ब्लग

किशोरकिशोरी के चाहन्छन्, अभिभावकले कसरी सम्बोधन गर्ने?

सुनिता खड्का

कोभिड– १९ का कारण लामो समयदेखि लकडाउन छ । हरेक पेशा, व्यापार, व्यावसाय धराशायी बनेको छ जसको कारणले हरेक परिवारका सदस्यले विभिन्न खालका समस्या झेलिरहेका छन् । यस्तो बेलामा परिवारमा कसरी शारिरिक र मानसिक रूपमा स्वस्थ्य भएर बाँच्न सकिन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ ।  

यस्तो अवस्थामा अभिभावकबीचको सम्बन्ध र पारिवारिक वातावरणले किशोरकिशोरीमा प्रत्यक्ष असर पार्छ । कुनै समस्या आएमा अभिभावकले विश्वासिलो स्रोतसँग छलफल गरी परिवारमा नकारात्मक असर नपर्ने गरी समस्या सुल्झाउनुपर्छ । यस्तो गरेमा अभिभावकको आचरणबाट किशोरकिशोरीले पनि परिस्थितिलाई सहज रूपमा लिने र समाधान गर्ने सीप सिक्छन् ।  

उनीहरूले बढी समय आफ्नै बारेमा सोच्ने र धेरै ऐना हेर्ने, आफ्नो अनुहार र छालाबारे संवेदनशील हुने गरेको पाइन्छ । किशोरकिशोरी आफ्ना साथीको जस्तो शारीरिक वृद्धि नभएमा चिन्तित हुने गरेको पनि पाइन्छ । यसैगरी किशोरीमा उमेरभन्दा चाँडैनै परिपक्वता आएमा यसले उदासीनता, चिन्ता र खाना खान मन नलाग्ने समस्या आउन सक्छ ।

नेपाल प्रहरीमा जेठ २८ गतेसम्म दर्ता भएको रेकर्डका आधारमा लकडाउनको समयभित्र ११०५ जनाले आत्माहत्या गरेको पाइयो । जसमा ८६ जना बालिका र ५२ जना बालक छन् ।  रेकर्डमा बालिकाको संख्या बढी छ । बालबालिकाको शारीरिक र मानसिक विकासक्रम हेर्दा बालकभन्दा बालिका बढी संवेदनशील हुने, वरपरको वातावरणप्रति बढी सजग हुने, मस्तिष्कको विकास पनि धेरै हुने हुन्छ । विचार राख्दा पनि विस्तृत रूपमा राख्छन् । त्यस्तै वैज्ञानिक तथा मनोवैज्ञानिक खोजअनुसार बालकमा भन्दा बालिकामा २ वर्ष अगाडि नै परिपक्वता आउँछ ।  

हाम्रो समाजमा बालकभन्दा बालिका बढी हिंसामा परेका छन् । हरेक व्यक्तिले आफ्नो किशोर अवस्था पृथक तरीकाले अनुभव गरेको हुन्छ । यस अवस्थालाई आँधी र दबाबको अवस्था पनि भनिन्छ । त्यसैले यो अवस्थामा कतिपय किशोरकिशोरीमा तनाव, चिन्ता र कहिलेकाहीँ मानसिक चिन्ताको तह बढेर मनोवैज्ञानिकको सहयोग समेत चाहिन्छ । त्यसैले घरवरिवार, छिमेक, समुदाय, स्कूल लगायत सरोकारवालाले किशोरकिशोरीलाई बुझ्ने र सोहीअनुसार व्यवहार गर्न सकियो भने उनीहरूको सुरक्षा गर्न सकिन्छ । 

किशोरावस्था  

विभिन्न वैज्ञानिक र मनोवैज्ञानिक अनुसन्धानले यस अवस्थामा आउने विभिन्न उमेरका चरण र त्यससंगै विकास हुने चरणलाई यो विकास र वृद्धि गर्ने मौका दिने अवस्था हो भनेका छन् । यो अवस्थामा सिकेका, भोगेका र अनुभव गरेका कुराका आधारमा संज्ञात्मक विकास हुने र सोहीअनुसार मस्तिष्कले पनि ग्रहण गर्ने हुनाले यो अवस्था संवेदनशील हुन्छ । शारीरिक विकास तथा लैङ्गिक परिपक्वताको अवस्था वा यौन अंगको तिव्र विकास हुने अवस्था हो । यसबेलामा उनी विपरीत लिंगप्रति आकर्षण हुने, केटाले केटी साथी बनाउने, केटीले केटा साथी बनाउने पनि गर्छन् ।  

