विचार

इन्टरनेट खोजमा नयाँ लडाइँ

विगत २५ वर्षयता इन्टरनेटको सबै भन्दा अगाडिको ढोका सर्च इन्जिन रहँदै आएका छन्। वेबसाइटमा सर्च इन्जिनका रूपमा सबै भन्दा पहिलो कम्पनी अल्टाभिस्टा थियो तर त्यसलाई गुगलले सम्पूर्ण हिसाबले प्रतिस्थापन गरेर यो विधामा वर्चस्व कायम गरिरहेको छ। गुगलको सर्च इन्जिन हरेक खोजको मुटुमा रहेको छ र यही कारणले यसलाई सञ्चालन गर्ने कम्पनी अल्फाबेट विश्वकै सबैभन्दा महत्त्वपूर्ण कम्पनी बनेको छ। सन् २०२२ मा यो कम्पनीले कुल २८३ अर्ब अमेरिकी डलर आम्दानी गरेको थियो। यसको बजार पुँजीकरण (मार्केट क्यापिट्लाइजेसन) १.३ ट्रिलियन अमेरिकी डलर पुगेको छ। गुगल घरायसी नाम मात्र नभै एउटा क्रिया बनेको छ।

तर सबै वस्तु सर्बकालीन हुँदैनन्। विशेष गरी प्रविधिमा यो झन् बढी लागु हुन्छ। बिजनेस कम्युटिङमा आइबिएमले कुनैबेला आधिपत्य कायम गरेको थियो, त्यसैगरी मोबाइल फोनमा नोकिया अग्रणी थियो। तर यी दुवै कम्पनी प्रविधिगत नवीनतामा पछाडि पर्दा आफ्नो आधिपत्य गुमाउन पुगेका थिए। अहिले आएर टेक फर्महरूले गरिरहेका नवीनताको खोजीका कारण नयाँ अवसर सिर्जना भएका छन् र यो विकासले यो क्षेत्रमा नयाँ दिशा निर्देश गरेको छ। आर्टिफिसियल इन्टलिजेन्स अर्थात कृत्रिम बौद्धिकताबाट सञ्चालित च्याटवट्सले आफूले खोजेको कुरा टाइप गरेपछि सम्बद्ध सूचनाहरू संकलन गरेर संवाद सुरु गर्छ।

यो फिल्डमा सबैभन्दा अगाडि ओपनएआइले विकास गरेको च्याटजिपिटी छ। यो एक स्ट्राटअप कम्पनी हो। सुरु भएको २ महिनामै अर्थात जनवरीको अन्तसम्म विश्वका १० करोड मानिसले यसको प्रयोग गरिसकेका छन्। युबिएस नामक बैंकका अनुसार अत्यन्त छोटो समूहमा सबैभन्दा बढी प्रयोग गरिएको एपको हिसाबमा यसले इतिहास निर्माण गरेको छ।

त्यसो त विभिन्न उत्पादनमा यसअघि नै एआइको प्रयोग भैसकेको थियो तर च्याटजिपिटीले एआइसँग प्रत्यक्ष संवाद गर्ने अवसर दिएका कारण अहिले यो एप चर्चाको केन्द्रमा छ। च्याटजिपिटीले विभिन्न स्टाइलमा निवन्ध लेख्न सक्छ, जटिल अवधारणालाई प्रष्ट्याउन सक्छ, लामा पाठलाई सारांशमा छोट्याउन सक्छ र सामान्य ज्ञानका प्रश्नहरूको उत्तर दिन सक्छ। यसले लेगल र मेडिकल परीक्षासमेत झण्डै उत्तीर्ण गर्न सक्छ। यसले वेबसाइटमा उपलब्ध ज्ञानलाई संश्लेषण गर्न सक्छ। उदाहरणका लागि, छुट्टी मनाउन जान सकिने गन्तव्यलाई सूचीकृत गरेर यात्राको कार्यक्रमलाई सिफारिस गर्न सक्छ। थप जिज्ञासा राखियो भने यसलाई तर्कसहित व्याख्या गरेर सम्पूर्ण विवरण दिन सक्छ। अहिले आममानिसले सर्च इन्जिनमा गर्ने खोजलाई च्याटवट्सले झन राम्रोसँग गर्न सक्छ।

