सम्पादकीय

सुधारका लागि मतको संकेत

यसपटकको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका बहुआयामिक अर्थ छन्। त्यसको सिधा सन्देश प्रमुख राजनीतिक दललाई प्राप्त भएको छ। दलहरूले आफूलाई सुधार नगरेका कारण मतदाताको मन परिवर्तन भएको संकेत छ। प्रमुख दलका केही नेताले मुलुकको राजनीतिलाई बन्धक बनाएका कारण आमनागरिकलाई चित्त नबुझेको हो। सञ्चारमाध्यमले यस विषयमा नियमितरूपमा आलोचना गरेका हुन्। र, यसको प्रतिबिम्ब सामाजिक सञ्जालमा समेत देखिएको हो। विशेषगरी ज्येष्ठ नागरिकहरूले दलहरूलाई हलचल गर्न नदिएका कारण यस्तो मत परिणाम तिनका निम्ति प्रतिकूल देखिन थालेको छ।  

निर्वाचनको प्रारम्भिक मत परिणामले सुधारका निम्ति पर्याप्त सन्देश दिएको छ। आममतदाताको यो मनोभाव बुझ्नु जरुरी छ। बेलैमा मतदाताको मनोभाव नबुझ्ने हो भने नेपाली कांग्रेस र नेकपा (एमाले) ले भविष्यमा अरू धेरै असफलताको सामना गर्नुपर्ने निश्चित छ। मुलुकको लोकतान्त्रिक आन्दोलनमा भूमिका खेलेका यी दुई दलले आफूलाई समयानुकूल सुधार गर्न नसक्दाको परिणाम हो यो। प्रमुख नेताहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाललगायतले युवा नेतृत्वलाई अगाडि बढाउँदै आफूलाई अभिभावकीय भूमिकातर्फ अग्रसर नगराएको परिणाम निर्वाचनमा देखिँदैछ।  

वास्तवमा नेता त्यही हो जसले आफ्नो विरासत छाडेर जान सफल नेतृत्व तयार पार्छ। तर यहाँ नेतृत्व तयार नपार्ने मठाधीश प्रवृत्तिलाई आममतदाताले अस्वीकार गरेको स्थिति हो। नयाँ राजनीतिक दललाई छोटो समयमै स्थापित हुने अवसर प्राप्त भएको छ। अघिल्ला निर्वाचनमा कांग्रेस वा एमालेलाई मतदान गरेका मतदाताले समेत आफ्नो मन परिवर्तन गरेका छन्। यसको स्पष्ट सन्देश हो– मतदाता कसैका विर्ता होइनन्। यसै कारण प्रमुख दल सुध्रिनुको विकल्प छैन। दलले आफूलाई सुधारेर अहिलेको स्थितिबाट अगाडि बढेनन् भने भविष्यका निर्वाचनमा यी दलको औचित्य समाप्त हुँदै जानेछ। त्यसैले दलको औचित्य कायम गर्न पनि आफूलाई सुधार गर्नु अपरिहार्य छ।  

दुनियाँमा धेरै पार्टी जन्मिएका छन्। पुराना दलले राम्रो भूमिका नखेल्दा नयाँ दल स्थापित हुन्छन्। विभिन्न देशमा कलाकार, पत्रकार वा अन्य पेसाका व्यक्तिले दल खोलेर पनि राजनीतिमा हस्तक्षेप गरेका छन्। निर्वाचनको केही महिनाअघि मात्र स्थापित राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको सुरुआती सफलताले यहाँका मतदातामा रहेको परिवर्तनको आकांक्षा प्रतिबिम्बित भएको छ। सिके राउत र रेसम चौधरीका पार्टीले गरेको उपलब्धिलाई पनि यसमा सम्झनु पर्ने हुन्छ। यसै पनि नेपाली मतदातामा सत्ताधारी दलप्रतिको असन्तुष्टि प्रष्ट देखिन्छ। त्यही भएर प्रत्येक निर्वाचनपछि नयाँ दलले सरकार बनाउने मौका पाउँछ। एउटा निर्वाचनमा सुविधाजनक मत पाएको दलले अर्को पटक पराजित हुनुपरेको अवस्था पनि हामीकहाँ छ। नेकपा (माओवादी) ले २०६४ मा सम्पन्न संविधानसभा निर्वाचनमा पाएको मतबाट पहिलो दल बन्ने अवसर पाएको हो। तर उसले निर्वाचित भएपछि देखाएको व्यवहारबाट दोस्रो निर्वाचनमा तेस्रो स्थानमा झर्नुपरेको हो।  

