विचार

मेला–महोत्सवको बेला

पछिल्लो समय हिउँद मेला–महोत्सवको याम बन्दै आएको छ। यो बेलामा देशैभर विभिन्न स्थानमा विभिन्न औद्योगिक व्यापार मेला, महोत्सव तथा प्रदर्शनीहरू आयोजना हुने गर्दछन्। विशेषगरी जिल्लास्थित उद्योग वाणिज्य संघ, पर्यटनसम्बद्ध निकाय तथा अन्य व्यापारिक तथा सामाजिक र सांस्कृतिक सङ्घसंस्थाहरूको समन्वयमा यस्ता मेला, महोत्सव तथा प्रदर्शनीहरूको आयोजना हुने गरेका छन्।  

वस्तुको बजारीकरण र व्यापार प्रवर्द्धन गर्दै स्थानीय र राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउने तथा स्थानीय संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिने यस्ता मेला, महोत्सव तथा प्रदर्शनीहरूले मुलुकको आर्थिक तथा सांस्कृतिक पक्षमा विशेष महत्व राखेको पाइन्छ। यसै तथ्यलाई मनन गर्दै मेला, महोत्सव तथा प्रदर्शनीहरूलाई व्यवस्थितरूपमा सञ्चालन गरी मुलुकको आर्थिक समृद्धिमा टेवा पुर्‍याउने उद्देश्यले वाग्मती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ‘मेला, महोत्सव, प्रदर्शनी सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८०’ जारी गरेको छ।  

औद्योगिक विकासको माध्यमले उद्यमीहरूलाई उद्यमशील कार्यमा उत्प्रेरित गर्न, औद्योगिक व्यवसायको प्रवर्द्धन, रोजगारी सिर्जना, सीपमूलक कार्यमा उत्साह, परम्परागत हस्तकलाको दिगो विकासको कार्यलाई प्रोत्साहन गर्न, औद्योगिक उत्पादनलगायत हस्तकलाका वस्तुहरूलाई मेला, महोत्सव तथा प्रदर्शनीका माध्यमले प्रचारप्रसार गरी औद्योगिक उत्पादनलाई बजारीकरणका लागि सहयोग गरी उत्पादन वृद्धिलाई प्रेरित गर्ने उद्देश्यले औद्योगिक मेला, महोत्सव, प्रदर्शनीलाई व्यवस्थित गर्न आवश्यक भएकाले यस्तो कार्यविधि तर्जुमा गरी जारी गरिएको कार्यविधिको प्रस्तावनामा उल्लेख गरिएको छ। अन्य स्थानीय सरकारले पनि मेला, महोत्सव तथा प्रदर्शनीसम्बन्धी कार्यविधि तर्जुमा गरी जारी गरेका छन्। यस्तो कार्यविधिले मेला, महोत्सव तथा प्रदर्शनीहरूलाई व्यवस्थितरूपमा सञ्चालन गर्न सघाउने विश्वास गरिएको छ।

आर्थिक गतिविधिलाई गति प्रदान गर्दै समग्र अर्थतन्त्रलाई सुदृढ बनाउन तथा मुलुकको पहिचान बोकेको स्थानीय तथा राष्ट्रिय कला, सम्पदा तथा संस्कृतिको संरक्षण तथा संवद्र्धनमा मेला, महोत्सव तथा प्रदर्शनीहरूले विशेष टेवा पुर्‍याउने गरेका छन्। स्थानीय उत्पादनलाई प्रवर्द्धन, स्थानीय कला र कलाकारलाई प्रोत्साहन, स्थानीयस्तरमा रोजगारी सिर्जनालाई हौसला, स्थानीय कला, साहित्य, संगीत, संस्कृति र सम्पदाको संरक्षण र संवद्र्धन तथा आन्तरिक तथा बाह्य पर्यटनलाई प्रवर्द्धन गर्नमा स्थानीय र राष्ट्रियस्तरमा हुने मेला, महोत्सव तथा प्रदर्शनीहरूको उल्लेख्य भूमिका रहँदै आएको छ।  

