अपराध

राजेश हमालको नाम दुरुपयोग गरी भ्रष्टाचार !

महानायक राजेश हमालको नाम दुरुपयोग गरी भ्रष्टाचार गरिएको घटना सार्वजनिक भएको छ। उनको तस्बिर प्रयोग गरेर बनाइएको भनिएको वृत्तचित्र (डकुमेन्ट्री) का नाममा १२ लाख ७७ हजार २५० रुपैयाँ हिनामिना गरिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेसँगै प्रकरण बाहिर आएको हो।

अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउद, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह र लेखापाल विमल साउदविरुद्ध सार्वजनिक सम्पत्ति दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको छ। यसै प्रकरणमा आर.जे. ट्वान्टी फोर न्युज तथा नव इन्द्रेणी फाउन्डेसनका अध्यक्ष रामजी लम्साल (रामबहादुर लम्साल) लाई पनि प्रतिवादी बनाइएको छ।

आयोगका अनुसार, राजेश हमालको नाम जोडेर व्यक्तिगत निर्देशनमा चलचित्र निर्माण गर्ने भन्दै १५ लाख रुपैयाँ बजेट छुट्याइएको थियो। सो रकममध्ये १२ लाख ७७ हजार २५० रुपैयाँ भुक्तानी गरिएको भए पनि सार्वजनिक खरिद ऐन तथा नियमावलीको गम्भीर उल्लङ्घन भएको ठहर गरिएको छ।

अनुसन्धानका क्रममा प्रतिस्पर्धाबिना प्रक्रिया मिचेर सोझै खरिद सम्झौता गरिएको, कानुनी सीमाभन्दा बढी अर्थात् ३५ प्रतिशतसम्म पेस्की दिइएको र बैंक ग्यारेन्टीसमेत नलिई रकम भुक्तानी गरिएको खुलेको छ। अख्तियारका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा यस्तो उल्लेख गरिएको छ।

यस्तै, चलचित्र निर्माणका लागि पेश गरिएका बिलहरू शङ्कास्पद तथा नक्कली रहेको र काम नगरी सरकारी रकम हिनामिना गर्न योजनाबद्ध रूपमा मिलेमतो गरिएको पनि आयोगले जनाएको छ।

गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदले आफ्नो पदको दुरुपयोग गर्दै आफू तथा अन्य प्रतिवादीलाई लाभ पुर्‍याउने उद्देश्यले उक्त कार्य गरेको ठहर गर्दै उनलाई थप सजायको मागसमेत गरिएको छ।

अन्य प्रतिवादीहरूविरुद्ध पनि भ्रष्टाचार निवारण ऐनको दफा १७ र २२ अनुसार बिगो असुलउपरसहित हदैसम्मको सजाय माग गर्दै आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ।

प्रकाशित: ५ चैत्र २०८२ १५:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App