अर्थ

यस वर्ष राक्सिराङको सबै वडामा विद्युत् पुर्‍याइने

विद्युतको कामको अनुगमन तथा सहयोग गर्दै राक्सिराङ गाउँपालिका अध्यक्ष मल्ल लगायत।

चालु आर्थिक वर्ष २०८०/८१ को बैशाख सम्ममा मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाको सबै वडामा विद्युत् सेवा पुर्‍याउने गरी गाउँपालिकाले काम गरिरहेको छ।

अझै राक्सिराङको खैराङ, काँकडा, दाम्राङ लगायतका क्षेत्रमा विद्युत् सेवा पुग्न बाँकी रहेको छ। खैराङ, काँकडा लगायत विद्युत् नपुगेको स्थानमा अहिले दैनिक करिब दुई सय मजदुरले पोल गाड्ने, तार तान्ने लगायतका कार्य गरिरहेका छन्। 

‘राक्सिराङको विकट गाउँहरूमा अहिले पनि विद्युत् सेवा पुग्न सकेको छैन। ‘चेपाङलाई बिजुली कार्यक्रम’अन्तर्गत सबै वडामा विद्युत् विस्तार गर्ने क्रममा वडा नम्बर ९ को खैराङ र ७ नम्बरको धिराङ, दाम्राङ लगायतका क्षेत्रमा यसै आर्थिक वर्षभित्र बत्ती बाल्ने गरी धमाधम काम भइरहेको छ’, गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले भने, ‘३१ करोडको बजेटमा नरेन्द्र इलेक्ट्रोनिक कम्पनी काठमाडौँले काम गरिरहेको हो।’ विद्युतको कामका लागि स्थानीय स्तरबाट समेत सहयोग भइरहेको छ। मजदुरसँगै स्थानीय लागिमेली गरेर काम गरिरहेका छन्। ‘विद्युत् नपुगेको ठाउँमा पु¥याउने र काठे पोल विस्थापित गर्ने अभियानमा लागेका छौँ’, उनले भने।

अघिल्लो कार्यकाल नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हेटौँडा आएको बखत उनलाई भेटेरै राक्सिराङका जनप्रतिनिधिले यहाँको भौगोलिक र विद्युतको अवस्थाको विषयमा जानकारी गराएका थिए।

 ‘यस क्षेत्रमा सहज रुपमा विद्युत् उपलब्ध भएपछि पर्यटन उद्योग र कृषिलाई पनि सहज हुने विश्वास लिएका छौँ’,पालिका अध्यक्ष मल्ल भन्छन्, ‘यस क्षेत्रमा सामूहिक कार्यका लागि सामुदायिक भवन बनाउने, गलैँचा उद्योग खोल्ने लगायतका योजना रहेको छ।’ यस क्षेत्रका धेरै सर्वसाधारण काठमाडौंमा गलैँचा उद्योगमा कार्यरत रहेका छन्। विद्युत् उपलब्ध भएपश्चात् घरैबाट गलैँचाको काम गर्न सकिने उनले बताए । ‘विद्युत् आपूर्ति भएपछि यहाँका सर्वसाधारणलाई धेरै राहत पुग्नेछ । उद्योग तथा कृषि कार्य गर्नलाई थप सहज हुनेछ।तोकिएको समयमै काम सम्पन्न गराउन ठेकेदार कम्पनीलाई आवश्यक समन्वय र सहजीकरण गरिरहेको छौँ’, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले भने, ‘वैशाखसम्म यस क्षेत्रमा विद्युत्बाट बत्ती बाल्ने योजना रहेको छ । सँगसँगै बाटो सफा गर्ने अभियान पनि चलिरहेको । स्थानीयबाट पनि सहयोग भइरहेको छ।’ गाँजा, अफिम लगायतको लागू औषध उत्पादन हुने यस राक्सिराङ गाउँपालिका भौगोलिक रुपमा विकट रहेको छ।


 

९फोटो स् विद्युतको कामको अनुगमन तथा सहयोग गर्दै गाउँपालिका अध्यक्ष मल्ल लगायत ।

प्रकाशित: १२ मंसिर २०८० १२:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App