किशोरावस्था न  बालबालिका न वयस्कको अवस्था हो । यो १२÷१३ देखि १७÷१८ वर्षसम्मको अवस्था हो । उनीहरू परिवारबाट स्वतन्त्रता कसरी पाउने भन्नेमा बढी चासो लिन्छन् । उस्तै उमेर समूहका साथीसँग प्रगाढ सम्बन्ध विकास गर्छन् । उनीहरूको इच्छा, चाहना र स्वतन्त्रताको बिषयलाई लिएर कहिलेकाहीँ किशोरकिशोरी र अभिभावकबीच मतभेद हुन सक्छ । र दुवै पक्षमा अनिश्चितताको भावना विकास गराउन सक्छ । यसबाट आपसी सम्बन्धमा समस्या ल्याउन सक्छ । किशोरावस्थाको विकास र व्यवहार किशोरकिशोरीका साथै परिवारका लागि पनि धेरै परिवर्तन र संवेदनशील समय हो ।  

किशोरकिशोरी आफ्ना यौन मूल्यहरूबारे थाहा पाउने कोशिस गर्छन् । त्यसैले उनीहरूले यौन सम्वन्धी राखेका जिज्ञासाबारे चित्तबुझ्दो जवाफ नपाएका खण्डमा उत्सुकता जान्न गलत मानिसको हातमा पुग्न सक्छन् ।

यस अवस्थामा आउने विकासक्रम, अभिभावक, शिक्षक तथा शिक्षिकाको भूमिकाका बारेमा कुरा गरौं ।  

शारीरिक विकास– किशोरकिशोरीले, १२ देखि १८ वर्षको उमेरमा शारीरिक परिवर्तन भएको अनुभव गर्छन् । उनीहरूको उचाइ र तौल तीव्रगतिमा बढ्छ । यौन अंगहरूको विकास हुन्छ । उत्तराकिशोरावस्था नपुगिन्जेल किशोरकिशोरीको मस्तिष्क पूर्ण विकसित भइसकेको हु“दैन । किशोरकिशोरी धैरेजसो बिहान ढिलो उठने गर्छन् । आकस्मिक वृद्धि र उनीहरूमा आएको विभिन्न प्रकारको परिवर्तनले गर्दा शरीर नमिलेको जस्तो पनि देखिन्छ । किशोरीहरू शरीरको बढ्दो तौलबाट बढी संवेदनशील हुने गरेको पाइन्छ ।  

किशोरकिशोरी आफ्ना उमेरका अन्य साथीको जस्तो शारीरिक वृद्धि नभएमा चिन्तित हुने गरेको पनि पाइन्छ । यसैगरी किशोरीमा उमेरभन्दा चा“डै नै परिपक्वता आएमा यसले उदासीनता, चिन्ता र खाना खान मन नलाग्ने समस्या आउन सक्छ । किशोरहरू आमाप्रति र किशोरीहरू बाबाप्रति केही कुरामा खुलेर भन्न अप्ठेरो महसुस गर्छन् । सोहीअनुसार अभिभावकले उनीहरूलाई सहज गराई सही सूचना दिनुपर्छ ।  

संज्ञानात्मक विकास–यो बेला उनीहरूमा तार्किक बहस गर्ने सीप विकास हुने हुनाले  अभिभावक तथा शिक्षकले भनेका कुरा सहर्ष स्वीकार नगर्ने र त्यसमा बहस गर्ने, विकल्प खोज्ने, खोज गर्ने र सम्भावनाबारे सोच्ने गर्छन् । उनीहरू देख्न, छुन, सुन्न नसकिने वस्तुहरू जस्तै विश्वास, भरोसा, आस्था, धर्मका विषयमा ठीकबेठीकबारे चिन्तन गर्ने सीपको पनि विकास भईरहेको हुन्छ । आफूले के सोचिरहेको छु र कस्तो अनुभव गरिरहेको छु जस्ता कुरामा सोच्न सक्ने र त्यसलाई आफ्नै बुझाइका आधारमा प्रस्तुति समेत गर्न सक्नेछन् । एउटै उमेरका किशोर भन्दा किशोरीमा बढी परिपक्वता आउँछ ।  

किशोर वा किशोरीलाई समाजमा सहभागीताको अवसर र अधिकार दिनुपर्छ । जसबाट उनीहरूमा स्वामित्वको भावना विकास हुन्छ र सामाजिक उत्तरदायित्व बहन गर्न सिक्छन् ।

