सँगै जुनी काट्छौ भने साथ दिन्छु हिँड,
चिप्लिएर लड्न लागे हात दिन्छु हिंड।
मैले सधैँ अँधेरीमा रुन परे पनि,
तिमीलाई जुनेली त्यो रात दिन्छु हिंड।
०००
जून टिपी ल्याई दिन्छु तारा तिमीलाई,
फोक्सुन्डो फेवा अनि रारा तिमीलाई।
हुन्छ मात्रै भनि देऊ एक पल्ट कसम्,
सुम्पी दिन्छु जिन्दगी यो सारा तिमीलाई।
०००
सम्झनाको तिम्रो सँधै सिरान बनाउनु छ,
बिताएर रात साथ विहान बनाउनु छ।
मरेपछि गाड्ने अन्त खाल्टो चाहिदैन,
तिम्रै मुटु भित्र मेरो चिहान बनाउनु छ।
०००
नौनी जस्तै मुटु मेरो ढुङ्गा कहिले बन्छ होला,
ढुङ्गा जस्तै मन उस्को थुङ्गा कहिले बन्छ होला।
धोकेबाज निष्ठुरीको म हेर्नु थियो सबै खुशी,
बादलमा तैरिने त्यो डुङ्गा कहिले बन्छ होला।
०००
शिलान्यास बाटो खन्न नेताजी नै बन्नुपर्छ,
गाली ताली खान टन्न, नेताजी नै बन्नुपर्छ।
दिन रात काम गर, ज्यामी हुन्छौ कुल्ली बन्छौ,
रातारात धनी बन्न नेताजी नै बन्नुपर्छ।
०००
पे्रमपत्र लेख्दै थियो, क्याम्पस पढ्न जाँदा,
कुरी बाटो छेक्दै थियो क्याम्पस पढ्न जाँदा।
छोरी भनी जिस्काएको आमा परि छ र,
बैशाखी ऊ टेक्दै थियो क्याम्पस पढ्न जाँदा।
०००
आशा यता देखाएर मन अन्तै सार्छयौ किन ?
सत्य के हो बोली देऊ दोधारमा पार्छयौ किन ?
एकै पल्ट मारे हुन्थ्यो, बिष बरु पिलाएर,
अलि अलि जलाएर दिन दिन मार्छयौ किन ?
०००
हठ्ठी फाली लडाएर ‘चिची’ सक्यो छिमेकीले
छाती माथि घुँडा धसी थिची सक्यो छिमेकीले
पुर्खा हाम्रा वीर यस्ता भनी गफ छाँट्दै गर्दा
जङ्गे किल्ला सारी सीमा मिची सक्यो छिमेकीले
०००
जस्तो थिएँ ठिकै थिएँ चलाउन किन आयौ ?
याद बनी दिल मेरो जलाउन किन आयौ ?
घाउ थियो भित्र कतै नदेखिने ठाउँ तिर
माथि त्यही नुनचुक दलाउन किन आयौ ?
०००
हिजो राँको जलाउने पनि उहाँहरु नै हो
सरकार ढलाउने पनि उहाँहरु नै हो
प्रतिपक्ष हुँदा चर्का कुरा उही ड्याङका मूला
आज देश चलाउने पनि उहाँहरु नै हो ।
०००
चुहिने छ घर मेरो टाल्छेयौ भने हिंड,
मैले जोत्छु तिमी बीउ हाल्छेयौ भने हिंड।
दुःख भयो पछि फेरि भन्न पाईदैन,
गोठै भरी गाई भैसी पाल्छेयौ भने हिंड।
०००
मुठ्ठी ताकी सिरकमा कत्ति लुक्छौ तिमी,
राष्ट्रियताका चर्का कुरा कत्ति भुक्छौ तिमी।
सयौं विघा आफ्नै जग्गा बाँझो बसेको छ,
खुर्सानीको ढेडी किन्न दिल्ली पुग्छौ तिमी।
प्रकाशित: २ श्रावण २०७७ १६:५२ शुक्रबार