राजनीति

राष्ट्रियसभा शून्य समयः सीमामा काँडेतार वा पर्खाल लगाउन माग

राष्ट्रिय सभा बैठक। फाइल तस्बिर

राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्ने सांसदहरुले नेपाल भारतसीमा क्षेत्रमा काँडेतार लगाउनुपर्ने माग गरेका छन्। सीमा क्षेत्रमा रहेका नागरिकहरुलाई भारतीय गतिविधिहरुले आक्रान्त बनाएको उल्लेख गर्दै सांसदहरुले काँडेतार वा पर्खाल लगाउन माग गरेका हुन्।  

सांसद इन्दु कडरियाले सीमा क्षेत्रमा सरकारले काँडेतार लगाउन तयार भए एक वर्षको सेवा सुविधा दिन तयार रहेको बताइन्। अहिले लिपुलेक क्षेत्रमा भारतले सडक निर्माण गरेको विषयले तराईका सीमाक्षेत्रमा बस्न बासिन्दालाई आक्रान्त बनाएको उनले बताइन्। ‘कुन दिन हाम्रो आगनमा किला गाडेर यो भारतको हो र त भारतको नागरिक हो भन्ने अवस्था नआउनला भन्न सकिन्न्। त्यसैले सरकारले पूर्वदेखि पश्चिमसम्म सीमा निर्धाण गरेर काँडेतार र पर्खाल लगाउनुपर्छ। सरकार यसका लागि तयार हुन्छ भने म आफ्नो एक वर्षको तलब सुविधा दिन तयार छु’’, उनले भनिन्।

सांसद अनिता देवकोटाले कालापानी क्षेत्रमा भारतले सडक निर्माण गरेको विषयमा प्रधानमन्त्रीले आफुलाई कसैले जानकारी नदिएको भनेर आपत्तिजनक अभिव्यक्ति दिएको बताइन्। भारतले नेपाली भूमिमा सडक निर्माण गरेको विषयमा सरकारको स्पष्ट धारणा सदनमा जानकारी गराउन उनले माग गरिन्।  

सांसद उदया शर्मा पौडेलले नेपाली भूमि अतिक्रमण गरी भारतले पक्की सडक बनाएकोप्रति घोर आपत्ति जनाइन्। सीमा क्षेत्रमा काँडेतार लगाउन यहि आर्थिक वर्षबाट बजेटको व्यवस्था गर्न आग्रह गर्दै भारत सरकारसँग वार्ताका लागि उचित पहल गर्न सरकारसँग माग गरिन्।

सांसद कोमल वलीले कोरोना संक्रमणको दर ह्वात्तै बढिरहेकाले सीमा क्षेत्रमा रहेका नागरिकहरुको व्यवस्थापनमा ध्यान दिन आग्रह गरिन्। लुकिछिपी नेपाल आउनेको संख्या बढेसँगै संक्रमितको दरपनि बढेको उल्लेख गर्दै उनले सरकारले उचित प्रवन्ध मिलाएर सीमा क्षेत्रमा रहेका नागरिकलाई स्वदेश ल्याउनुपर्ने बताइन्।  

संक्रमण देखिएको समुदायमा सिल गर्नुपर्ने र त्यहाँ आवश्यक स्वास्थ खाद्यान्नका कुराहरुको प्रवन्ध मिलाउन स्थानीय तहहरुलाई निर्देशन दिन उनले सरकारसँग आग्रह गरिन्। सांसद तारादेवी भट्टले सीमा क्षेत्रमा रहेका नागरिकहरु दुबै देशले उचित व्यवस्थापन गर्ने सहमति भएपनि भारततर्फ विना कुनै सूचना दशगजा क्षेत्रमा नेपाल नागरिक अलपत्र रहेकोतर्फ सरकारको ध्यानाकर्षण गराइन्। खाडीमा रहेका नेपालीहको उद्धार गरी स्वदेश फर्काउन पनि उनले आग्रह गरिन्।

प्रकाशित: ३१ वैशाख २०७७ ०६:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App