बजारमा विभिन्न प्रकारका गुणस्तरहीन औद्योगिक वस्तु बिक्री वितरण भइरहेको गुनासो आइरहँदा नेपाल गुणस्तर तथा नापतौल विभागले विभिन्न वस्तुका ३१ वटा मापदण्ड तयार गरेको छ।
विभागले तयार गरेको मापदण्ड उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री तथा नेपाल गुणस्तर परिषदका अध्यक्ष लेखराज भट्टको अध्यक्षतामा बसेको वैठकले स्वीकृत गरेको हो।
एभिएसन टर्वाइन फ्यूल, एलइडी बल्ब, स्यानिटरी नेपकिन, कर्भ स्टोन लगायतका वस्तुको मापदण्ड तयार गरिएको हो। कतिपय वस्तुको मापदण्ड छ भने केहीको परीक्षण गर्ने विधि, प्रक्रियाको पनि मापदण्ड तयार गरिएको छ।
उपभोक्ताले प्रयोग गर्ने वस्तु र परीक्षण गर्ने विधि गुणस्तरीय हुन् भनेर स्ट्याण्डर तयार गरेको नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए। ‘विभागले हरेक वर्ष ५० वटा स्ट्याण्डर तयार गर्छ,’ उनले भने, ‘अहिलेसम्म नौ सय ९५ गुणस्तर मापदण्ड तयार गरिएको छ।’
गुणस्तर मापदण्डमा वस्तुको गुणस्तर मात्र नभएर परीक्षण गर्ने विधिको पनि मापदण्ड तयार गर्ने विभागले जनाएको छ। एउटै वस्तुको पनि विभिन्न परीक्षण हुने विभागका निर्देशक सञ्जिव कुमार ठाकुरले बताए। ‘वस्तुको स्पेसिफिकेसन हुन्छ,’ ठाकुरले भने, ‘सबै स्ट्यान्डर्ड अनिवार्य भने होइनन्।’
सरकारले स्वास्थ्य र सुरक्षाका दृष्टिकोणले स्ट्यान्डर्ड अनिवार्य गर्न सक्ने बताए। ‘वस्तुको उत्पादन, परीक्षणमा स्टाटर्ड तयार हुन्छ,’ ठाकुरले भने, ‘एउटै प्रोडक्टमा विभिन्न परीक्षण हुन्छ। सरकारले आवश्यकता अनुसार बाध्यात्मक पनि गर्न सक्छ।’
विभागले करिब एक हजार वटा स्टान्र्डड तयार गरेको भए पनि १४ वटा गुणस्तर स्ट्यान्डर्ड बाध्यकारी बनाएको छ। नेपालमा अहिलेसम्म १४ वटा गुणस्तरलाई अनिवार्य गरिएको विभागका निर्देशक आलोक मिश्रले बताए। मिश्रका अनुसार सिमेन्ट, डण्डी, एलपिजी सिलिन्डर, भल्ब, एलिपजीको बोटलिङ प्रक्रिया, कर्कट जस्तापाता, जिआई वायर, विजुलीको हाउस वायरिङ लगायतमा गुणस्तरलाई अनिवार्य गरिएको छ।
ती वस्तुमा विभागले तोके अनुसारको गुणस्तर नभए विभागले कारबाही गर्न सक्छ। ‘अनिवार्य गरिएका वस्तुको गुणस्तर बाध्यात्मक हुन्छ,’ मिश्रले भने, ‘कतिपय वस्तुमा स्वेच्छिक हुन्छ। ’ सरकारले बाध्यात्मक गरेका गुणस्तर मापदण्ड पनि उद्योगीले उलंघन गर्ने गरेका छन्। त्यस्तो अवस्थामा विभागले अुनगमन गरेर मापदण्ड वस्तु उत्पादन गर्नेलाई कारबाही गर्न सक्छ।
नेपालमा पहिलो पटक एभिएसन टर्वाइन फ्यूलको स्ट्यान्डर्ड तयार गरिएको छ। नेपाल आयल निगमको माग अनुसार स्ट्यान्डर्ड बनाएको हो। त्यसैगरी, उपभोक्ताले धेरै प्रयोग गर्ने एलइडी बल्बको आयु करिब १५ हजार घण्टा हुनुपर्ने मापदण्ड तोकेको छ। बजारमा धेरै कम्पनीका बल्बहरु बिक्री भैरहेको अवस्थामा मापदण्ड नहुँदा समस्या देखिए पछि नेपाल विद्युत प्राधिकरणको आग्रहमा विभागले मापदण्ड तोकेको छ। ‘बल्ब लगातार करिब १५ हजार घण्टा बल्नुपर्छ,’ मिश्रले भने, ‘कति उज्यालो दिनुपर्ने भन्ने पनि मापदण्डमा तोकिएको छ। ’ बजारमा गुणस्तरहीन बल्बको बिक्री भैरहेको गुनासो आए पनि निर्धारण गरिएको हो। त्यसमा विजुली खपतको समेत मापदण्ड छ। बल्ब बनाउने कम्पनीले आँखाको ज्योतीलाई प्रभाव नपार्ने लाइटिङ प्रणालीको मापदण्ड पनि तोकिएको छ।
गुणस्तर भन्नाले कुनै वस्तु, सेवा, प्रक्रिया वा प्रणालीको आफ्नो उद्देश्य पूर्ति भएको सुनिश्चित गर्नका लागि तयार गरिएको नियम, निर्देशिका वा चारित्रिक गुणको परिभाषाको रुपमा गरेको प्राविधिक विशिष्ट विवरण वा अन्य निश्चित मानांक सम्मिलित लिखित दस्ताबेज हो।
सरकारले नेपाल गुणस्तर निर्धारण गर्न र त्यस्तो वस्तुमा प्रमाण चिन्हको प्रयोगको व्यवस्था गर्न सक्छ। कुनै उत्पादक, निर्माता,वितरक वा सेवा प्रदान गर्ने व्यक्ति वा संस्थाले कुनै वस्तु, सेवा, प्रक्रिया वा प्रणालीको सम्बन्धमा गुणस्तर प्रमाण चिन्ह प्रयोगको लागि इजाजत वा गुणस्तर प्रमाण पत्र प्राप्त गर्न चाहेमा विभागले उपलब्ध गराउने गरेको छ।
नेपालमा ६४ वटा वस्तुले नेपाल गुणस्तर चिन्ह लिएको विभागले जनाएको छ। गुणस्तर कायम गर्ने उदेश्यले नेपाल गुणस्तर (प्रमाणचिन्ह) ऐन २०७७, नेपाल गुणस्तर नियमावली (प्रमाणचिन्ह) २०४०, स्टान्डर्ड नाप तौल ऐन र स्टान्डर्ड नाप र तौल लगायतका ऐन, नियमावली, नियमहरू रहेका छन्।
वस्तुको गुणस्तर कायम गरी उपभोक्ता ठगिनबाट बचाउन विभागले विभिन्न मापदण्ड तयार गरेर कार्यान्वयन गर्दै आएको छ। उत्पादकका लागि कतिपय अनिवार्य गरिएको हुन्छ भने केही स्वेच्छिक रहेका छन्।
प्रकाशित: २७ कार्तिक २०७७ ११:१६ बिहीबार