खेल

टी-२० विश्वकप: पाकिस्तानको संघर्षपूर्ण जित, नेदरल्यान्ड्स ३ विकेटले पराजित

आइसीसी पुरुष टी-२० विश्वकप-२०२६ को समूह ‘ए’ अन्तर्गतको उद्घाटन खेलमा पाकिस्तानले नेदरल्यान्ड्समाथि ३ विकेटको रोमाञ्चक जित हात पारेको छ।

शनिबार कोलोम्बोस्थित सिन्हिज स्पोर्ट्स क्लब ग्राउन्डमा भएको खेलमा नेदरल्यान्ड्सले दिएको १४८ रनको लक्ष्य पाकिस्तानले ३ बल बाँकी छँदा ७ विकेट गुमाएर पूरा गर्‍यो।

मध्यक्रममा धर्मराएको पाकिस्तानको इनिङ्सलाई अन्त्यमा फहिम असरफले जितसम्म डोर्याए। उनले मात्र ११ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै अविजित २९ रनको विस्फोटक इनिङ्स खेले।

पाकिस्तानका लागि ओपनर साहिबजादा फरहानले सर्वाधिक ४७ रन बनाए भने सइम अयुबले २४ रनको योगदान दिए।

नेदरल्यान्ड्सका बलरहरूले पनि राम्रो चुनौती दिएका थिए। आर्यन दत्त र पल भान मिकेरेनले समान २-२ विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन्।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा १ बल बाँकी छँदा सबै विकेट गुमाएर १४७ रन बनाएको थियो।

नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवर्ड्सले सर्वाधिक ३७ रन बनाए भने बास डे लिडेले ३० र माइकल लेभिटले २४ रन जोडे।

नेदरल्यान्ड्सलाई सस्तैमा समेट्न पाकिस्तानका बलर सलमान मिर्जाले उत्कृष्ट बलिङ गरे। उनले ३.५ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए।

त्यस्तै, अबरार अहमद, मोहम्मद नवाज र सइम अयुबले समान २-२ विकेट लिए।

प्रकाशित: २४ माघ २०८२ १४:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App