राजनीति

‘राष्ट्रपति प्रधानमन्त्रीको कारिन्दाजस्तो देखिइन्, महाभियोग लगाएर हटाऔं’

जितजंग बस्नेत

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले ‘संविधानको भावनाविपरीत’ संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याउने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली दुवैलाई पदबाट हटाउनुपर्ने आवाज उठाएको छ।  

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले विज्ञप्ति जारी गरी राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्तावबाट हटाउनुपर्ने माग गरेकामे हो।  

विज्ञप्तिमा भनिएको छ- ‘राष्ट्रपतिज्यूको भूमिका सबै नागरिकको अभिभावक हुनुपर्नेमा प्रधानमन्त्रीको कारिन्दा र संविधानको भक्षकजस्तो देखिन आएको हुँदा राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्तावबाट पदबाट हटाई मुलुकलाई संकटबाट मुक्त गर्नका लागि नेपाल तरुण दल केन्द्रीय समिति जोडदार माग गर्दछ।’

लामो समयदेखि संसदलाई बन्धक बनाएर र उपसभामुख पद खाली राखेर प्रधानमन्त्री ओलीले स्वेच्छाचारी ढंगले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको आरोप लगाउँदै तरुण दलले यो अत्यन्तै अलोकतान्त्रिक, संविधानको मर्म र भावनाविपरीत भएको दाबी गरेको छ।  

अध्यादेश तुरुन्त फिर्ता लिन र यसका आधारमा कुनै निर्णय नगर्न पनि दलले विज्ञप्तिमार्फत आग्रह गरेको छ।  

कांग्रेसले सर्वसत्तावादविरुद्ध सुरु गरेको सडक संघर्ष अझै सशक्त हुने दलले चेतावनी दिएको छ। 

प्रकाशित: १ पुस २०७७ ०७:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App