विगत वर्षहरूमा झैँ यस वर्ष पनि मेला, महोत्सव र प्रदर्शनीको सिलसिला सुरु भइसकेको छ। यसै क्रममा सांस्कृतिक नगरी भक्तपुरमा ‘भक्तपुर महोत्सव’ हालै सम्पन्न भएको छ। मङ्सिर २८ गतेदेखि पुस २ गतेसम्म आयोजित सो महोत्सव करिब आठ लाख दर्शकले अवलोकन गरेको सम्बन्धित निकायले बताएको छ। स्थानीय कला, संस्कृति, सम्पदा र मौलिक उत्पादन तथा जीवनशैलीबारे स्वदेशी र विदेशीलाई जानकारी गराउँदै यो पुरानो सहरलाई पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्न महोत्सव सहयोगी भएको विश्वास आयोजकहरूले गरेका छन्।  

यसैगरी ‘कृषि, पर्यटन, उद्योग र व्यापार : समृद्ध नगरको बलियो आधार’, नारासहित पुस ५ गतेदेखि १७ गतेसम्म प्रथम भित्रिकोट प्यूठान महोत्सव भइरहेको छ भने आन्तरिक र बाह्य पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यसहित पुस १३ गतेदेखि १७ गतेसम्म २६औँ पोखरा सडक महोत्सव हुँदैछ। यसैगरी मूलतः पर्यटन प्रवर्द्धनको उद्देश्यले पुस १० गतेदेखि १४ गतेसम्म ‘हात्ती तथा चितवन पर्यटन महोत्सव’ पनि हुँदैछ भने ‘पर्यटनको लागि मध्यपुर महोत्सव’ नारासहित पुस १२ गतेदेखि १४ गतेसम्म ‘मध्यपुर महोत्सव’ पनि हुँदैछ।

मेला, महोत्सव र प्रदर्शनीहरूले मनोरञ्जन मात्रै दिँदैनन्, केही जान्ने, बुझ्ने र सिक्ने अवसर पनि दिन्छन्। केही हदसम्म आफू र आफ्नो पुर्खालाई चिन्ने अवसर पनि प्राप्त हुन्छ। हालै सम्पन्न भक्तपुर महोत्सवमा लोप भइसकेका र लोपको संघारमा पुगेका पुराना कला, संस्कृति र जीवनशैलीका धेरैवटा पाटाहरूको प्रदर्शनी गरिएको थियो। आधुनिक विकासको प्रभावस्वरूप पुराना पुस्ताले बिर्सिसकेका र नयाँ पुस्ताले देख्न पनि नपाएका कतिपय मौलिक वस्तुहरूको प्रदर्शनीबाट नयाँ पुस्ताले ती वस्तुसँग परिचित हुने अवसर मात्रै पाएका छैनन्, त्यस्ता वस्तुको संरक्षण गर्ने प्रेरणा पनि पाएका छन्।  

मौलिक परम्परालाई आयातित संस्कृतिले खर्लप्पै निलिसकेको र आधुनिक परिकारले मौलिक परिकारलाई विस्थापन गर्दै गरेको अवस्थामा स्थानीय जाति र समुदायविशेषमा लोकप्रिय खानाका विविध परिकारहरूको स्वाद चाख्ने अवसर मात्रै होइन, तिनको संरक्षण र संवर्द्धनका लागि हौसला बढाउने काम पनि मेला, महोत्सव तथा प्रदर्शनीले गर्दछन्। मौलिकता भरिएको संस्कृति र जीवनशैलीलाई संरक्षण र संवर्द्धन गर्दै स्थानीय उत्पादन, स्थानीय रोजगारी र स्थानीय अर्थतन्त्रको सुदृढतामा यस्ता मेला तथा महोत्सवले निकै महत्वपूर्ण टेवा पुर्‍याएको देखिन्छ।

मेला महोत्सवको बेलामा सांस्कृतिक कार्यक्रमको माध्यमबाट स्थानीय तथा राष्ट्रिय कलाकारहरूले पनि आफ्नो प्रतिभा प्रदर्शनका साथै आयआर्जन पनि गर्ने अवसर प्राप्त गरेका हुन्छन्। आफ्नो प्रस्तुतिबाट आमदर्शकलाई मनोरञ्जन प्रदान गरी संस्कृति संरक्षण र संवर्द्धनमा टेवा पुर्‍याउनुको साथै व्यक्तिगतरूपमा आर्थिक लाभ प्राप्त गर्ने अवसर पनि स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरूले प्राप्त गर्ने हुँदा यस्ता मेला, महोत्सव तथा प्रदर्शनीहरूलाई आर्थिक तथा सांस्कृतिक दृष्टिकोणले निकै महत्वका साथ हेर्ने गरिएको छ।

प्रकाशित: ७ पुस २०८१ १०:०० आइतबार

#Opinion #NagarikDaily #NagarikNews