राजनीति

सर्वोच्च अदालतको न्यायाधीश सिफारिसमा आर्थिक चलखेल भयोः बार अध्यक्ष घिमिरे

फाइल तस्बिर

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले सर्वोच्च अदालतको न्यायाधीश सिफारिसका लागि आर्थिक चलखेल भएको आरोप लगाएका छन् ।  

शुक्रबार न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा दुई जनालाई सिफारिस गरेको केही घण्टापछि काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष घिमिरेले सो आरोप लगाएका हुन् ।  

काठमाडौँ जिल्ला अदालत बार एसोसिएसनको कार्यक्रममा अध्यक्ष घिमिरेले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आर्थिक लेनदेनको आधारमा सर्वोच्च अदालतमा दुई जना न्यायाधीश नियुक्ति गरेको आरोप लगाए । केही दिनपछि अवकासमा जान लागेका प्रधानन्यायाधीश श्रेष्ठले आफूले लिएको हिसाबकिताब मिलानका लागि न्यायाधीश नियुक्ति सिफारिस गरेको उनको आरोप थियो ।  

न्यायाधीश नियुक्ति गर्ने गैरसंवैधानिक र गैरन्यायिक काममा साक्षी नबस्न सरकार र संसद्लाई आग्रह गर्दै उनले आफू अध्यक्ष रहेसम्म नेपाल बारले गैरसंवैधानिक र गैरन्यायिक कुनैपनि कदमप्रति सम्झौता नगर्ने बताए ।  

न्याय परिषद्ले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति गर्ने काम गैरसंवैधानिक र गैरकानुनी हुने भन्दै नेपाल बारले त्यसको विरोध गर्दै आएको थियो ।

प्रकाशित: ११ आश्विन २०८१ १८:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App