कला

सर्वनाममा ‘पत्थरको कथा’ मञ्चन

नाटककार विजय मल्लको एकाङ्की ‘पत्थरको कथा’ मञ्चन गरिएको छ। सन्तोष पोखरेल र स्वीकृति मिश्रको परिकल्पना र निर्देशनमा तयार पारिएको नाटक शुक्रबार र शनिबार सर्वनाम थिएटरमा मञ्चन गरिएको हो।

एकअर्कालाई चिनेजानेका र विभिन्न कारणले ज्यान गुमाएका मानिसहरू काल्पनिक लोकमा पत्थर बनेर शान्त अवस्थामा रहिरहेका बेला एकाएक चल्मलाउन थालेपछि नाटक सुरु हुन्छ । मृत्युअघि घटना स्मरण गर्दै उनीहरू आपसमा संवाद गर्न थाल्छन्। मृत्यु भएका अरू पनि उनीहरूकै हुलमा मिसिन्छन्। अन्ततः उनीहरू पत्थरमै परिणत भएपछि नाटक सकिन्छ। यी सबै परिस्थितिहरूलाई कलाकारहरूले मञ्चमा जीवन्त रूपमा उतारे ।  

त्यसका लागि निर्देशक पोखरेलसहित मदन श्रेष्ठ, श्रृजा खनाल, पूजाकुमारी शाह, सुसन उप्रेती र सोम नेपालीले अभिनय गरेका थिए। एकाङ्कीमा प्रयुक्त स्वैरकल्पनात्मकतालाई प्रस्तुत गर्न सोही ढंगले मञ्च सजाइएको थियो। बीचबीचमा बज्ने साङ्गीतिक पाश्र्व ध्वनिले नाटकलाई रोचक बनाएको थियो।

एकाङ्कीमा राणाकाल समाप्त भई प्रजातन्त्र आइसकेको परिस्थितिमा पनि सामन्तवाद नधर्मराएको, सोझासाझा नागरिकले ठूलाठाला भनाउँदाहरूको अन्याय, अत्याचार, शोषण, दमन र उत्पीडनको मार खेप्नुपरेको, शोषकहरूमा रहेको स्त्रीलम्पट चरित्र र क्रूरताका कारण अबला नारीहरूले प्रताडित हुनुपरेको, अबोध बालबालिकाले बाँच्न पाउने अधिकार गुमाउनुपरेको, जनतालाई जगाउने शिक्षकलगायतले कालको मुखमा पर्नुपरेको अवस्थालाई चित्रण गरिएको छ।  

ती सबै घटनालाई दर्शकको मन जित्ने गरी मञ्चन गरेर नाटककार मल्लको कृतिलाई सकेसम्म न्याय दिन आफूहरूले लागिपरेको निर्देशक मिश्रले बताइन्। प्रायः सबै कलाकार नयाँ भए पनि उनीहरूको कठोर मिहिनेतका कारण नाटक उत्कृष्ट बन्न पुगेको दाबी उनले गरिन्। सर्वनाम थिएटरका राज शाहको सहयोगका कारण नाटकका चार सो मञ्चन गर्न सम्भव भएको अर्का निर्देशक पोखरेलले बताए। 

प्रकाशित: ७ पुस २०८१ १०:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App