राजनीति

कुलमानको पक्षमा उभिए विपक्षी दलहरू, सभामुखको रूलिङ

प्रतिनिधि सभाको बुधबारको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सहित विपक्षी दलका सांसदहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि पटक-पटक स्पष्टीकरण सोधिएको र कार्यसम्पादन मूल्याङ्कनमा शून्य नम्बर दिइएकोबारे सरकारसँग जबाफ मागेका छन्।

बैठक सुरु भए लगत्तै माओवादी सांसद स्थानबाट उठेर बैठक अवरोध गरेका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएका थिए। त्यसपछि उनले कुलमानको स्पष्टीकरण र शून्य अंकबारे प्रश्न गरे ।

‘कार्यकारी निर्देशक कुलमान घिसिङलाई निरन्तर स्पष्टीकरण सोध्ने कुरा र उहाँको मूल्यांकनमा शून्य अंक दिने कुरा सुनिरहेका छौँ,’ उनले भने, ‘सरकार जसले एउटा राम्रोसँग काम गरिरहेको छ। जसले विद्युत् प्राधिकरणले राम्रो नाफा गरिरहेको छ त्यसलाई शून्य अंक दिएको छ। सरकारका मन्त्रालयको मूल्यांकन नहेर्ने ठिक ढंगले काम गरिरहेकोमा शून्य अंक दिने कुरा के हो ?’

उनले सभामुखसँग सरकारको जवाफ माग गर्न रुलिङको पनि माग गरे।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले  सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट नहटाउन सरकारलाई चेतावनी दिए।

सांसद शाहीले कार्यकारी निर्देशक घिसिङलाई हटाए सरकारविरुद्ध सकड र सदनबाट विरोध गर्ने बताए। उनले सरकारले कुलमानलाई हटएर मुलुकलाई अन्धकारतिर धकेलिरहेको बताए।

उनले भने, ‘कुलमान घिसिङलाई हटाउने जुन प्रपञ्च गरिँदै छ, मन्त्रीपरिषद्को निर्णय हुँदैछ भन्ने सुन्नमा आएको छ । यदि कुलमान घिसिङलाई हटाइयो भने नेपाललाई अन्धकारतिर धकेलेको भनेर सडक र सदन दुवै ठाउँबाट आवाज उठ्छ ।’

उनले दशरथ रंगशाला केपी ओली कपको समापन समारोहमा दर्शक कुट्ने आयोजकलाई कारबाही गर्न समेत सरकारको ध्यानाकर्षण गराए।  प्रधानमन्त्रीको आलोचना गर्दैमा मान्छे कुट्न नपाइने उनको भनाइ छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाए हजारौँ कुलमान ल्याउने चेतावनी दिए।

उनले भने,'कम्पनीलाई फाइदामा पुर्‍याउने कुलमान घिसिङ जस्तो मान्छेलाई हामी शून्यमा मूल्याङ्कन गर्छौं। उनलाई विभिन्न बाहानमा आफ्नो कार्यकर्ता भर्ती गर्न पाएनौँ भनेर निष्कासनको बहाना गरिरहेका छौँ। हामी खबरदार भन्छौँ। एउटा कुलमानलाई लखेट्यौ भने हजारौँ कुलमा ल्याउँछौँ।'

विपक्षी दलहरूको आवाज उठाएपछि सभामुख देवराज घिमिरेले कुलमानबारे सदनलाई जानकारी गराउन रुलिङ गरे।

प्रकाशित: २१ फाल्गुन २०८१ १४:३९ बुधबार

#Kulman_Ghising #Parliment