निर्वाचनको मौका छोपेर सुटुक्क मतदान गर्न गाउँ पसेका तीन जना फरार अभियुक्तलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका कसुरदारदेखि बहुविवाह र बैंकिङ कसुरका अभियुक्तसम्म रहेका छन्।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन तयार पारेको पूर्वरणनीतिअनुसार उनीहरूलाई फागुन २१ गते मतदान गरेलगत्तै विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो।
पक्राउ परेका सबैलाई कैद तथा जरिवाना असुलउपरका लागि फागुन २५ गते स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जानकारी दिएको छ।
कर्तव्य ज्यान मुद्दामा फरार रहेका अर्जुनचौपारी गाउँपालिका-५ का ४० वर्षीय प्रेमबहादुर दर्जीलाई सोही वडाको तालपोखरीबाट पक्राउ गरिएको हो।
उनलाई अदालतले २० वर्षको कैद सजाय सुनाएको थियो। लामो समयदेखि फरार रहेका उनी मतदानका लागि गाउँ आएको बेला प्रहरीको फन्दामा परेका हुन्।
यसैगरी, बैंकिङ कसुर मुद्दामा फरार पुतलीबजार नगरपालिका-५ सुरौदीका ५८ वर्षीय बुद्धिमान शाहीलाई वडा नम्बर-५ कै कटुन्जेचौरबाट नियन्त्रणमा लिइएको हो।
शाहीविरुद्ध अदालतबाट दुईवटा छुट्टाछुट्टै मुद्दामा फैसला भएको थियो। उनलाई एउटा मुद्दामा २ दिन कैद र १ लाख ६३ हजार रुपैयाँ जरिवाना तथा अर्को मुद्दामा १ दिन कैद र १ लाख रुपैयाँ जरिवाना तोकिएको प्रहरीले जनाएको छ।
त्यस्तै, बहुविवाह मुद्दामा फरार रहेका आँधीखोला गाउँपालिका–४ सरादीका ७४ वर्षीय रामबहादुर कामी पनि पक्राउ परेका छन्। अदालतले उनलाई २ वर्ष ५ महिना १३ दिन कैद र २५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।
उनलाई आँधीखोला-४ स्थित सेपत सिरानचौरबाट पक्राउ गरिएको हो।
प्रकाशित: २६ फाल्गुन २०८२ १९:४१ मंगलबार