समाज

कमला नदीमा भूत मेलाः धामी झाँक्रीको भीड

’पापकी छय, धर्मकी जय, हई भगतकाली राघो बन्नी।’ यस्तै यस्तै आ–आफना इष्ट देवताकोको नाम फलाक्दै धामी झाँक्री मिर्दङ (मादल), झ्याली, ढोल पिपही जस्ता बाजाको तालमा कमला नदीमा शपथ ग्रहण गर्न पुगेका छन्।

धनुषा र सिरहा जिल्लाको सिमाना छुट्ट्याउने कमला नदीमा कात्तिक शुक्ल पुुर्णिमाको दिन स्नान गरेपछि तान्त्रिक विद्या सिद्ध हुने जनविश्वासका साथ आइतबार रातीदेखि नै मधेसका गाउँ गाउँबाट भूत मेला भर्न कमला नदीमा श्रद्धालुको घुइँचो लागेको थियो।

कतिपय कात्तिक पूर्णिमाको पूर्वसन्ध्यामा आइतबार कमला नदीको तटमा पुगेर राति बास बसेका थिए। सोमबार बिहान कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्या सिद्ध हुने जनविश्वासका साथ उनीहरू जम्मा भएका हुन।

कमला नदीको किनारमा प्रत्येक वर्ष कात्तिक पूर्णिमामा अनौठो तथा भूत मेला लाग्ने गर्छ। धनुषासहित सिरा, सप्तरी, महोत्तरी, उदयपुर र सीमावर्ती भारतको मधुवनी, दरभंगा, समस्तीपुर, जयनगर लगायतका स्थानबाट ठुलो सङ्ख्यामा सर्वसाधारण कमला नदीमा स्नान गर्न आउने गर्दछन्। धामी झाँक्री बन्ने विश्वासका साथ उनीहरू देवता खेल्दै कमला नदीमा स्नान गरेपछि कमलेश्वरी देवीले तान्त्रिक विद्याको वर दिने तथा योग पाको हुने जनविश्वास छ।

पहेँलो धोती र सारीमा सजिएका नयाँ सिकारु धामीझाँक्रीहरु हातमा बलेको आगो सहितको माटोको ढकना (भाँडा) र बेतको लाठी घुमाउँदै चर्को स्वरमा चिच्याइरहन्छन्। उनीहरू आफूमा आएको देवतालाई सिद्ध गर्न गङ्गा स्नान गर्न आएका बताउँछन्।

धामी झाँक्री मादल, करताल, झाइल र ढोल पिपहीको सुर र तालबिच यसको कर्कश स्वरले भय उत्पन्न हुने खालको वातावरण अनुभूति गर्न सकिन्छ। स्नानको समयमा मूल धामीले लोक भाकामा गीत समेत गाउने गर्छन्। जसलाई स्थानीय भाषामा ’महराइ’ भन्ने गरिएको छ।

भूत मेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनहरूले कमला नदी र गंगासागरको शुद्ध पानी आ–आफ्नो घर लैजाने गर्छन्। मूल धामीले मन्त्र सिद्धि गरिदिएपछि धामी बन्ने प्रक्रिया पूरा हुन्छ। तन्त्र शास्त्रका अनुसार तन्त्र सिद्धिको लागि यस दिन पूर्णाहुति दिने चलन छ। मिथिलामा वर्षैदेखि तन्त्र विधामा सर्वसाधारणको विश्वास रहँदै आएको छ।

स्नानको समयमा मूल धामीहरूले लोक भाकामा गीत समेत गाउने गर्छन्। जसलाई स्थानीय भाषामा ’महराई’ भनिन्छ। आफ्नो गाउँमा धामीहरूलाई डोर्‍याएर कमलामा स्नान गर्न ल्याएका सिराहाका धामी रामप्रसाद यादव शरीरमा देवता चढ्नेहरूलाई यहाँ ल्याउने गरिएको बताउँछन्।

मधेसमा मन्त्र सिकाउने धामीलाई ’भगता’ भन्ने गरिन्छ। पवित्र नदीमा प्रथम स्नान गर्ने धामी झाँक्रीसँग आशिष् थाप्ने श्रद्धालुहरूको सङ्ख्या पनि उल्लेखनीय रहने गरेका छन्। देवता खेल्दै आएका महिला पुरुषहरू कमला नदीमा स्नान गरी घर फर्किन्छन्। विशेष गरी ग्रामीण मधेसमा अझै पनि टुनामुनामा विश्वास गर्ने महिला पुरुषहरूको सङ्ख्या ठुलो रहेको छ।

प्रकाशित: ११ मंसिर २०८० ०५:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App