ललितपुरको गोदावरीमा मार्बल उत्खनन गर्न सिङ्गो डाँडा नै ओगटिएको थियो। यसको व्यथा के थियो? ताप्लेजुङको मुक्कुमलुङको कथा के हो? त्यहाँ नयाँ केबलकार परियोजना निर्माणका लागि फाँडिएको वन जोगाउन स्थानीय किन सङ्घर्षरत छन्? आखिर वन कसको हो?
उदयपुरको जोगी दहको विकासको कथा के हो? ३० वर्षदेखि यहाँका राजनीतिक दलका नेताहरूले आफ्ना मतदातालाई नयाँ विमानस्थल बनाइदिने वाचा गर्दै आए पनि त्यसका लागि १५६ हेक्टर जंगलका रूखबिरुवा फँडानी गरेर आएको काठपात बेच्नेबाहेक अरू केही गरेका छैनन्। ती रूखबिरुवा कसका हुन्? सुनकोसीको विकासको कथा के हो? यस नदीलाई सिँचाइ र जलविद्युतका लागि बाँध लगाउने र अन्तै डोर्याउने काम मात्रै भएको छ। यो नदी कसको हो?
गत मंसिर २८ गतेदेखि राजधानीको बबरमहलस्थित नेपाल कला परिषद्मा जारी ‘नदीनाला कसका?’ कला प्रदर्शनीमा यी र यस्ता थुप्रै प्रश्न गरिएका छन् जुन कथित विकास र समृद्धिको भाष्यमा भइरहेको प्राकृतिक सम्पदाको दोहनसँग सम्बन्धित छन्। आयोजक फोटो सर्कलले प्रदान गरेको नौ महिना लामो फेलोसिपमार्फत तयार पारिएको फोटोग्राफी, चलचित्र र अन्य बहुसञ्चार सामग्री समावेश यो प्रदर्शनीमा १० जना कथावाचकको प्रतिभा प्रस्तुत गरिएको छ।
‘मेरो फिल्म जोगीदहमा एयरपोर्टको नाममा सामाजिक वनमा भएको विनाशको कथा हो। एक हिसाबले यो नेपालभरकै कथा हो,’ कथावाचक मध्येकी एक दीपा श्रेष्ठ भन्छिन्। सारा टुनिच कोइच भने मुक्कुमलुङ सङ्घर्षको कथाले हामीले पुनः प्रकृतिको नियमभित्र बाँच्न फेरि सिक्नुपर्ने सन्देश दिने बताउँछिन्। फेलोसिपकी एक मेन्टोर बुनु ढुंगाना प्रदर्शनीका कामले सरकारका विकास र समृद्धिका दृष्टिकोणप्रति आलोचनाको आवश्यकता दर्साएको बताउँछिन्।
‘कथावाचकहरूले हामीलाई विकासको प्रचलित भाष्य के छ? भन्दै हाम्रा नदीनाला, वनजङ्गल र जमिनको कुन हदसम्म दोहन र क्षय भएको छ भन्नेबारे पुनर्विचार गर्न आग्रह गर्दछन्,’ प्रदर्शनीकी प्रबन्धक नयनतारा गुरुङ कक्षपति भन्छिन्। प्रदर्शनीमा अमन शाही, अमित मचामसी, दीपा श्रेष्ठ, किशोर महर्जन, सारा टुनिच कोइच, प्रियंका तुलाचन, समग्र शाह, सुण्डुप दोर्जे लामा, सञ्जय अधिकारी र श्रीना नेपालका कला रहेका छन्। प्रदर्शनी पुस ७ गतेसम्म चल्नेछ ।
प्रकाशित: ३ पुस २०८१ १०:४७ बुधबार