कला

अनुहार किताब

लघुकथा

उनी सुटुक्क पसे मेराे काेठाभित्र। नजिकै आएर भने, सिर्जना हुँदै छ? उनकाे अनुहारतिर फर्केर भनेँ- एउटा लघुकथा पाेस्ट्याउन मन लाग्यो अनुहार किताब (फेसबुकाँ )। उनले दृष्टि हटाउँदै भने, सिर्जनकर्म सुन्दर कर्म हाे तर...!’

- उनकाे तरले मलाई झस्कायाे। साेधेँ किन नि तर?

उनले थपे, ‘अनुहार किताबले अलिक उच्छृङ्खल बनायो, घरभित्रका कुरा बाहिर छरिए। सार्वजनिक गर्न नहुने निजी कुरा पनि आवेगमा आएर छताछुल्ल पोख्ने देखासिकी गर्ने होडबाजी चल्यो।’

- कहाँ त्यस्तो हो र! अनुहार किताबले कति सूचना दिन्छ, नयाँनयाँ विषयको जानकारी गराउँछ, मनोरञ्जन उत्तिकै, साथीभाइ भेट हुन्छ।

- अनुहार किताबमा आउने कुरामा परिवारका सदस्यबिच मतभेद देखाउने, झगडाका सन्दर्भ जोड्ने, कचहरी चलाउने, अड्डाअदालतसम्म पुर्‍याउने जस्ता विषय अनावश्यक रूपले भड्किलो गरी प्रचारप्रसारमा आए। यति मात्र हैन बुढा बहकिए, गृहिणीले दूध उमाले, भात डढाए, मूल्यवान् समय खेर गइरह्यो। यसलाई के भन्ने?

‘ह्याह्या तपाईं पनि! यस्ता रमाइलोका लागि प्रयोग गरिएका कुरा त नक्कली हुन् कथा र टिकटके कुरा पत्याउने रु यो त भएन नि!’

‘हो, मेरो भनाइ त्यै हो, धेरै समर्थन (लाइक) प्रतिक्रिया (कमेन्ट) दृश्य (भ्यूज) का लागि पोस्ट्याइने कमसल सामग्रीले केटाकेटी, युवा र  परिवारका सदस्य भाँडिए। अनुहार किताबले कति लोग्नेस्वास्नीबिच शङ्काउपशङ्का बढायो। घर भाँडिए, केटाकेटीले पढाइलेखाइ छाडे र युवा विलासमा बहकिए। यो राम्रो भयो त?’

‘हुन त तपाईंले भनेको ठिक हो, बेथिति बढेको छ, म पनि मान्छु तर समाजमा एकले अर्कालाई हेपेको, सामाजिक मर्यादा विपरीत काम गरेको, कर्तव्य नगरी अधिकारका पछि दाैडेको देखाउनु त व्यङ्ग्य गरेको हो नि। त्यसो नगर, ठिक होइन भन्ने सन्देशका लागि व्यङ्ग्यात्मक प्रस्तुति पो हो त! खै कुरो बुझ्या?’

‘हो त नि कुरा व्यङ्ग्य हो तर मान्छेले त्यसै गर्नुपर्ने रहेछ भन्ने भयो, त्यसरी बुझ्यो। व्यङ्ग्य भन्ने थाहा पाइएन। बुझाइ र प्रस्तुतिले सकारात्मक दिशानिर्देश गरिरहेको छैन नि।’

‘त्यसो भए कस्ता सामग्री पोस्ट गर्ने त ल भन्नुस् त, सल्लाह दिनुस्!’

यसै भनेर भनिहाल्न त मुस्किल छ, फेरि एकजनाले भने जस्तो सबैलाई अनुकूल नहोला तर कुनै पनि घटना एकोहोरो हुँदैन। त्यसैले अनुहार किताबमा वा अरूतिर आउने सामग्री सद्भाव फैलाउने होओस्, धार्मिक, सामाजिक सहिष्णु र न्यायिक होस्। यसले द्वेष नबढाओस् न हुन्न र?

‘भनेसी दर्शक-श्रोता र प्रस्तोता दुवै पक्ष इमानदार र सचेत  भई अनुहार किताबको सही उपयोग गरियो भने बेथिति केही कम होला,होइन त!’

प्रकाशित: २४ पुस २०८१ १२:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App