नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले नेदरल्यान्ड्स भ्रमणमा चार हार सामना गर्दा समर्थकभन्दा आफ्नो टोली निराशा रहेको बताए।
आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्स र नामिबिया सम्मिलित श्रृङ्खलाको खेलमा नेपाल पराजित भएको थियो। यो हारसँगै विश्वकप लिग–२ को शीर्ष चारमा रहेर एकदिवसीय विश्वकपको छनोटको यात्रा र एकदिवसीय मान्यता संकटमा देखिएको छ।
शुक्रबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कप्तान रोहितले नेदरल्यान्ड्सको नतिजाबाट समर्थकभन्दा धेरै आफ्नो टोली निराश रहेको बताएका हुन्।
भ्रमणमा लिएको आशाअनुरूप खेल्न नसक्नुले निराश रहेको र अब आगामी ओमान शृङ्खलामा केन्द्रीत हुने रोहितले बताए। उनले त्यहाँको पिचमा नेपालका ब्याटरले राम्रो गर्न नसकेको उल्लेख गरे।
खराब नतिजाको पछाडि पिचमा बुझ्न नसक्नु र ब्याटरले लक्ष्यअनुरुप चुकेको उनको धारणा छ। होम कन्डिसनअनुरूप अवेमा नहुने उनले उल्लेख गरे।
नेदरल्यान्ड्सले सर्ट बलमा योजना बनाएको र आफूहरू त्यसमा चुकेको उनी बताउँछन्। ब्याटिङसँगै फिल्डिङमा पनि खराब प्रदर्शन गरेको रोहितको भनाइ छ। जुन लेभलमा नेपाल खेलाडीले फिल्डिङमा गर्दै आएको यसपल्ट त्यसमा पूर्णरूपमा चुकेको उनले बताए।
एउटा खेलमा जुन ब्याटरको क्याच छोडिएको थियो उसैले म्यान अफ दी म्याचको प्रदर्शन गरेको उनले बताए। चार वटै खेलमा ब्याटिङ र फिल्डिङमा नेपालको स्तरभन्दा पनि कमजोर प्रदर्शन भएको उनी बताउँछन्।
यो नतिजाले लिग–२ को अंकतालिकामा धेरै असर पुगेको उल्लेख गर्दै रोहितले आगामी शृङ्खलामा राम्रो गर्दै एकदिवसीय मान्यता जोगाउने आशा व्यक्त गरे।
पहिलो खेलमा दीपेन्द्रसिंह ऐरी र आफूले साझेदारी बनाएको अवस्थामा जोगाउन नसकेको उनले उल्लेख गरे। अन्तिम खेलमा सन्दीप लामिछानेलाई बाहिर राख्नु चुनौतीपूर्ण निर्णय रहेको बताउँदै उनले सानो सानो मुमेन्टमा आफ्नो टोली चुकेको बताए।
प्रकाशित: १५ श्रावण २०८३ १८:३२ शुक्रबार



