शिक्षा

भक्तपुरमा सुरु भयो उत्पादन श्रमसँग जोडिएको शिक्षा

अब विद्यार्थीले भन्ने छैनन् : छ्या माटो !

हाम्रो शिक्षा उत्पादन श्रमसँग नजोडिँदा त्यसले खासै प्रतिफल नदिएको विषय उठिरहेको बेला भक्तपुरमा भने उत्पादन श्रमसँग जोडिएको शिक्षा सुरु भएको छ। भक्तपुरको पुरानो स्कुलको रुपमा रहेको शारदा माध्यमिक विद्यालयले शिक्षाालाई उत्पादन श्रमसँग जोडिने शिक्षाको सुरुवात गरेको हो।

भक्तपुर नगरपालिका वडा नं. २ यालाछेंमा वि.सं.२००९ सालमा स्थापना भएको सो विद्यालयले समयको आवश्यकतालाई मध्यनजर गरी उत्पादन श्रमसँगसँग जोडिएको शिक्षाको सुरुवात गरेको विद्यालयले जनाएको छ।

‘हामीले धेरै पहिलादेखि शिक्षालाई उत्पादन श्रमसँग जोड्नुपर्ने कुरा बताउँदै आइरहेका छौं, तर सकिरहेका थिएनौं, तर यो शैक्षिक सत्रबाट भने हामीले त्यसलाई मूर्त रुप दिनका लागि प्रयास गरेका छौं,’ विद्यालयका प्राचार्य रोशनराज तुइँतुइँले भने।

उनले जीवनोपयोगी शिक्षा र व्यवहारिक ज्ञानलाई उत्पादन श्रम र सीपसँग जोडी विद्यार्थीलाई थप व्यवहारिक बनाउन उर्जा प्रदान गराउनका लागि पनि सो अवधारणाले विद्यालयमा कक्षा सुरु गरिएको बताए। प्राचार्य तुईतुईले भने, ‘हाम्रा विद्यार्थीहरुसँग सर्टिफिकेट त हुने भयो, तर हातमा सीप नहुने भयो, त्यसले गर्दा विद्यार्थी अपूर्णजस्तै हुने भयो, त्यसलाई चिर्नका लागि पनि शिक्षालाई व्यवहारिक बनाउनुपर्छ’, उनले भने, ‘अझ पढेका विद्यार्थीमा कामलाई हेला गर्ने, जागिरलाई मात्र काम ठान्ने प्रवृत्ति देखिएको छ, त्यो कम  गर्ने काम विद्यालय तहदेखि नै गर्नुपर्छ।’

विद्यालयले वाद्यवादन, फूलबारी निर्माण, चित्रकला, जडिबुटी खेती, जैविक खेती, सुकुल बुन्ने कला, विभिन्न हस्तकला, विभिन्न खेल प्रशिक्षण, भाषा प्रशिक्षण, च्याउ खेती, करेसाबारीको कामलाई जीवन उपयोगी शिक्षासँग जोड्नका लागि विषय क्षेत्र बनाएको छ। यतिमात्र नभएर विद्यालयले दैनिक घरायसी काम र ससाना समस्या आफैंले समाधान गर्न सकाउने सीप पनि दिने योजना विद्यालयले बनाएको छ।

‘हाम्रा पढेका विद्यार्थीलाई घरमा बत्ती बिग्रियो भने एउटा चिम फेर्न, स्वीच फेर्न समेत आउँदैन, धाराको पाइप फुट्दा जोड्न आउँदैन, ती घरायसी काम गर्ने सीप पनि हामी यसमा समावेश गर्छौं’, प्राचार्य तुईतुईले भने । त्यसका लागि विद्यालयले छु्टटै ल्याब र विभिन्न खेती गर्नका लागि खेत समेत भाडामा लिएको उनले जानकारी दिए।

विद्यालयले केही समयअघि नै सो योजना बनाए पनि बजेट अभाव हुँदा त्यसलाई कार्यान्वयन गर्न सकेको थिएन। यही शैक्षिक सत्रका लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा विद्यालय समावेश भएपछि सो योजनालाई अघि बढाउन सहयोग पुगेको हो। सो कार्यक्रमअन्तर्गत नव प्रवर्तनात्मक प्रविधि र विद्यार्थी शैक्षिक सुधार तथा शिक्षण सामग्री व्यवस्थापनका लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमले विद्यालयलाई समावेश गरेको छ।

हाल ३५० विद्यार्थी रहेको सो विद्यालयले ती सीप सिकाउनका शिक्षकसँग भएका सीपलाई उपयोग गर्नुका साथै स्थानीय व्यक्तिहरुलाई समेत प्रशिक्षकका रुपमा सहयोग मागिने बताए। ‘स्थानीयस्तरमै पनि वर्षौंदेखि विभिन्न पेशा, व्यवसाय गरिरहेका, दाफा, भजनमा संलग्न व्यक्तिहरु छन्, तिनीहरुको सीपलाई नयाँ पुस्तामा हस्तान्तरणका लागि पनि हामीले यो प्रयास गरेका हौं’, प्राचार्य तुईतुईले भने।

उनले विद्यालयको सो अवधारणमा विद्यार्थीको अभिरुचि रहेको बताउँदै त्यसले विद्यार्थीलाई व्यवहारिक बनाउन र शिक्षालाई बोधो हुनुबाट जोगाउने समेत बताए।  

विद्यालय तहबाटै शिक्षालाई व्यवहारीक बनाउनका लागि शिक्षा व्यवहारिक बनाउनु जरुरी रहेको शिक्षाप्रेमी एवं शिक्षाको क्षेत्रमा योगदान दिइरहेका हिमालयश्वरलाल मुलले पाठ्यक्रममा आधारित रहेर विद्यार्थीलाई ज्ञान दिने बताउँदै त्यसले शिक्षालाई थप गुणस्तरीय बनाउन समेत सघाउने बताए। उनले भने, ‘ हाम्रो पाठ्यक्रम उत्कृष्ट छ, पाठ्यक्रममा हरेक विषयको क्रियाकलाप गराउन भनेको छ, तर सीमित स्रोत, साधनको कमी, बजेटजस्ता कारण त्यसलाई नगर्दा समस्या भएको छ, माटोसँगै हुर्कनुपर्ने विद्यार्थी माटोलाई हेला गर्ने बनेका छन्, यसैले अब माटोलाई माया गर्ने जनशक्ति उत्पादनका लागि पनि यस्तो अवधारणाको शिक्षा दिनुपर्छ’ उनले भने।

प्रकाशित: २२ श्रावण २०७८ १३:५७ शुक्रबार

उत्पादन श्रमसँग जोडिएको शिक्षा जीवनोपयोगी शिक्षा