यही पृष्ठभूमिमा धेरै प्रतिस्पर्धी कम्पनीले विभिन्न घोषणा गरेका छन् र यो नयाँ अवसरलाई आत्मसात गर्न चाहेका छन्। फेब्रुअरी ७ मा माइक्रोसफ्टले आफ्ना सर्च इन्जिन बिङले च्याटजिपिटीलाई आत्मसात गर्ने घोषणा गरिसकेको छ। माइक्रोसफ्टका प्रमुख सत्या नाडेलाले यो सुरुवातले गुगललाई चुनौती दिने अपेक्षा गरेका छन्। उता गुगलले आफ्नो सर्च इन्जिनको कम्प्यानियनका रूपमा आफ्नै च्याटवट्सको रूपमा बार्ड सुरु गर्ने घोषणा गरीसकेको छ। गुगलले ओपनएआइका पूर्वकर्मचारीले सञ्चालन गरेको एन्थ्रोपिक नामक कम्पनीले निर्माण गरेको क्याउड नामक च्याटवट्समा ३० करोड अमेरिकी डलर बराबरको सेयर खरिद गरिसकेको छ। गत मार्चमा चीनको गुगल भनेर चिनेर कम्पनी वाइडुले इर्नी नाम गरेको आफ्नै च्याटवट्स सुरु गर्ने घोषणा गरेसँगै यसको सेयर मूल्य आकासिएको थियो।

तर के च्याटबट्सलाईै विश्वास गर्न सकिन्छ? सर्च इन्जिन र आकर्षक विज्ञापन व्यापारमा यसले के असर गर्ला भन्ने प्रश्नहरू ज्वलन्त बनेका छन्। यसैगरी एआइले अन्य फर्म तथा व्यवसायलाई ध्वस्त गरेर आफ्नो वर्चस्व कायम राख्न सफल होला भन्ने प्रश्नको उत्तरमा तीन विषयले निर्धारण गर्नेछ। ती हुन-नैतिक विकल्प, मुद्रीकरण र एकाधिकार अर्थशास्त्र।

च्याटजिपिटीले कतिपय अवस्थामा गलत सूचना प्रवाह गर्न सक्छ। च्याटजिपिटि आफ्ना संवाद यथार्थ भए पनि वा नभए पनि आफ्ना उत्तरमा अधिक आत्मविश्वासी देखिन्छ। सर्च इन्जिनले सर्वसाधारणको जिज्ञासालाई सम्बोधन गर्न अन्य पेजलाई सिफारिस गर्ने गर्छन् भने च्याटवट्सले आफ्नो उत्तरलाई वेदवाक्य (गोस्पल ट्रुथ) मान्छ।

इन्टरनेटलाई स्क्यान गर्ने क्रममा च्याटवट्सले पूर्वाग्रह, पक्षधरता र गलत सूचनासँग लड्नुपर्ने हुन्छ। यस्तो अवस्थामा गलत र आपत्तिजनक उत्तर आउने हुँदा विवाद सिर्जना हुने निर्विवाद छ। यही कारणले आफ्नो च्याटवट्स रिलिज गर्न ढिलाइ गरेको थियो तर माइक्रोसफ्टले त्यसो गरेपछि ऊ बाध्य भएको थियो।

चाटवट्सले केही पेचिला विषयमा सावधानीपूर्वक प्रस्तुत हुनुपर्ने देखिएको छ। कुनै मेडिकल सल्लाह माग्दा च्याटवट्सले सुरुमै डिस्क्लेमरमा भनेको हुन्छ, ‘यसले विशेषकृत मेडिकल अवस्थाको पहिचान गर्न सक्दैन।’ यस्तै कसैले बम कसरी बनाउने भनेर सोधेमा यसले उत्तर दिन इन्कार गर्छ। तर कसैले कुनै बम बनाउने व्यक्तिको बारेमा सोध्दा यसले प्राविधिक विवरणसहित उत्तर दिन सक्छ। टेक्निकल फर्मले कुन विषय संवेदनशील छ वा छैन भन्ने विषयमा झिनो लाइन कोर्न निर्णय गर्नुपर्ने हुन्छ। यसले सेन्सरसिप, निष्पक्षतावाद र सत्यताको प्रकृति जस्ता विषयमा प्रश्न उठ्न सक्छ।

