कला

बाबुराम सापकोटाका १० मुक्तक

मुक्तक

बाबुराम सापकोटा

धनी माग्छ भित्र भित्रै पसी मन्दिरमा

भिखारीले बाहिर नै बसी मन्दिरमा

धनी गरिब सबै यहाँ माग्ने नै त रैछन्

जोगी माग्छ खरानी धसी मन्दिरमा।

०००

छोडी टाढा जानेको याद आउँछ अचेल

चोरी मुटु लानेको याद आउँछ अचेल

शिर राखी उनकै काख कुनै एक दिन

पछ्यौरी त्यो तानेको याद आउँछ अचेल।

०००

नसोचेको अब पक्कै कुरा हुन्छ होला

तिम्रा सबै इच्छाहरू पुरा हुन्छ होला

लास मेरो चितामाथि जल्दै गर्दा खेरी

हातमा तिम्रो सिन्दूरपोते चुरा हुन्छ होला।

०००

नेताजीका मैला काला छाला आजभोलि

गोरा चिल्ला देखिदैंछन् गाला आजभोलि

चिल्ला गाडी चढी हिंड्छन् हाम्रै आँखा अघि

छोरी ज्वाईं आफ्नै साली साला आज भोलि।

०००

यी हातले खाली तिम्रो सिउँदो भरी दिन्छु

गाउँ बस्न छोडी यतै बेशी झरी दिन्छु

सुनचाँदी हिरा, मोती दिन सक्दिन म

कलेजी यो सिँगै तिम्रो नाम गरी दिन्छु ।

०००

ढडियामा मछली यो फस्यो भने के गर्छेउ नि

जुधाउँदा नजरले डस्यो भने के गर्छेउ नि

सोझो देखि लुकी लुकी नजिस्क्याऊ है परबाट

ख्याल ख्यालै माया फेरी बस्यो भने के गर्छेउ नि।  

०००

तिमीदेखि परपर भाग्न पनि सक्दिन म

समाजको काँडे बार नाघ्न पनि सक्दिन म

जातभातका कुरा गर्छन् अझै पनि मान्छे यहाँ

घर आई तिम्रो हात माग्न पनि सक्दिन म।

०००

डिग्री पास गरिएछ झोला बोकीबोकी

अझै खास गरिएछ झोला बोकीबोकी

जिन्दगीका धेरै इच्छा धेरै सपनाहरू

सत्यनाश गरिएछ झोला बोकीबोकी।

०००

सम्झनाको तिम्रो सँधै सिरान बनाउनु छ

बिताएर रात साथ बिहान बनाउनु छ

मरेपछि गाड्ने अन्त खाल्टो चाहिँदैन

तिम्रै मुटुभित्र मेरो चिहान बनाउनु छ।

०००

यो पनि पढ्नुहोस्

बाबुराम सापकोटाका १२ मुक्तक

यो पनि पढ्नुहोस्

बाबुराम सापकोटाका १२ मुक्तक

 

बस्ती सबै उठेपछि गाम भयो बेकाम

बदनाम भए पछि नाम भयो वेकाम

आजभोलि हाल मेरो यस्तै भएको छ

सीता छोडी गए पछि राम भयो वेकाम।

(सापकोटाको प्रकाशोन्मुक कृति ‘हुरीको दियो’बाट।) 

प्रकाशित: १२ भाद्र २०७७ ११:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App