भावनात्मक विकास– उनीहरूले आफू र अरूलाई कसरी हेर्छन, बुझ्छन् र व्यवहार गर्छन् भन्ने कुरा उनीहरूको भावनात्मक विकास कसरी भएको छ त्यसमा निर्भर गर्छ । उनीहरूले आफूलाई  वा अरुलाई परेका बेला उनीहरूको आत्मबल, सामना गर्ने क्षमता र आफ्नो लचकतालाई कसरी प्रस्तुत गर्छन् भन्ने कुराले भावनात्मक क्षमता मापन गर्दछ ।  

किशोरकिशोरीको भावनात्मक विकास गराउन स्कूलको महत्वपुर्ण भूमिका हुन्छ । स्कूलले उनीहरूको क्षमता अभिबृद्धि गर्न विभिन्न खालका कार्यक्रमको योजना बनाई सोही अनुसार कार्यान्वयन गरेमा उनीहरूमा आउने विभिन्न खालका परिवर्तनहरूलाई व्यवस्थापन गर्न सहयोग पुग्छ ।    

सामाजिक विकास– यसले उनीहरूको पहिचान स्थापित गर्दछः ‘म को हु““, मैले यो समाजमा कस्तो पहिचान बनाउनु पर्छ भन्ने प्रश्नको उत्तर खोजीमा आफ्नो पहिचान खोज्छन् । जहा“ उनीहरू स्थापित हुन सक्छन् । किशोर वा किशोरीलाई समाजमा सहभागीताको अवसर र अधिकार दिनुपर्छ । जसबाट उनीहरूमा स्वामित्वको भावना विकास हुन्छ र सामाजिक उत्तरदायित्व बहन गर्न सिक्छन् । साथीहरूको संगतबाट नै किशोरकिशोरीले सम्बन्ध कसरी सुरु गर्ने, सम्बन्धलाई कसरी विस्तार गर्ने, सम्बन्धको महत्व, सम्बन्धलाई कसरी कायम राख्ने, विच्छेद गर्ने कुरा सिक्नुका साथै, किशोरकिशोरी दुबै सामूहिक रूपमा काम गर्न थाल्छन् । एक अर्कामा घनिष्ट सम्बन्ध बनाउँछन् । जसबाट उनीहरूले आफ्नो योग्यता, निर्णय गर्ने क्षमता, समाजसँग जोडिन आउने हरेक गतिविधि, एकआपसमा सहयोग र हेरचाह गर्ने सीपको विकास गर्छन् ।  

मानसिक विकास– यो अवस्थामा उनीहरूको मनमा सकारात्मक र नकारात्मक दुबै सोच आउने गर्छ । आफूमा भएको क्षमतालाई चिन्ने र कुन क्षेत्र आफ्नो लागी उपयुक्त हुन्छ भन्ने बारेमा थाहा पाउन चाहन्छन् । उनीहरू आफू  के र कुन क्षेत्रमा राम्रो गर्न सक्छु भनी थाहा पाउन विभिन्न सोख र अभिरुचिमा संलग्न हुन चाहन्छन् ।  

उनीहरू परिवारभन्दा साथीहरूसँग बढी समय बिताउन चाहन्छन् । आफ्नो कोठाको चुकुल लगाएर एकान्तमा बस्न चाहन्छन् । उनीहरू आफू कोसंग र कहाँ गइरहेछु भन्न भने गाह्रो मान्ने गर्दछन् ।

उनीहरू बाबा आमासंग बढी बहस गर्ने गरेता पनि बाबा आमासंग साथीजस्तै कुराकानी गर्न पनि चाहन्छन् । उनीहरू परिवारभन्दा साथीहरूस“ग बढी समय बिताउन चाहन्छन् । आफ्नो कोठाको चुकुल लगाएर एकान्तमा बस्न चाहन्छन् । उनीहरू आफू कोसंग र कहा“ गइरहेछु भन्न भने गाह्रो मान्ने गर्दछन् । त्यसैले कहिलेकाहि उनीहरू घरमा एकातिर जान्छु भनेर हिँडछन् र अर्कैतिर गएको र समस्यामा पर्ने गरेको पनि पाइन्छ ।  

उनीहरू आफूलेजस्तो भावना र संवेगहरू अन्य कसैले अनुभव गरेका छैनन् भन्ने सोच्ने गर्छन् । उनीहरूले ‘तपाईं मेरा कुरा बुझ्नु हुन्न वा म बरबाद भएँ जस्ता कुरा भन्न सक्छन् । यस बेला उनीहरूमा विनाकारण कुलतमा लाग्ने, पिउने, चुरोट खाने, अनियन्त्रित रुपले सवारी साधन चलाउने, असुरक्षित यौन क्रियाकलापमा संलग्न हुने सम्भावना हुनसक्छ । उनीहरू यी सबै हुनुका पछाडी वयस्कहरूले उनीहरूका भावना नबुझेको, बोलाइ र व्यवहारलाई दोषी ठान्ने गरेको पनि पाइन्छ ।  

