अर्थ

सामाजिक सुरक्षासम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा

उत्थानशील, सामाजिक समावेशी तथा सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय दोस्रो सम्मेलन बिहीबारदेखि नेपालमा सुरु भएको छ। नेपालद्वारा आयोजित सम्मेलनमा विश्वभरका विज्ञहरूद्वारा दुई दिनसम्म विविध विषयमा छलफल हुँदै छ। ‘मानव पुँजी निर्माणमा लगानी’ को विषयलाई सम्मेलनमा जोड दिएर आपसी देशहरूको नीति र अभ्यासबारे छलफल हुने आयोजकले जनाएका छन्। 

नेपाल सरकार, राष्ट्रिय योजना आयोग, संयुक्त राष्ट्रसंघीय बाल कोष र विश्व बैंकको संयुक्त आयोजनामा उक्त सम्मेलन आयोजना गरिएको हो। सम्मेलनको उट्घाटन समारोहमा सम्बोधन गर्दै अर्थमन्त्री विष्णु पौडेलले गरिबी न्यूनीकरण, उत्थान गर्न र भावी पुस्ताको मानव पुँजीमा लगानी गर्न सामाजिक सुरक्षालाई कसरी सदुपयोग गर्न सकिन्छ भन्ने विषयमा प्रोत्साहन गरेको बताए।

‘नेपालले मानव पुँजी विकास गर्दै गरेको समयमा सम्मेलन आयोजना भएको बताए। उनले भने, ‘हाम्रा बालबालिका र भावी पुस्ताको आवश्यकता पूरा गर्नका लागि थप समावेशी, सामाजिक सुरक्षाको प्रणाली निर्माण गर्न आवश्यक छ।’ नेपालमा अझै पनि २० प्रतिशत जनता गरिबीको रेखामुनि रहेका र अझै पनि आर्थिक सामाजिक असमानता कायम रहनु चिन्ताको विषय रहेको बताए। 

सामाजिक संरक्षणको अधिकांश लगानी ज्येष्ठ नागरिकमा केन्द्रित हुँदा बालबालिका र अन्य जोखिममा रहेका समूहमा सीमित ध्यान पुगेको पौडेलले औंल्याए। सोही अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीले नेपाल सरकारले १६औं योजनादेखि नै मानव पुँजी निर्माणलाई उच्च प्राथमिकतामा राखेको र यसका लागि बालबालिकामा लगानी बढाउन पर्ने आवश्यक रहेको बताए। 

‘देश विकासका लागि मानव विकास साधन र साध्य हो,’ उनले भने। नेपाल सरकारले सामाजिक सुरक्षामा लगानी गर्दै आएको भए पनि मानव पुँजी निर्माण गर्न, गरिबी घटाउन र मानव जीवन चक्रका विभिन्न अवस्थामा आइपर्ने जोखिम घटाउने गरी कम प्रभाव परेको उनले बताए।  ‘सामाजिक सुरक्षाका लागि सुरुको अवस्थामा लगानी गरेर सर्वव्यापी बाल अनुदान कार्यक्रममार्फत गरिबीको अन्तरपुस्ताको चक्रलाई तोड्न सक्छौं,’ दक्षिण एसियाका युनिसेफका निर्देशक बिजेसेकराले भने । 

उनले यो सम्मेलनमार्फत नेपालका बालबालिकाका लागि मात्र नभई मानव पुँजीमा लगानीका लागि आफैंलाई चुनौती दिइरहेको बताए। उनले भने, ‘हामी हरेक बालबालिकालाई अघि बढ्ने, अग्रसर भविष्यमा योगदान पु¥याउने अवसर पाउने सिर्जना गर्न हामी प्रतिबद्ध रहेको सन्देश दिन चाहन्छौं,’ उनले भने। सन् २०१९ मा सम्पन्न सामाजिक सुरक्षासम्बन्धी पहिलो सम्मेलनले बाल अनुदानको विस्तार, एकीकृत सामाजिक लागतलगायत विषयलाई जोड दिएको थियो। 

सो सम्मेलने उठाएका विषयलाई दोस्रो सम्मेलनले २०१९ यता नेपालले हासिल गरेका उपलब्धि र दिगो विकास हासिल गर्नका लागि ज्ञान आदान–प्रदान गर्न र सिक्नका लागि सम्मेलन प्रभावकारी मञ्च बन्ने अपेक्षा लिइएको छ। वर्तमान आर्थिक चुनौती, विश्वव्यापी द्वन्द्व, जलवायु परिवर्तनको सामना गर्नका लागि अनुकूल सामाजिक प्रणाली पहिलाभन्दा बलियो बनाउन यो सम्मेलनले मद्दत गर्ने विश्व बैंकका लागि नेपाल र श्रीलङ्काकी प्रबन्धक प्रीति आरोराले बताइन्।

आर्थिक नीति अनुसन्धान संस्थानका निर्देशक डा. माइकल स्याम्सनले ‘मानव पुँजी, समावेशीकरण र उत्थानशीलताका लागि सामाजिक संरक्षणमा लगानी, विश्वव्यापी परिवेश’ विषयमा कार्यपत्र प्रस्तुत गरे। दुई दिनसम्म जारी सो सम्मेलनमा बाल गरिबी र सामाजिक सुरक्षा, मानव पुँजीमा सुरुवाती विकासको सूचकाङ्क, देशहरूबिचको साटासाट, अर्जेन्टिना, थाइल्यान्ड, मंगोलिया, नेपाल, युनिसेफ, कम्बोडिया, विश्व खाद्य कार्यक्रम, भारत, भुटान, श्रीलंका, एसिया प्यासिफिक क्षेत्रीय प्रतिनिधिलगायतले सम्मेलनमा विभिन्न प्रस्तुति दिनेछन्।

प्रकाशित: २८ भाद्र २०८१ ०७:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App