समाज

कर्णालीकै प्रसिद्ध चन्दननाथ मन्दिर सजावटमा सेना

कर्णालीकै प्रसिद्ध चन्दननाथ भैरवनाथ मन्दिरको सजावटमा नेपाली सेना जुटेको छ। दसैँ नजिकिँदै गर्दा मन्दिरको लिपपोत, सजावटमा सेना जुटेको हो। यो धार्मिक पर्यटनको केन्द्र हो। दसैँमा टाढा-टाढादेखि भक्तालुहरु आउने भएकोले मन्दिरलाई चिटिक्क बनाउन थालिएको चन्दननाथ भैरवनाथ गुठि समितिका अध्यक्ष पुर्णसिंह कठायतले जानकारी दिए।

उनले भने,‘मन्दिरको सजावट र सरसफाइ सेनाले गर्दै आएको छ। जसले गर्दा मन्दिरको शोभा बढेको छ।’ हरेक महिनाको पहिलो सोमबार मन्दिरको सरसफाइ हुने गरेको उनले बताए।  

नेपाली सेनाको नन्दाबक्स गण र २४ नम्बर बाहिनी अड्डा जुम्लाबाट सेना आउने गर्छन्। मन्दिरलाई गाह्रो पर्दा सेनाले सघाउने गर्छ। उनले भने,‘परम्परागत संस्कृति जोगाउन सेनाको भूमिका निकै अतुलनीय छ। यो कर्णालीवासीले महिमा गान गाउँछन्।’

नन्दाबक्स गणका उपसेनानी सन्तोष केसी पछिल्लो समयमा नेपाली सेना धार्मिक पर्यटन प्रवर्द्धनमा जुटेको बताउँछन्। उनले भने, ‘मन्दिर यहाँको पहिचान हो। मन्दिरको शोभा बचाइराख्नु पनि दायित्व हो। त्यो दायित्व नेपाली सेनाले पूरा गरेको मात्र हो।’  

मन्दिरको सजावटमा १३ जना सेना परिचालन गरिएको छ। यसअघि फूलका गमला राख्नेदेखि मन्दिर आसपासको क्षेत्र सफा गर्ने काम नेपाली सेनाले गरेको थियो।  

मन्दिरमा चामल ३० केजी, दाल ५ केजी, तेल पाँच लिटर, चिनी ५ केजी, चियापत्ति २ केजी, मरमसला, विस्कुट गरेर ५ पेटी मन्दिरमा दिने गरेको छ। मन्दिरमा बस्ने पुजारी र अन्य कर्मचारीलाई सहज होस भनेर सेनाले आवश्यक खाद्यान्न समेत दिने गरेको हो।  

धार्मिक स्थलको मर्मतमा सेनाले गरेको भूमिका प्रशंसनीय छ। मन्दिरको सजावटमा सेना लागेको देख्दा स्थानीय चकित छन्। सेना ब्यारेक बाहिर निस्कन पाउँदैनन् भन्ने भ्रम छ। अहिले सेना जनसरोकारका विषयमा प्रत्यक्ष लागेर काम गरिरहेको छ।  

धार्मिक पर्यटनको बलियो आधार चन्दननाथ मन्दिर भएकोले धार्मिक पर्यटन आकर्षण गर्नको लागि भएपनि सेना सजावटमा खटिएको हो। गुठि समितिका अध्यक्ष पुर्णसिंह कठायतले भने, ‘नेपाली सेनाले कर्णालीको धार्मिक पर्यटनमा देखाएको चासो निकै राम्रो छ। मन्दिरको लिपपोतदेखि लिएर सजावटसम्मको काम पनि सेनाले गरेको छ। यो राम्रो कार्य हो।'

प्रकाशित: १६ आश्विन २०७८ १३:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App