समाज

पाँचौं आदिवासी जनजाति महोत्सव हुँदै

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्को आयोजनामा यही पुस २२ देखि पाँचौं आदिवासी जनजाति महोत्सव हुने भएको छ। व्यास नगरपालिका-३ वीपी वनबाटिकामा परिषद्ले माघे सक्रान्तिको अवसर पारेर महोत्सव आयोजना गर्न लागेको हो।

परिषद्का अध्यक्ष सुजित हिराचनले जिल्लाको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटन क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको बताए। अमूल्य भाषा, संस्कृतिको संरक्षण र पर्यटन प्रवर्द्धनका लागि महोत्सव आयोजना गरिएको हिराचनले बताए। उनका अनुसार महोत्सवको आवश्यक तयारी सुरु भइसकेको छ।

पैसठ्ठी प्रतिशत आदिवासी बसोबास गर्ने तनहुँमा आदिवासी महोत्सवको सुरुआत आदिवासी महासंघले नै गरेको थियो। विसं २०६५ मा पहिलो आदिवासी महोत्सव आयोजना गरिएको थियो। ‘तनहुँमा ६५ प्रतिशत आदिवासी जनजाति बसोबास गर्छन्, परिषद्का निवर्तमान अध्यक्ष वसुन्धरा घर्तीले भने, ‘जनजाति बाहुल्य क्षेत्र भएकाले सांस्कृतिक प्रवर्द्धन गरी पर्यटन व्यवसायको विकास गर्न महोत्सव अवधिभर विविध संस्कृति झल्किने सांस्कृतिक प्रदर्शन गरिनेछ।’

महोत्सवमा आदिवासी जनजातिका विशेष प्रस्तुति,सांस्कृतिक प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, कौराहा तथा लोकदोहोरी प्रतियोगिता, रमाइलो मेला, राउटे समुदायको प्रस्तुति, सांस्कृतिक नमूना ग्राम भ्रमण, धार्मिक एवं ऐतिहासिकस्थलको प्रवर्द्धन, शैक्षिक तथा विज्ञान प्रदर्शनी, कृषि प्रदर्शनी, हस्तकला प्रदर्शनी, जलविहार मुख्य आकर्षणको रुपमा रहेको आयोजकले जनाएको छ। रासस

प्रकाशित: ११ पुस २०७९ ०५:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App