काठमाडौं प्रहरीले शुक्रबार राजधानीभरि ठूलो मात्रामा रात्रिकालीन खोजी अभियान सञ्चालन गर्दै गुण्डागर्दी, ठगी र बिचौलिया गतिविधिमा संलग्न १९५ जनालाई पक्राउ गरेको छ।
काठमाडौं जिल्ला प्रहरी परिसरका एसएसपी रमेश थापाका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, ठमेल र बुढानीलकण्ठ लगायतका प्रमुख स्थानहरूबाट उनीहरूलाई पक्राउ गरिएको हो।
गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेदेखि नै कारबाही तीव्र बनाएका छन्। ठमेलमा पर्यटकको सास्ती र विमानस्थलमा बिचौलियाको लुटपाट रोक्न प्रशासनले यस्तो कदम चालेको बताइएको छ।
पक्राउ परेकामध्ये १८ जना प्रत्यक्ष गुण्डागर्दीमा संलग्न रहेका छन्। अपराध अनुसन्धान कार्यालयले १३ जना र जिल्ला प्रहरी परिसरले ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
कार्यालयले नियन्त्रणमा लिएका १३ जनामा सञ्जीव लामा, अशोक गिरी, वकिल बम, सुरेश गुरुङ (किमजोङ), सञ्जीव राई, राज कुमार तामाङ, विनोद ठकुरी, शेर्पा लामा, राहुल राई, समेश तामाङ, सुन बहादुर तामाङ, वीर बहादुर लामा र महेश महत रहेका छन्।
त्यस्तै परिसरले पक्राउ गरेका पाँच जनामा प्रविण तामाङ (डिम्पल), बिर्जु महर्जन, सुजन कार्की, सरु हुमागाईं र विकि लामा रहेका छन्। पक्राउ परेका सबैमाथि हाल अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: २१ चैत्र २०८२ ०९:४५ शनिबार