अपराध

मोटरसाइकल आतङ्क मच्चाउने ‘खतरनाक खोपडी’ समूहका २५ युवा प्रहरी नियन्त्रणमा

सुर्खेतको वीरेन्द्रनगरमा समूह बनाएर हो-हल्ला गरी मोटरसाइकल आतङ्क मच्चाएको आरोपमा प्रहरीले २५ जना युवालाई नियन्त्रणमा लिएको छ।

सार्वजनिक शान्ति सुव्यवस्था तथा निर्वाचन सुरक्षामा खलल पुर्‍याउने गतिविधि गरेको भन्दै ‘खतरनाक खोपडी’ (द डेन्जरस स्कल) नामक समूहका सदस्यहरूलाई प्रहरीले पक्राउ गरेको हो।

हातमा कालो तथा सेतो झण्डा बोकेर मोटरसाइकल र्‍याली निकाल्दै वीरेन्द्रनगर बजार क्षेत्रमा हो-हल्ला गरेर हिँडेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्।

शनिबार दिउँसो करिब २ बजेतिर वीरेन्द्रनगर नगरपालिका-११ धुलियाबीटबाट तीनकुने चोक जाँदै गरेको उक्त समूहलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

जिल्ला प्रहरी कार्यालय सुर्खेत र नगर प्रहरी कार्यालयबाट खटिएको ३० जनाको संयुक्त प्रहरी टोलीले उनीहरूले प्रयोग गरेका ८ वटा मोटरसाइकल र ४ वटा स्कुटर समेत नियन्त्रणमा लिएको छ।

पक्राउ परेका युवाहरूलाई अहिले जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा राखिएको छ।

उनीहरूमाथि सार्वजनिक शान्ति विरुद्धको कसुर तथा सुरक्षा संवेदनशीलताका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २४ माघ २०८२ १८:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App