राजनीति

कांग्रेसमा १५औं महाधिवेशनको कार्यतालिका खोजी

नेपाली कांग्रेसका नेताहरूले पार्टीको आगामी महाधिवेशनका विषयमा चासो र चिन्ता व्यक्त गरेका छन्। बुधबारदेखि सुरु भएको केन्द्रीय समितिको आइतबारको बैठकमा बोल्दै नेताहरूले पार्टीको १५औं महाधिवेशनको सुनिश्चितता र कार्यतालिका माग गरेका हुन्। १४औं महाधिवेशन भएको ३० महिना बित्न लाग्दा विधानअनुसार सम्पादन गर्नुपर्ने अधिकांश काम कांग्रेसले अहिलेसम्म सम्पादन गरेको छैन।

महाधिवेशन भएको ६ महिनाभित्र पार्टीका सबै निकायलाई पूर्णता दिनुपर्ने विधानको व्यवस्था छ, तर कांग्रेसले अहिलेसम्म केन्द्रीय समितिलाई नै पूर्णता दिएको छैन। केन्द्रीय समितिको पछिल्लो बैठक सुरु हुनु एक दिनअघि मात्र ३७ विभागका प्रमुखहरू तोकिएका छन्, तर त्यसले कहिले पूर्णता पाउँछ भन्ने कुनै निश्चित छैन। १५औं महाधिवेशनको चासो र चर्चा सुरु हुँदा अहिलेसम्म कांग्रेसले केन्द्रीय कोषाध्यक्ष मनोनयन गर्न सकेको छैन । त्यसमा पार्टीको संस्थापन पक्ष र इतर दुवैले चासो दिएका छैनन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबारको बैठकमा बोल्दै नेता शेखर कोइरालासहितका केही नेताहरूले १५औं महाधिवेशन समयमै हुनुपर्नेमा जोड दिएका छन्। नेता कोइरालाले आगामी महाधिवेशनको कार्यतालिकासहित बैठकमा दशबुँदे धारणा राखेका हुन् । कोइरालाले पार्टीमा समयमा महाधिवेशन नहुने गरेको तर्फ नेतृत्वको ध्यानाकर्षण गराउँदै विधानको व्यवस्थाअनुसार चार वर्षभित्रै महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन्।

विधानको अतिरिक्त सुविधा लिएर कार्यकाल लम्ब्याउनेतर्फ नलाग्न नेतृत्वलाई सचेत गराउँदै कोइरालाले बैठकमा भने, ‘कांग्रेसको १५औं महाधिवेशन लम्ब्याउने कुनै प्रपञ्च नगरौं। विधान र नियमावली संशोधनका लगि अविलम्ब समिति बनाऔं। २०८२ मंसिरमा १५औं महाधिवेशन गर्ने सुनिश्चितता यही केन्द्रीय समिति बैठकले गरोस्।’

कांग्रेस विधानले कुनै पनि तहको कार्यकाल चार वर्ष हुने उल्लेख गरेको छ, तर विधानले थप एक वर्ष कार्यकाल बढाउन सकिने सुविधालाई उपयोग गर्दै थप एक वर्ष समय बढाउँदै आएको छ। त्यति मात्र होइन, संवैधानिक सुविधालाई समेत प्रयोग गर्दै कांग्रेसले यसअघिका दुईवटा महाधिवेशन साढे पाँच वर्षमा गरेको थियो।

१४औं महाधिवेशन सकिएलगत्तै कांग्रेसमा १५औं महाधिवेशनको चर्चा नेतृत्व प्रतिस्पर्धाका लागि नेताहरू सक्रिय हुँदै आएका छन्, तर अघिल्लो महाधिवेशनअघि टुंगो लगाउन बाँकी रहेका कतिपय जिल्लाका क्रियाशील सदस्यता विवाद भने अहिलेसम्म समाधान भएको छैन। त्यसतर्फ नेताहरूले चासो दिएका छैनन्। केन्द्रीय समिति बैठकमा महामन्त्रीहरूले नयाँ क्रियाशील सदस्यता वितरणको प्रस्ताव भने ल्याएका छन्।

कुनै पनि बहानामा महाधिवेशन सार्ने काम भयो भने कांग्रेस र लोकतन्त्र दुवैलाई दुर्घटना हुने तर्क गर्दै कोइरालाले बैठकमा भने, ‘म क्रियाशील सदस्यता वितरण र महाधिवेशनका लागि जिम्मेवारी पाएका साथीहरूलाई पनि समयबद्ध कार्यतालिका बनाएर र समयमा पार्टी महाधिवेशन सम्पन्न गर्ने तयारीमा जुटौं भन्छु।’