के टेक कम्पनीले यो समग्र प्रक्रियाबाट पैसा कमाउन सक्छ? ओपनएआइले च्याटजिपिटीको प्रिमियम भर्सन लन्च गर्ने तयारी गरेको छ। यसले पिक समयमा पनि प्रतिमहिना २० अमेरिकी डलरमा द्रुत सेवा दिन सक्छ। सर्च इन्जिनमा गुगल र माइक्रोसफ्टले यसअघि नै विज्ञापन राख्ने गरेका छन्। त्यसैले यी कम्पनीले च्याटवट्स संवादको किनारामा विज्ञापन राख्नेछन्। हामीले यात्राका बारेमा जिज्ञासा राख्यौँ भने सम्बद्ध विज्ञापन देखिनेछ। तर यो बिजनेस मोडल दीर्घकालीन नहुन सक्छ किनभने च्याटवट सञ्चालन गर्न प्रोसेसिङ पावर अत्यधिक खर्च हुन्छ। सर्च इन्जिनको भन्दा खर्च बढी लाग्ने हँुदा यसबाट थोरै मात्र नाफा हुन सक्छ।

यसैगरी यो क्षेत्रमा अन्य मोडेल पनि आउन सक्ने देखिएको छ। च्याटवट्सले उपलब्ध गराउने उत्तर बढी प्रभावकारी हुने हुँदा विज्ञापनदातासँग बढी पैसा असुल्न सक्ने हुन सक्छ। यसैगरी प्रत्युत्तरसँग सम्बद्ध लिंकहरू समेत उपलब्ध गराउँदा यो झन प्रभावकारी हुन सक्छ। कुनै कार सिफारिस गर्न च्याटजिपिटीलाई भनियो भने यसले राम्रा ब्रान्डहरू प्रशस्त रहेका र यो तपाईँको आवश्यकता र रुचिमा निर्भर रहने बताउन सक्छ। तर भविष्यमा च्याटवट्सले एउटा मात्र सिफारिस पनि गर्न सक्छ। तर यदि निष्पक्षतमा कुनै सम्झौता भयो भने उपभोक्ताले यसलाई प्रयोग गर्न हिच्किचाउन सक्छन्।

यस्तै प्रतिस्पर्धाको अर्काे पक्ष छ। ओपनएआइले गुगललाई टक्कर दिनु सुखद समाचार हो। तर च्याटवट्स सर्च इन्जिनको प्रतिस्पर्धी हो अथवा सहायक हो भन्ने विषय अझै प्रष्ट भैसकेको छैन।

त्यसैले बेलाबखतमा यसले गर्ने गल्तीको पृष्ठभूमिमा यसलाई सर्च इन्जिनको थप सुविधाका रूपमा अथवा एकल संवाद गर्ने साथीका रूपमा लिने भन्ने प्रश्न ज्वलन्त बनेको छ। तर समयसँगै यसको क्षमता वृद्धि हुने भएकाले सबै सेवाका लागि यो महत्त्वपूर्ण इन्टरफेस हुन सक्छ। एलेक्सा र सिरसी जस्ता भ्वाइस एसिसट्यान्टका रूपमा विकास गरिँदा यसले होटल र रेस्टुरेन्टमा रिजर्भेसन गर्नसमेत सहयोग गर्नेछ। उपलब्ध डिजिटल सेवामा आफूलाई सबैभन्दा अग्लो स्थानमा च्याटवट्सले उभ्याउन सक्दा अन्य प्रतिस्पर्धीलाई भन्दा उपभोक्ताले यसलाई बढी रुचाउन सक्छन्।

भविष्य गुगलिङ गर्दा

हाल सुरु भएको एन्थ्रोपिक र ओपनएआइले विश्वको ध्यान तानेका छन् र गुगल र माइक्रोसफ्टले ठूलो लगानी गरे पनि स-साना फर्मले पनि यसमा लगानी गरेका छन्। यो अवस्थामा तिनले आफनो कम्पनी बिक्री गर्न दबाब बेहोर्नुपर्नेछ। तर विगतमा गुगलले गरेझैँ उच्चतम प्रविधि र बिजनेस मोडेल अख्तियार गर्ने साना फर्मले पनि बाजी मार्न सक्छन्। च्याटवट्सले जटिल प्रश्नहरूको उठान गरे तापनि यसले अनलाइन इन्फर्मेसनलाई उपयोगी र सहज बनाउन सक्छ। जसरी सन् १९९० ताका सर्च इन्जिन सुरु हुँदा सर्च इन्जिनको भूमिका अत्यन्त बढेको थियो त्यसरी नै च्याटवट्सको सुरुवातले नयाँ अवसर सिर्जना गरेको छ। (इकोनोमिस्टबाट)

प्रकाशित: ४ फाल्गुन २०७९ ००:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App