अपराध

विभिन्न स्थानबाट लागूऔषध सहित १३ जना पक्राउ

प्रहरीले देशभरका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १३ जनालाई पक्राउ गरेको छ। काठमाडौं, मोरङ, झापा, बाँके र कैलालीबाट उनीहरू पक्राउ परेका हुन्।

मोरङको उर्लाबारी नगरपालिका–३ थापाचोकबाट प्रहरीले दुई जनालाई हजारौं ट्याब्लेट लागूऔषधसहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पथरीशनिश्चरे नगरपालिका-४ का ४३ वर्षीय योगेन्द्र तुङहाङ र ४४ वर्षीय कमल दाहाल रहेका छन्। इलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले उनीहरूको कोठाबाट ९ हजार ५ सय ७० ट्याब्लेट ट्रामाडोल, २ हजार ५ सय २० ट्याब्लेट स्पास्पेन, ५ सय ८५ ट्याब्लेट नाइट्राजेपाम र ३ सय ५० ट्याब्लेट प्रोमेथाजाइन बरामद गरेको छ।

साथै, ७ ग्राम ८९० मिलिग्राम ब्राउनसुगर, २ किलो २३० ग्राम गाँजा र एउटा डिजिटल तराजुसमेत फेला परेको छ।

यसैगरी, बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१, धम्बोजीबाट १४१ ग्राम ७९० मिलिग्राम ब्राउनसुगरसहित ४ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बाँकेको संयुक्त टोलीले नेपालगन्ज-१८ का २१ वर्षीय सुमेर शेषसहित चार जनालाई शुक्रबार राति नियन्त्रणमा लिएको हो।

बाँकेकै नेपालगन्ज-१५, जमुनाहाबाट १ ग्राम ७५० मिलिग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन्। भे.४ प ९२५६ नम्बरको मोटरसाइकलमा सवार जानकी गाउँपालिका-६ का ३२ वर्षीय सन्तराम चौहान र डुडुवा गाउँपालिका-४ का ३० वर्षीय भोला लोनियालाई इलाका प्रहरी कार्यालय जमुनाहाको टोलीले पक्राउ गरेको हो।

काठमाडौंको चन्द्रागिरी नगरपालिका-१४, नैकापबाट २६ वर्षीय सम्राट केसी १ हजार ५ सय ८६ ट्याब्लेट ट्रामाडोलसहित पक्राउ परेका छन्। प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग बलम्बुको टोलीले उनलाई शुक्रबार दिउँसो नियन्त्रणमा लिएको हो।

उता, झापाको भद्रपुर नगरपालिका–३, आँपगाछीबाट भारत हुँदै नेपालतर्फ पैदल आउँदै गरेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। भद्रपुर-४ का ३२ वर्षीय मनराज राई र १९ वर्षीय खगेन्द्र गौतमको साथबाट वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले २ ग्राम ४१० मिलिग्राम ब्राउनसुगर बरामद गरेको छ।

यस्तै, कैलालीको टीकापुर नगरपालिका-८, अनरूवाबाट ७८० मिलिग्राम खैरो हेरोइनसहित दुई युवा पक्राउ परेका छन्। प्रहरी चौकी कालाकुण्डाको टोलीले सोही स्थानका १९ वर्षीय रोहन बिक र २० वर्षीय उत्तम साउदलाई शुक्रबार राति नियन्त्रणमा लिएको हो।

पक्राउ परेका सबै १३ जनामाथि सम्बन्धित प्रहरी कार्यालयहरूबाट थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: २१ चैत्र २०८२ १६:२३ शनिबार