बूढानीलकण्ठ डोजोले प्रथम बूढानीलकण्ठ मेयर कप काठमाडौं उपत्यकाव्यापी सितोरियो कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ।
बूढानीलकण्ठ नगरपालिकाको आयोजना र नेपाल सितोरियो कराते शाखा डोजो गल्फुटारको समन्वयमा भएको प्रतियोगितामा बूढानीलकण्ठ १२ स्वर्ण, पाँच रजत र १० कांस्य जित्दै टिम च्याम्पियन भएको हो। गोल्फुटार समान पाँच स्वर्ण, रजत र कांस्य पदकका साथ दोस्रो भएको प्रतियोगिता संयोजक प्रेम लामाले जानकारी दिए।
बूढानीलकण्ठमा भएको प्रतियोगितामा श्रीयन्त्र तेस्रो भयो। उसले तीन स्वर्ण, चार रजत र तीन कांस्य पदक जित्यो। स्टार स्कुल चौथो स्थानमा भयो। स्टारले एक स्वर्ण, तीन रजत र तीन कांस्य पदक जित्यो। पुरुषमा बूढानीलकण्ठका लक्ष्मण बराल र महिलामा गोल्फुटारकी सुष्मा राई उत्कृष्ट खेलाडी घोषित भए।
पुरुषमा श्रीयन्त्रका गोइदुप तामाङ र महिलामा क्यामेलियाकी विशिका मगर उदीयमान खेलाडी चुनिए। मूलपानी डोजोले अनुशासित टिमको ट्रफी र प्रोग्रेसिभ स्कुल मार्च पास्टमा उत्कृष्ट भयो। विजेतालाई बूढानीलकण्ठ नगरपालिका मेयर मिठाराम अधिकारी र बूढानीलकण्ठ नगरपालिका खेलकुद बोर्डका संयोजक एवं वडा ८ का अध्यक्ष सुमन तामाङलगायतले पुरस्कृत गरेका थिए। सो अवसरमा एकेएफ निर्णायकत्रय सिर्जना अधिकारी, हीरादेवी राई, शान्ति तामाङलगायत बूढानीलकण्ठका सिनियर खेलाडीलाई सम्मान पनि गरिएको थियो।
प्रकाशित: ३ चैत्र २०८१ ०८:१६ आइतबार