जवाफमा सभापति शेरबहादुर देउवाले १५औं महाधिवेशन समयमै हुने बताएका छन्। सभापति देउवाले भने समयमै महाधिवेशन हुन्छ भनेको २०८२ मंसिरमा हो कि एक वर्ष थप गरेर २०८३ मा हुने भन्ने स्पष्ट नपारेको एक सदस्यले जानकारी दिए।

बैठकमा कोइरालाले अहिले राजनीतिमा लोकरिझ्याइँ (पपुलिज्म) हाबी भएको धारणा राख्दै कांग्रेस पनि त्यसबाट अछुतो नभएको तर्क गरे। पार्टीको आफ्नै मौलिकता, आदर्श र सिद्धान्त छ, तर अहिले यसलाई बिर्सेर सामाजिक सञ्जाल र लोकरिझाइँले पार्टीलाई डो¥याउन खोजेको जस्तो देखिन्छ भन्दै उनले भने, ‘ यसले पार्टी कहाँ पुग्छ बेलैमा सोचौं।’

जनचाहनाअनुसार आर्थिक विकास, सुशासनका साथै राजनीतिक स्थिरताका लागि संविधान संशोधनसहितका काम वर्तमान गठबन्धन सरकारले गर्नुपर्नेमा कोइरालाले जोड दिएका छन्। बंगलादेशको घटनाले सबैलाई उद्वेलित गरेको धारणा राख्दै उनले भने, ‘नेपालमा बंगलादेशको जस्तो घटना दोहोरिन नदिन राजनीतिका मूल्य पद्धति र नैतिक पक्ष सशक्त हुनुपर्छ भन्ने पाठ हामीलाई सिकाएको छ।’

बैठकमा केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले चर्चित र नीतिगत भ्रष्टाचार काण्डहरूको छानबिन गर्न शक्तिसम्पन्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्नुपर्ने धारणा राखे। पार्टी दुर्बल हुँदा लोकतन्त्र कमजोर हुने जनाउँदै केसीले निश्चित विधि, पद्धति र प्रक्रियाभित्र रहेर गुट–उपगुट, गिरोह–उपगिरोहभन्दा माथि उठ्न सभापति शेरबहादुर देउवालाई आग्रह गरे।

केन्द्रीय सदस्य गोविन्दराज पोखरेलले वर्तमान सरकारले जनतामा आशा जगाउने गरी काम गर्नुपर्ने धारणा राखे। जनताका भावनाअनुसार काम गर्न नसके नेपालले पनि श्रीलंका र बंगलादेशको नियति भोग्नुपर्ने अवस्था आउन सक्ने बताउँदै उनले भने, ‘बैंकसँग खुद ऋण दिन सकिने रकम साढे चार खर्बभन्दा बढी छ, तर बढ्दो कालोसूची र न्यून लगानी वातावरणले बैंकिङ क्षेत्रबाट कर्जा प्रवाह हुन सकेको छैन।’

अर्का केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले कांग्रेस र एमालेको वर्तमान सरकारले आशा सञ्चार गर्न नसके जनतामा व्याप्त निराशा वितृष्णामा परिणत हुन सक्ने तर्क गरे। बैठकमा बोल्ने अधिकांश सदस्यहरूले कांग्रेस र एमालेको गठबन्धनले देशलाई आर्थिक विकास र राजनीतिक निकास दिनुपर्नेमा जोड दिएका छन्।

केन्द्रीय समितिको बैठकमा राखिएको एघारबुँदे अजेन्डामाथि आइतबार नारायण खड्का, आनन्दप्रसाद ढुंगाना, दीपक गिरी, सीता गुरुङ, मिनाक्षी झा, श्यामकुमार घिमिरे, कल्याणकुमार गुरुङ, चिनकाजी श्रेष्ठ, लक्ष्मी परियार, कर्णबहादुर बुढा, टेकप्रसाद गुरुङ, सञ्जयकुमार गौतम, आङ्गेलु शेर्पा, दिनेशकुमार यादव, उदयशमशेर राणा, राजीव ढुंगाना, दिलमान पाख्रिन, राजीवविक्रम शाह, डा. चन्द्रमोहन यादव, प्रतिमा गौतम, कुन्दनराज काफ्ले, जानकी सिंह, सुशीला मिश्र भट्ट, नागिना यादव, भीम पराजुली, सुशीला थिङ, सीताकुमारी राना, सुशीला ढकाल (आचार्य), विद्यादेवी तिमिल्सिना र शान्ति परियार विकले आआफ्नो धारणा राखेका छन् । बैठक सोमबार बिहान ११ बजे बस्ने छ।

प्रकाशित: २८ श्रावण २०८१ ०७:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App