समाज

दसगजामा बढ्दै भिड, संक्रमण फैलने डर

भारतको विभिन्न सहरबाट आएर दसगजा बसिरहेका नेपाली नागरिक । तस्बिर : कमल खत्री/नागरिक

भारतबाट आउने स्वदेश फर्कने नेपालीको संख्या ह्वात्तै बढेको छ । शुक्रबारसम्म भारतबाट आएर दसगजामा बस्ने नेपालीको संख्याको ६ सय ८७ पुगेको छ । भारतबाट आउने नेपालीको संख्या बढेसँगै कोरोना संक्रमण फैलिने खतरा बढेको छ । शुक्रबार भारतबाट आएका ८ जनामा कोरोना संक्रमित भएपछि बाँकेका स्थानीय तहलाई थप चुनौति बढेको छ ।

दसगजा क्षेत्रमा आइपुगेका नेपाललाई सम्बन्धित जिल्ला पठाउनका लागि तयारी भैरहेको जिल्ला प्रशासन कार्यालय बाँकेले जानकारी गराएको छ । भारतको विभिन्न सहरबाट आइपुगेको नेपालीहरू ४७ जिल्लाका छन्। उनीहरूलाई गृह जिल्लामा पठाउनका लागि बाँके प्रशासनले समन्वय गरिरहेको छ ।

भारतबाट आउने नेपालीको संख्या ह्वात्तै बढेपछि सीमावर्ती क्षेत्रका स्थानीय सरकारलाई व्यवस्थापन गर्न कठिनाइ भैरहेको छ । व्यवस्थापनमा चुनौतिसँगै कोरोना संक्रमणको जोखिम पनि बढेर गएको बताउँछन् । नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजाल ।

बाँकेको नरैनापुर गाउँपालिकामा शुक्रबार कोरोना संक्रमित ८ जना भारतबाट आएका हुन । बाँकेका सबै स्थानीय तहले भारतबाट आउने नागरिकलाई क्वारेनटाइनमा राखेर परिक्षण गर्दै आएको छ । नरैनापुरमा भारतबाट आएका ५ सय जना भन्दा बढि क्वारेनटाइनमा छन्। 

बाँकेको नरैनापुर मात्र होइन भारतीय सीमानासँग जोडिएका बाँके, बर्दिया, रुपन्देही, कैलाली, कंचनपुर लगायतका जिल्लामा भारतबाट घर फर्कने नेपालीको संख्या बढिरहेको छ । हरेक दिन भारतबाट फर्किरहेका नेपालीको भीड दशगजामा बढदै गएको छ ।  

भारतले अलपत्र परेका जनतालाई आफनो घर सम्म पु¥याउनका लागि रेलसेवा सुरू गरेपछि नेपाल फर्कनेको संख्या ह्वात्तै बढेको हो । जसका कारण सीमावर्ती क्षेत्रसँग जोडिएका जिल्लालाई व्यवस्थापन गर्न चुनौति देखिएको छ । 

एक्कासी गाउँपालिका आउने मानिसको संख्या बढेपछि व्यवस्थापनमा समस्या भएको बताउँछन्। नरैनापर गाउँपालिकाका सुचना अधिकारी लक्ष्मी कान्त मिश्र । उनले भने, ‘हामीले सुरुमा छुटयाएको बजेटले नपुग्ने भयो । अब थप बजेटको व्यवस्थापन गर्नु पर्छ । अर्को कुरा क्वारेनटाइनको संख्या पनि ह्वात्तै बढाउनु पर्ने देखिएको छ ।’ 

नेपाल र भारत सरकारले डेढ महिना अघि देखि लकडाउन गरेपनि भारतका विभिन्न स्थानबाट नेपाल आउने क्रम नरोकिएपछि अधिकांशलाई उद्धार गरेर क्वारेन्टाइनमा राखिएको थियो । पछिल्लो समय नेपालमा कोरोना संक्रमण बढ्दै गएपछि सीमावर्ती क्षेत्रबाट प्रवेश गर्नमा कडाई गरिएको थियो । तर भारतीय प्रशासनले आउन छुट दिएपछि दसगजामा आएर रोकिनेको संख्या बढेको हो । यसले व्यवस्थापनमा समस्या आउने बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार खड्का बताउँछन् । 

प्रकाशित: २ जेष्ठ २०७७ ०७:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App