त्यसैले मतदाताले सधैँ सबै दललाई मौका दिइरहँदैनन्। माओवादी पहिलो पटक आउँदा ऊप्रतिको आमविश्वास चुलिएको हो। नयाँ शक्ति आएपछि पक्कै मुलुकमा परिवर्तन हुन्छ भन्ने आकांक्षा जहिल्यै चुलिने गर्छ। विस्तारै माओवादीले देखाएको व्यवहारले उसलाई विश्वास गर्ने आधार गुम्दै गएको हो। अहिलेको निर्वाचन परिणाममा कांग्रेस र एमालेको अवस्था धेरै नखस्किए पनि यही स्थिति भविष्यसम्म रहँदैन। यो तिनलाई सुध्रिनका निम्ति गम्भीर चुनौती हो। यसपटक समानुपातिकतर्फको मत नयाँ दललाई जानु भनेकै पुरानाप्रतिको भरोसा कम हुनु हो। त्यसैगरी अहिले नयाँले जुन मत पाइरहेका छन्, त्यो पनि तिनका निम्ति स्थायी समर्थन होइन। तिनले पनि पुरानैका गल्ती दोहो¥याए भने मतदाता आक्रोशको सामना गर्नुपर्ने छ।  

प्रमुख ठूला दलमा आफूले जे गरे पनि हुन्छ भन्ने मान्यता बलियोसँग विकास भएको हो। तिनले आममानिसका प्रतिक्रियाप्रति खासै चासो राखेनन्। केही ठूला नेताले बसेर निर्णय गरेपछि सबै काम हुन्छ भन्ने तिनमा विश्वास देखिएको हो। तिनले संसद्लाई निर्णायक बनाएनन्। प्रायः सबै निर्णय संसद् बाहिर भए। संवैधानिक नियुक्तिलाई तिनले किनबेच वा आसेपासेलाई बाँड्ने राणा शैली अपनाएका हुन्। यसले पनि आमनागरिकमा पुराना दलप्रतिको विश्वास कमजोर हुँदै गएको हो। ठूला दलका पाका नेताहरूले यसबीचमा गरेका अपरिपक्व निर्णयले पनि आममतदातालाई मत परिवर्तन गर्न बाध्य पारेको हो। त्यसैकारण यसपटक नयाँ शक्तिलाई उदाउने मौका प्राप्त भएको छ।  

वास्तवमा मुलुकमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता बोध भएको पनि हो। जहिल्यै कांग्रेस वा एमाले मात्र रहँदा उनीहरूले आफूलाई सुधार्नु आवश्यक ठानेनन्। विगतमा पनि वैकल्पिक शक्तिको अपेक्षा भएको हो। त्यस्तो शक्ति ल्याउने अभ्यास असफल भएका थिए। त्यसले गर्दा पुराना दललाई सुध्रिनु आवश्यक महसुस भएको थिएन। तर अहिले परिस्थिति फेरिएको छ। देश विदेशमा जाने नेपालीको संख्या बढ्नुसँगै यहाँको मत पनि परिवर्तन हुन थालेको छ। विश्वमा आइरहेका परिवर्तनको लहरले यहाँ पनि प्रभाव नपार्ने कुरा भएन।  

गठबन्धनको संस्कृतिप्रति पनि मतदाताको अरूचि देखिएको छ। नेताहरूले आपसमा मिलेर गठबन्धन गर्दैमा समस्याको समाधान हुँदैन। आम नागरिकलाई पनि तिनको काम चित्त बुझ्नु पर्छ। सरकार सञ्चालनका बेला गठबन्धन भए पनि निर्वाचनमा मतदाताको चयन उम्मेदवारप्रति हुन्छ। र, हामीले सञ्चार माध्यमबाट पनि दल होइन, उम्मेदवार हेरौँ भन्ने बारम्बार आग्रह गरेकै हौँ। दलमात्र भनेको भए त्यसले सही निष्कर्ष दिँदैनथ्यो। यसै पनि दलले आफू र आफ्ना आसेपासेलाई अगाडि बढाउन चाहेपछि आममतदाताले गरेको यो हस्तक्षेप जरुरी भएको हो। त्यसैले प्रमु्ख दलले सच्चिएर आफूलाई यथार्थमै जनताको प्रतिनिधि संस्थाका रूपमा विकास गरुन्। दलहरू सच्चिएनन् भने मतदाताले जसरी पनि तिनलाई सही बाटो देखाउन वाध्य हुन्छन्।

प्रकाशित: ६ मंसिर २०७९ ००:१३ मंगलबार

Download Nagarik App
Download Nagarik App