अर्थ

ऊर्जा मन्त्रीको प्रश्नः नलगाडको डीपीआरमा किन ढिलाई ?

जाजरकोटमा आयोजना स्थल रहेको कूल ४१७ मेगावाट क्षमताको जलाशययुक्त नलगाड जलविद्युत आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) मा प्रगति नभएकामा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आपत्ति जनाएको छ।  

मन्त्रालयमा शुक्रबार वन ताथ वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसमेतलाई साथमा राखेर ऊर्जा मन्त्री वर्षमान पुनले परियोजनाको डीपीआरमा प्रगति नभएकामा गुनासो गर्दै शीघ्र काम नभए परामर्शदाता कम्पनीसँगको सम्झौता खारेज गर्ने चेतावनी दिए।  

आयोजना प्रमुखसहितका कर्मचारी र डीपीआरको जिम्मा पाएको परामर्शदाताका प्रतिनिधिसँग मन्त्रीद्वयले छलफल गर्दै हालसम्म भएको प्रगतिका बारेमा जानकारी लिएका हुन्। सो आयोजनाको डीपीआरको काम अष्ट्रेलियन कम्पनी स्मेकले गरिरहेको छ। कम्पनी स्मेकका प्रतिनिधि बाबुराम भारद्वाज र रेशम ढकालले हालसम्म भएको प्रगति समेटिएको प्रतिवेदनको प्रगतिबारे जानकारी गराएका थिए।

उनीहरुले डीपीआरको काम करिब ८५ प्रतिशत सकिएको र बाँकी १५ प्रतिशत कामका लागि समय थप गर्नुपर्ने प्रस्ताव गरेका थिए। सन् २०२१ को सेप्टेम्बरसम्ममा काम सकिने जानकारी दिइएको थियो।  

मन्त्रालयले भने कामको अध्ययन गरी आवश्यक समयमा उपयुक्त जवाफ दिने बताएको छ। अष्ट्रेलियन कम्पनी स्मेक, एमडब्लुएच र नेपालको उदय जेभीले संयुक्तरुपमा डिपीआरको काम गरिरहेका छन्। सन् २०१६ मा नै तीन वर्षमा डिपीआरको काम सक्ने गरी नलगाड जलविद्युत कम्पनी र सम्वद्ध परामर्शदाता कम्पनीबीच सम्झौता भएको थियो।  

यसअघि डीपीआरकोकर्ताको मागअनुसार अगष्ट २०१९ मा पहिलोपटक तीन महिना र अगष्टदेखि मे २०२० सम्म नौ महिना दास्रोेपटक डीपीआरको समयावधि थप भइसकेको छ। तैपनि, अझै काम नसकिएको भन्दै ऊर्जामन्त्री पुन र जाजरकोटबाट प्रतिनिधिसभामा निर्वाचित वनमन्त्री बस्नेतले परामर्शदाता कम्पनीका प्रतिनिधिलाई बोलाएर छलफल गरेका हुन्। रासस

प्रकाशित: ४ पुस २०७७ ०१:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App