आध्यात्मिक विकास– परिवारका सबै सदस्य संगै खाना खाने र कम्तिमा दिनको ४५ मिनेट संगै बस्ने र सबैले आत्म प्रतिबिम्ब सुनाउने । यस समयमा सम्पुर्ण डिभाईस बन्द गर्ने, मानव ध्वनीलाई मात्र स्वागत गर्ने । जब एक जना सदस्यले आत्म प्रतिबिम्ब सुनाईरहँदा अरु मौन बस्ने र केवल सुन्ने । त्यसपछि एकआपसमा कुराकानी गर्ने जस्तै विभिन्न अनुभव, उत्प्रेरक भनाई, कथा, उखानटुक्का, गाउँखाने कथा, कुनै कितावका बारेमा, सत्य घटना, मनमा आएका जिज्ञाशाका बारेमा छलफल गर्ने र विचार आदानप्रदान गर्ने ।  

यस ब्रमाण्डको सृष्टि र संरचनाका बारेमा, प्रकृती र यसका स्रोतका बारेमा, मानव धर्म, कर्म र कर्तव्यका बारेमा, पृथ्वीमा पाइने जीवजन्तु र बोटबिरुवा आदीका बारेमा छोराछोरीलाई महसुस गर्न, कर्तव्य बोध गराउन र हामी मानव सर्वश्रेष्ठ प्राणी भएकामा गर्व महसुस गर्न र मानव भएर जन्म लिनुको सार्थकता बुझाउन अमूल्य समयका रूपमा लिन सकिन्छ । सृिष्टकर्ताप्रति सधैं आभारी हुन र अरुप्रति कृतज्ञ हुन प्रेरणा दिन सके छोराछोरी सुमार्गमा हिँडनेछन् ।  

अभिभावकको भूमिका  

किशोरावस्था अभिभावकका लागि मुठ्ठीको बालुवा जस्तै हो । न त मुठ्ठीलाई कस्न मिल्छ न त खोल्न । त्यसैले किशोरकिशोरीलाई आलोचना नगर्ने वा साथीसंग नदा“ज्ने बरु साथीको जस्तो भूमिका निर्वाह गरिदिनु भए राम्रो हुन्छ । यो समयमा उनीहरू पिरो, अमिलो, नुनिलो र बजारमा पाईने खानाकुरा बढी खान रुचाउँछन् । त्यसैले घरमा बनाएको पोषणयुक्त खानेकुरा खानलाई प्रेरित गर्ने र बाहिरका खानेकुरा कहिलेकाहिं मात्र उपलब्ध गराए उत्तेजनालाई व्यवस्थापन गर्न, स्वस्थ्य मस्तिस्क र स्वास्थ्य खाना खाने वानी पनि विकास हुन्छ । आफू पनि सामेल भएर शारीरिक व्यायाम गर्न उत्साहित गर्ने गरेमा यसले किशोरकिशोरीमा रहेको अनावश्यक शक्तिको उपभोग गर्न सहयोग गर्छ ।  

अभिभावकले कहिलेकाहिँ उनीहरूको अनुहार, कपाल, शारिरिक बनावट, उचाई आदिका बारेमा खुलेर प्रशंसा गरिदिएमा उनीहरूमा सकारात्मक सोच, आत्मबल र विश्वासको भावना विकास हुन्छ । 

यस्तो बेला उनीहरूको मष्तिस्कमा प्रि˚न्टल कोर्टेक्सको विकास  भइरहेको हुनाले योग अभ्यास र ध्यान गर्नाले उनीहरूमा सकारात्मक सोच विकास गर्ने हार्मोन  उत्पादन गर्छ । यसले एकाग्रता र धैर्याता विकास गर्छ । फलस्वरुप उनीहरूमा भावनाले भन्दा पनि विवेकले निर्णय लिने क्षमता विकास हुन्छ । उनीहरूलाई पहिलेजस्तो शारीरिक रूपमा स्नेह र मायाको खाँचो हुन्छ ।  

यस्तो अवस्थामा किशोरकिशोरी आफ्ना यौन मूल्यहरूबारे थाहा पाउने कोशिस गर्छन् । त्यसैले उनीहरूले यौन सम्वन्धी राखेका जिज्ञासाबारे चित्तबुझ्दो जवाफ नपाएका खण्डमा उत्सुकता जान्न गलत मानिसको हातमा पुग्न सक्छन् । यसबाट उनीहरू दुव्र्यबहारमा पर्न सक्छन् ।  

