राजनीति

विदेश भ्रमणको तयारीमा सभामुख

विधेयक अधिवेशनको रुपमा रहेको संसद्को हिउँदे अधिवेशन चलिरहेको बेला सभामुखले विदेश भ्रमणमा निस्कने तयारी गरेका छन्। संसदीय मूल्य र मान्यताबमोजिम संसद् अधिवेशन चलिरहेका बेला सभामुखले विशेष परिस्थितिबाहेक अन्य कार्यका लागि संसद् अधिवेशन छाड्न नमिल्ने मान्यता छ।

गत वर्ष पनि संसद् अधिवेशन चलिहरेका बेला उपसभामुखलाई जिम्मा नै नदिई १० दिनसम्म बैठक स्थगित गरेर सभामुख विदेश भ्रमणमा लागेकाले आलोचना भएको थियो। गत वर्ष चैत ८ देखि १८ गतेसम्म १० दिन संसद् स्थगित भएको थियो। अहिले पनि चैत २२ देखि वैशाख २ गतेसम्म १० दिन संसद् बैठक स्थगित गरेर सभामुख देवराज घिमिरे विदेश भ्रमणमा जाने तयारीमा छन्।

अन्तर व्यवस्थापिका संघ (आइपियु) को १५०औं महासभामा सहभागी हुन उनीसहित सांसदको टोली उज्बेकिस्तानको राजधानी तास्कन्दतर्फ जाँदै छ। पूर्वसांसद तथा कानुनविद् राधेश्याम अधिकारीले सभामुखले पहिलो महत्त्व संसद्को कामलाई दिनुपर्ने बताए। उनले भने, ‘पहिलो काम संसद्लाई महत्त्व दिनुपर्दछ तर संसद्को काममा बाधा पर्दैन भने मात्र विदेश भ्रमणमा जान उचित हुन्छ।

सभामुख जानैपर्ने भए उपसभामुखलाई जिम्मा लगाउन सकिने उनको सुझाव छ। सभामुखले चैत १५ गतेसम्मको प्रतिनिधिसभाको बैठकको कार्य तालिकाको टुङ्गो लगाउन शनिवार कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। उपसभामुखलाई बैठक चलाउने जिम्मा दिने विषयमा पनि छलफल हुने काँग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए।

प्रतिनिधिसभा नियमावलीमा सभामुखले लिखित अनुमति दिएमा वा सभामुख नभएमा उपसभामुखले बैठक चलाउन सक्ने व्यवस्था छ।  प्रतिपक्षले बैठकलाई निरन्तरता राख्नुपर्ने अडान नलिएमा चैत दोस्रो या तेस्रो सातापछि वैशाखको पहिलो सातासम्म स्थगित गर्ने तयारी छ।

परामर्श समितिको बैठक पछि संसद् सचिवालयले चैत १५ गतेसम्मको कार्य तालिका सार्वजनिक गर्दै छ। चैत २२ गते सभामुख बाहिर जाने भएकाले त्यसपछि मसान्तसम्मको कार्य तालिका सार्वजनिक नगर्ने नीति लिइएको छ।

प्रकाशित: २ चैत्र २०८१ ०७:५७ शनिबार

# Nepali Politics # Nagarik