अर्थ

विद्युत् महसुल नतिर्ने ग्राहकका लाइन काटिए

नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले एक हजार तीन सय ६८ जना ग्राहकको लाइन काटेको छ। समयमा विद्युत् महसुल नबुझाउने उनीहरूको लाइन गत साउनयता काटिएको हो।

कार्यालयका प्रमुख ई रामु श्रेष्ठका अनुसार साउनदेखि पुस मसान्तसम्म महसुल नतिर्ने उनीहरूको लाइन काटिएको हो। यस अवधिमा एक हजार चार सय ५६ जनाले बक्यौता रकम तिरेका छन्। उनीहरूबाट रु दुई करोड ८२ लाख २१ हजार नौ सय १६ राजस्व सङ्कलन भएको छ।

प्रमुख श्रेष्ठका अनुसार एक हजार छ सय ६८ जना ग्राहकबाट रु चार करोड १३ लाख ९५ हजार पाँच सय ६७ बक्यौता उठाउन बाँकी थियो। वितरण केन्द्रले पुस मसान्तसम्म दुई सय ८१ जना ग्राहकलाई कालोसूचीमा राखेको छ।

उनीहरूबाट रु एक करोड पाँच लाख ४६ हजार एक सय ८८ बक्यौता उठाउन बाँकी छ। वितरण केन्द्र प्रमुख श्रेष्ठले भने, 'नेपाल विद्युत् प्राधिकरणको प्रचलित विनियम अनुसार ६ महिनासम्म महसुल नबुझाएका ग्राहकलाई कालोसूचीमा राख्ने प्रावधान छ।'

भरतपुर वितरण केन्द्रमा मासिक महसुल बुझाउने ग्राहकमध्ये ६२ प्रतिशतले अहिले अनलाइनबाट महसुल बुझाउने गरेका छन्। यस केन्द्रमा हाल ७२ हजार बढी ग्राहक छन्। रासस

प्रकाशित: १३ माघ २०८१ १३:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App