अपराध

मदिराको नशामा नातिको उपद्रो: काकाको मोटरसाइकल जलाए, हजुरबुबामाथि कुटपिट

मकवानपुरको बागमती गाउँपालिकामा मदिरा सेवन गरी आफ्नै परिवारका सदस्यहरूमाथि सांघातिक आक्रमण, तोडफोड तथा आगजनी गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

काकाको घर र मोटरसाइकल जलाउनुका साथै ५५ वर्षीय हजुरबुबालाई कुटपिट गरी घाइते बनाएको अभियोगमा ‘टम्बा’ भन्ने निसान पाख्रिन पक्राउ परेका हुन्।

प्रहरीका अनुसार बागमती गाउँपालिका-६, कायर स्थायी ठेगाना भएका मिलन पाख्रिनका २२/२३ वर्षीय छोरा निसान हाल वडा नम्बर-८ साततल्लेस्थित आफ्ना सहोदर कान्छा काका ‘बुद्ध’ भन्ने मिलन पाख्रिनको घरमा बस्दै आएका थिए।

भाद्र २० गते राति करिब ११:५५ बजेको समयमा मादक पदार्थ सेवन गरेका निसानले काका र हजुरबुबा रामबहादुर पाख्रिनसँग विवाद र झैझगडा सुरु गरेका थिए।

विवादकै क्रममा उनले काकाको इँटा र सिमेन्टले बनेको जस्ताले छाएको ४ कोठे भुइँतल्ले घरको ढोका तथा झ्यालहरूमा हानेर क्षति पुर्‍याएका थिए। त्यसपछि घर परिसरमा पार्किङ गरी राखिएको ना ४२ प ६३६६ नम्बरको १५० सीसीको पल्सर मोटरसाइकलमा समेत आगजनी गरेका थिए। आगोले मोटरसाइकल पूर्ण रूपमा जलेर नष्ट भएको छ।

त्यसलगत्तै निसानले सँगै रहेको हजुरबुबा रामबहादुर पाख्रिनको घरको झ्यालढोका समेत तोडफोड गर्दै उनीमाथि कुटपिट गरेका थिए।

नातिको आक्रमणबाट ५५ वर्षीय रामबहादुरको टाउको, दुवै हात तथा शरीरका विभिन्न भागमा चोट लागेको छ।

मध्यम घाइते भएका उनलाई काका बुद्ध पाख्रिनको सहयोगमा तत्काल स्थानीय झुरेझुरेस्थित साम्भी पोलिक्लिनिक लगिएको थियो। त्यहाँ प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि हेटौंडा अस्पताल पठाइएको छ।

घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय फापरबारीबाट प्रहरी निरीक्षक सुनिल थापा नेपालीको कमान्डमा खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर तोडफोड तथा आक्रमणमा संलग्न निसानलाई नियन्त्रणमा लिएको हो।

घटनाबारे थप कानुनी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २१ भाद्र २०८३ १६:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App