किशोरकिशोरीले बढी समय आफ्नै बारेमा सोच्ने र धेरै ऐना हेर्ने, आफ्नो अनुहार र छालाबारे बढी संवेदनशील हुने गरेको पाइन्छ । यसलाई अभिभावकले साधारण रूपमा लिने र उत्प्रेरकको रूपमा कहिलेकाहिँ उनीहरूको अनुहार, कपाल, शारिरिक बनावट, उचाई आदिका बारेमा खुलेर प्रशंसा गरिदिएमा उनीहरूमा सकारात्मक सोच, आत्मबल र विश्वासको भावना विकास हुन्छ । उनीहरूलाई घरपरिवारको नियमबारे राय दिन प्रेरित गर्ने । उनीहरूका कस्ता साथी छन्, के गर्दछन् आदी जानकारी राख्नुपर्छ । आफ्ना किशोरकिशोरी छोराछोरीका साथीका बाबाआमासँग  भेटघाट गर्ने र बेलाबेलामा स्कूल÷कलेज जाने र सम्वन्धित व्यक्तिसँग सम्पर्कमा रहने ।  

शिक्षकशिक्षिकाको भूमिका  

शिक्षकशिक्षिकाले किशोरकिशोरीलाई आलोचना वा साथीसँग नदा“जीे बरु उत्प्रेरकको भूमिका निवार्ह गरिदिँदा उनीहरू सहज महशुस गर्छन् । तपाईंको अनुभवलाई उनीहरूले महत्व नदिए व्यक्तिगत रूपमा नलिईकन किशोरकिशोरीलाई उनीहरूको व्यवहारको मापदण्ड वा त्यसबाट सिर्जना हुने परिणामबारे समूहमा छलफल गर्न प्रेरित गर्ने । उनीहरूलाई विभिन्न अतिरित्त क्रियाकलापमा सहभागी हुन हौसला दिने जसले गर्दा किशोरकिशोरीले ‘हार, जीत, स्वाकार गर्ने, सहनसीलता, सहकार्य, सहयोग आदीका बारेमा धारणा व्यक्त गर्ने र बुझ्ने मौका पाउँछन् ।

उनीहरूलाई सामुदायिक सेवा र सहयोगी क्रियाकलापमा सहभागी हुने अवसर मिलाई दिने र यसबाट सिकिने सीपका बारेमा उनीहरूकोे विचार र दृष्टिकोण संगसंगै आफ्नो पनि विचार राखी छलफल गर्ने । उनीहरूका राजनैतिक र आध्यात्मिक विश्वासबारे सोध्ने र आफू पनि उनीहरूजस्तै भएको र आफ्नो बेलाको अनुभव सुनाउने ।

यस्तो उमेरमा आउने सवल र दुर्वल दुवै पर्वका बारेमा छलफल गर्ने र त्यसबाट हुन सक्ने गल्तीबारे उनीहरूसँग कुराकानी गर्ने, भावनालाई बुझ्ने र आफ्ना भावना पनि अभिव्यक्त गर्ने । उनीहरूलाई कक्षाको नियमबारे राय दिन प्रेरित गर्ने । त्यसो भएमा उनीहरूले तपाईंलाई बुझ्ने, स्वीकार्ने र विश्वास गर्ने मौका पाउँछन् । फलस्वरुप तपाईं उनीहरूलाई परेका हरेक अप्ठेरा र असहज परिस्थितिलाई सहज बनाउन सहयोगी बन्न सक्नुहुन्छ ।

आवश्यकता अनुसार अभिभावकलाई पनि सामेल गराउने र समयमै सूचना दिन सकियो किशोरकिशोरीलाई आवश्यकता अनुसार सहयोग गर्न सकिन्छ । गुरुहरूको प्रतिविम्ब एक आस्थाको रूपमा सधैं मनमा बस्ने गर्छ । यतिबेला म आदरणीय गुरुआमा रेवीका दुबेलाई सम्झिइरहेकी छु । उहाँको निरन्तर सहयोग र आशीबार्दका लागि धन्यवाद !  

(खड्का सुनगाभा वाटिका नेपालकी निर्देशक तथा मनोविमर्शकर्ता हुन् ।)

प्रकाशित: ३२ जेष्ठ २०७७ ०७:४५ आइतबार

कोभिड १९ मानसिक स्वास्थ्य किशोरकिशोरी मनोविज्ञान