स्वास्थ्य

प्रादेशिक अस्पताल जनकपुरः सिरोहियाको रिस्क नलिने तर, सर्वसाधारणको रिस्क लिन तयार !

प्रादेशिक अस्पतालमा मुटुरोग विशेषज्ञ र क्याथल्याबको सुविधा हुँदाहुँदै कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई अन्तै रेफर गरिएको विषय अहिले बहसको विषय बनेको छ।

शुक्रवार राति नै सिरोहियालाई प्रादेशिक अस्पतालमा ल्याइएको तर, अस्पतालले उनलाई यहाँ सेवा सुविधा नभएको भन्दै अन्तै लैजान रेफर गर्यो। सिरोहियालाई किन रेफर गरियो भन्ने प्रश्नमा अस्पतालका निर्देशक डा.रामनरेश पण्डितले उनलाई विभिन्न स्वास्थ्य समस्या रहेको र अस्पतालको सिटी स्क्यान बिग्रेको तथा एमआरआई सेवा नभएका कारणले अन्तै रेफर गरिएको बताए।

उनले भने, ‘गम्भीर टाउको दुखाई, छाती दुख्ने समस्या र उच्च रक्तचापको गुनासोसहित सिरोहियालाई अस्पताल ल्याइएको थियो। तर, ड्यूटीमा रहेका डाक्टरले थाहा पाउन सकेनन् र यहाँ न्यूरो सम्बन्धी सुविधा पनि नभएका कारण रेफर गरिएको हो। यस्तो केसमा तलमाथि भयो भने अस्पतालको बद्नामी हुन्छ भन्ने पनि भएर ड्यूटी डाक्टरले यो निर्णय गरेको हो।’

अस्पतालमा बिग्रेको सिटी स्क्यान किन समयमै बनेन भन्ने प्रश्नमा निर्देशक डा.पण्डितले भने, ‘बिग्रेको मेसिन बनाउनै करोडभन्दा बढी खर्च लाग्छ। बजेट अभावका कारण तत्कालै बनिहाल्ने अवस्था छैन र एमआरआई केहीदिन पछि सुचारु हुँदैछ।

अस्पतालमा मुटुरोग विशेषज्ञ डा.निश्चल साह छन् भने क्याथल्याबको सुविधा पनि छ। सिरोहियालाई के कारणले रेफर गरिएको हो भन्ने पत्र माग गर्दा अस्पतालका कुनैपनि निकायसँग पत्र नभएको जवाफ आएको छ।

हतपति प्रादेशिक अस्पतालमा भीआईपी र भीभीआईपी उपचारका लागि भर्ना भएको देखिँदैन। एक दुईजना बाहेक हालसम्म प्रादेशिक अस्पतालमा कुनैपनि भीआईपी वा भीभीआईपी उपचारका लागि भर्ना नहुने प्रादेशिक अस्पतालमा सर्वसाधारणको उपचारका लागि त्यहि अस्पतालमा उपलब्ध सेवासुविधा र चिकित्सक प्रयोग हुने गर्छन्। अस्पतालको यो रवैयाले उसको गुणस्तर र क्षमतामाथि एकपटक फेरि प्रश्न उठाएको छ।

सिरोहियाको केसमा रिस्क लिन नसक्ने अस्पतालले सर्वसाधारणको जीवनसँग रिस्क लिन सक्ने अस्पतालका निर्देशकको अभिव्यक्तिले मानव जीवनको मूल्य के हो भन्ने दर्शाउँछ।

कुन अवस्थामा बिरामीलाई रेफर गरिन्छ भन्ने पनि एउटा पक्ष हुन्छ। जहाँ बिरामी आफँैले आफू यस अस्पतालमा उपचार गराउन नचाहेको अवस्था हो भने रेफर गरिन्छ भने अस्पतालमा के कति कारणले उपचार गर्न सकिँदैन भन्नेबारे प्रस्ट खुलाएर रेफर गर्न मिल्छ। तर, सिरोहियालाई गरिएको रेफरमा बिरामी आफैंलेभन्दा पनि अस्पतालले नै उनको उपचार सम्भव नभएको भन्दै रेफर गरिएको अस्पताल निर्देशकको भनाइबाट पुष्टि हुन्छ।

हाल सिरोहिया रहेको काव्या अस्पतालमा न त मुटुरोग विशेषज्ञ छन् न त सिटी स्क्यान न त एमआरआईको सुविधा छ। प्रादेशिक अस्पतालले यसअघि पनि अन्य बिरामीलाई सिटी स्क्यान र एमआरआई गराउनुपर्ने भएमा बाहिरबाट गराएर ल्याउन सल्लाह दिन्छ। तर, सिरोहियाको केसमा अस्पतालले त्यस्तो केही नगरी आफ्नो कमजोरीलाई अपनाउँदै रेफर गरिदिन्छ।

नागकिरता मुद्दामा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया अस्वस्थ भएपछि हाल उनी उपचाररत छन्। गत बुधवारदेखि धनुषा प्रहरीको हिरासतमा रहेका सिरोहिया शुक्रवार अस्वस्थ भएपछि उनलाई मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो। तर, उपचार सम्भव नभएपछि उनलाई जनकपुरकै निजी अस्पतालमा भर्ना गरियो। हाल उनको उपचार काव्या अस्पतालमा भइरहेको र अवस्था स्थिर रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्।

उनको उपचारमा संलग्न काव्या अस्पतालका डा.एस.के. सिंहले हाल सिरोहियाको स्वास्थ्य अवस्था स्थिर रहेको नागरिक न्यूजलाई बताए।

‘सिरोहिया ज्यूमा पहिलादेखि नै विभिन्न स्वास्थ्य समस्या रहेको र उनी विभिन्न रोगका औषधि पनि खाँदै आइरहनु भएको छ। उनको मुटुमा समस्या देखिएपछि यसअघि नै मुम्बईमा एन्जिओग्राफी गराउनुभएको रहेछ,’ उनले भने, ‘क्रिटिकल कन्डिसनमा हुनुहुँदोरहेछ भन्ने थाहा पायौं। उनको परीक्षण रिपोर्टहरू ठिकै छ। तर, आज बिहानसम्म पनि कार्डिएक इन्जाइमको तह भने घटेको छैन। यदि आजपनि घटेन भने उनलाई बाहिर पठाउनुपर्छ। किनकी हामीसँग एन्जोइयोप्लाष्टि लगायतका सुिवधा छैन।’

सिरोहियालाई पहिलेदेखि नै मधुमेह, उच्च रक्तचाप लगायतका समस्या रहेको र उनले काठमाडौंमा मुटुरोग विशेषज्ञ डा.ओममुर्ति अनिलसँग परामर्श रहेको हुँदा हामी फोनमै डा.मुर्तिसँग सम्पर्कमा रहेको डा.सिंहले बताए।

प्रकाशित: १३ जेष्ठ २०८१ १२:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App