगरपालिका-३, ब्रम्हनगरस्थित ‘सर्लाही जनरल स्टोर’ मा छापा मारेको थियो।

पसलबाट उपभोक्तालाई प्रतिसिलिन्डर २ हजार ८०० रुपैयाँका दरले ग्यास बिक्री गरिरहेको अवस्थामा सञ्चालक उमेश शाह पक्राउ परेका हुन्।

सर्लाहीको बरहथवा नगरपालिका-७ घर भई हाल ब्रम्हनगर बस्दै आएका २५ वर्षीय शाहको किराना पसलबाट ७५ थान भरिएका ‘हिमाल ग्यास’ का सिलिन्डर बरामद भएको प्रहरीले जनाएको छ।

यसैगरी, सोही टोलीले बिहीबार साँझ ६:३० बजे भक्तपुर नगरपालिका-२ इटाछेबाट १४ थान भरिएका ‘सगर ग्यास’ का सिलिन्डरसहित अर्का व्यापारीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय ४१ वर्षीय राजेश कर्माचार्य रहेका छन्।

बरामद गरिएका कुल ८९ थान सिलिन्डरसहित पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुरमा बुझाइएको छ।

उनीहरूमाथि कालोबजार तथा केही अन्य सामाजिक अपराध ऐनअन्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: २५ भाद्र २०८३ २२:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App