पर्सा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित चेकपोस्टमा सवारी चेकजाँचका क्रममा लागू औषध बरामद गरिएको हो। सो क्रममा पचरौता नगरपालिका–९ का ४२ वर्षीय राम अशिष राउत अहिर र बहुदरमाई नगरपालिका–२ का ३० वर्षीय सुवास सर्राफलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीले ना ७ ख ७६८६ नम्बरको ट्रक रोकेर जाँच गर्दा ट्रकभित्र लुकाइछिपाइ राखिएको ४२ हजार ३०० क्याप्सुल प्रतिबन्धित लागू औषध फेला परेको थियो।
बरामद लागू औषधसहित पक्राउ परेका दुवै जनामाथि लागू औषधसम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै पछिल्लो समय लागू औषधको अवैध कारोबार नियन्त्रण गर्न प्रहरी सक्रिय रूपमा अभियान सञ्चालन गरिरहेको प्रहरी उपरीक्षक सुदीप राज पाठकले बताए।
पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा राखेर लागू औषध ओसारपसार मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: १ चैत्र २०८२ २२:०९ आइतबार