अर्थ

नलगाड जलविद्युत् आयोजनाको क्षमता वृद्धि

जाजरकोट – जिल्लाको पूर्वी क्षेत्रमा निर्माण हुन लागेको नलगाड जलविद्युत् आयोजनाको सात मेगावाट विद्युत् उत्पादन क्षमता बढ्ने भएको छ। आयोजनाको विस्तृत योजना प्रतिवेदन (डिपिआर) गर्दा यो तथ्य सार्वजनिक भएको हो।

चारसय १० मेघावाटबाट बढेर चार सय १७ मेघावाट पुग्ने आयोजनाले जनाएको छ। आयोजनाको विद्युत् उत्पादन क्षमता बढेसँगै स्थानीय खुसी भएका छन्। सुरुमा गरिएको अध्ययनले चार सय १० मेघावाट विद्युत् उत्पादन हुने सर्बेक्षण गरिएकामा अहिले डिपिआरको प्रारम्भिक प्रतिवेदनबाट सात मेघावाट विद्युत् उत्पादन क्षमता बढने आयोजनाका इन्जिनियर पदम थापाले बताए।

बारेकोट गाउँपालिकाको अँधेरीखोलामा निर्माण हुने बाँधको उचाइ सुरुमा दुई सय मिटर रहेकामा अहिले दुई सय १० मिटर बनाइएकाले विद्युत् उत्पादन क्षमता बढ्ने उनको भनाइ थियोे। यस विषयमा वातावरण प्रभाव मूल्यांकनको प्रतिवेदन तयार भई वन मन्त्रालयमा स्वीकृतिका लागि पठाइएको छ। त्यस्तै आयोजनाको जग्गा अधिग्रहणको कामसमेत सुरु गरिएको छ।

जलविद्युत् निर्माणस्थलका लागि धिग्रहण गरिएको चार हजार चार सय ६२ रोपनी (तीन हजार आठ सय ६१ कित्ता) जग्गाको मुआब्जा उपलव्ध गराउनका लागि सूचनासमेत प्रकाशन गरिएको छ।

सरकारले सबै मुआब्जा दिने गरी दुई अर्ब ७२ करोड उपलब्ध गराएको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताए। मुआब्जा यसै वर्ष वितरण गरिने उनको भनाइ थियो। चार वर्ष अघिदेखि मुआब्जा वितरण सुरु गरिए पनि रकम अभावमा अहिलेसम्म बाँधस्थल अँधेरीखोलामा एक सय ५० रोपनी र विद्युत्गृह निर्माणस्थलको दुई सय ५० रोपनीको मात्र मुआब्जा वितरण गरिएको थियो।

मन्त्री बस्नेतले भने, ‘आयोजना निर्माणका लागि विभिन्न देशसँग छलफल जारी छ, कर्णाली प्रदेशको मुहार फेर्ने यो आयोजना तोकिएकै समयमा निर्माण गर्न हामी निरन्तर लागि परेका छौं।’ मुआब्जा वितरण गरिएको ठाउँमा यसअघि प्रतिरोपनी चार लाख ७५ हजार रुपैयाँका दरले वितरण गरिएको थियो। अब तीन हप्ताभित्र जग्गाको मूल्यांकन तथा गुनासा सुनेर जिल्ला प्रशासन कार्यालयले सरोकारवालाको बैठक बोलाइ नयाँ दरभाउ तोकेर मापदण्ड बनाई मुआब्जा वितरण गरिने प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए।

दक्षिण एसियाको नमूना बाध बन्न लागेकाले पर्यटकीय हिसाबले समेत यो स्थान महत्वपूर्ण हुने उनले बताए। निर्धारित मिति सकिएको कम्पनीको विस्तृत योजना प्रतिवेदन (डिपिआर)को काम चार महिनाभित्र सकिने कम्पनीका इन्जिनियर पदम थापाले जानकारी दिए।

३२ महिनाभित्र निर्माण गरिने भनी सम्झौता गरिएकामा काम नसकिएकाले ६ महिना थपिएको थियो। सामग्री ढुवानी, सुरक्षा व्यवस्था र विस्फोटक पदार्थ समयमै आपूर्ति नहुँदा निर्धारित समयमा काम पूरा गर्न नसकिएको उक्त कन्सलटेन्टले बताएको छ।

बारेकोट गाउँपालिकाको अँधेरीखोलामा बाँध निर्माण र नलगाड नगरपालिका–७ दल्लीमा भूमिगत विद्युत्गृह निर्माण गरिने भएको छ। विद्युतगृह निर्माणका लागि तीन सय ४५ मिटर सुरुङ निर्माण गरी माटोको अवस्था पत्ता लगाउने काम सुरु गरिए पनि थपिएको मिति सकिँदासम्म दुई सय ५० मिटर मात्र निर्माण गरिएको आयोजनाका इन्जिनियर थापाले बताए।(रासस)

प्रकाशित: १ आश्विन २०७६ ०२:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App