शिक्षा

सात बुँदे माग अघि सार्दै त्रिवि कर्मचारीहरू आन्दोलित

बिहान एक घण्टा धर्ना दिँदै लमजुङ क्याम्पसका कर्मचारीहरू।

सेवा सुविधा लगायतका ७ बुँदे माग अघि सार्दै त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्। उनीहरूले उपकुलपति कार्यालयसहित देशभरका क्याम्पस अगाडि मंगलबार बिहान धर्ना दिए।

सामाजिक सञ्जालमार्फत त्रिवि कर्मचारी सङ्घका अध्यक्ष छत्र कार्कीले पुस ५ गतेसम्म नियमित १ घण्टा धर्ना दिने र माग सम्बोधन नभए आन्दोलनका थप कार्यक्रम ल्याउने चेतावनी दिए।

वर्षौँदेखि त्रिविमा कार्यरत कार्यालय सहयोगी, सवारी चालक र सम्पूर्ण करारका कर्मचारीलाई तुरुन्त स्थायी गर्नुपर्ने, नेपाल स्वास्थ्य सेवा ऐन अनुसार त्रिविमा कार्यरत नर्सिङ र प्राविधिक कर्मचारीको स्तरवृद्वि तुरुन्तै लागू गर्नुपर्ने, रिक्त दरबन्दीमा विज्ञापन तुरुन्त गर्नुपर्ने लगायत माग उनीहरूको छ। यस्तै सञ्चित विशेष तलबी बिदाको रकम सेवा निवृत्त हुँदा सम्पूर्ण कर्मचारीले पाउने व्यवस्था लागू गर्नुपर्ने, विगतमा खोसिएका सेवा सुविधा पुनः सुचारु गर्नुपर्ने र ज्यामी, ज्यालादारी कर्मचारीको समस्या समाधान गरी सेवा सुनिश्चित गर्नुपर्ने माग अघि सारेका छन्।

सिनेटमा पेस गर्नका लागि एजेन्डा बनेपछि छलफल तथा पारित हुन नसकेपछि आन्दोलनमा उत्रिन बाध्य भएको अध्यक्ष कार्कीले बताए। कर्मचारीहरूले अघि सारेका माग गत मङ्सिर २७ गते बसेको त्रिवि सभामा छलफल समेत हुन नसकेपछि कर्मचारीहरु रुष्ट थिए। उनीहरूले सोही दिन सभाबाहिर प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीविरुद्ध नाराबाजीसमेत गरेका थिए।

प्रकाशित: २ पुस २०८१ १३:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App