खेल

मुन्सीको शतकमा सुदूरपश्चिम बन्यो एनपिएल सिजन-३ च्याम्पियन

लगातार तेस्रो प्रयासमा उपाधि खडेरी तोड्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको च्याम्पियन बनेको छ।

कीर्तिपुरमा सम्पन्न डे-नाइट फाइनलमा अघिल्लो सिजनको विजेता लुम्बिनी लायन्सलाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै सुदूरपश्चिमले पहिलोपटक एनपिएल उपाधि उचालेको हो।

यस जितसँगै सुदूरपश्चिमले अघिल्लो सिजनको फाइनलमा लुम्बिनीसँग भोगेको हारको बदलासमेत लिएको छ। एनपिएलको सिजन १ र सिजन २ दुवैमा फाइनल पुगेर पनि उपाधि जित्न नसकेको सुदूरपश्चिम अघिल्लो संस्करणमा यही लुम्बिनीसँग पराजित भएको थियो।

लगातार तेस्रो पटक फाइनल खेल्दै सुदूरपश्चिमले यसपटक भने एकपक्षीय जित रचेको हो।

लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले कुनै विकेट नगुमाई मात्र १३.३ ओभरमा १५८ रन बनाउँदै पूरा गर्‍यो। ३९ बल बाँकी छँदै ११.७० को रनरेटमा लक्ष्य भेट्टाउन ओपनर जर्ज मुन्सीले ऐतिहासिक शतकीय पारी खेले। मुन्सीले ५४ बलमा ८ चौका र १२ छक्काको मद्दतले अविजित १२५ रन प्रहार गरे।

मुन्सीले २८ बलमा ५ चौका र ३ छक्कासहित अर्धशतक तथा ४९ बलमा ८ चौका र ८ छक्कासहित शतक पूरा गरेका थिए। शतकपछि पनि आक्रामक बनेका उनले सुदूरपश्चिमका लागि अन्तिम ५ ओभरमा ८५ रन जोड्ने क्रममा मुख्य भूमिका निभाए।

उनलाई अर्को छेउबाट विकेटकिपर विनोद भण्डारीले २७ बलमा ३ चौकासहित अविजित ३० रन बनाएर बलियो साथ दिए। सुदूरपश्चिमले अतिरिक्त ३ रन पाएको थियो।

सुदूरपश्चिमले ४.६ ओभरमा ५० रन, पावरप्लेमा ६० रन, १० ओभरको ड्रिंक्स ब्रेकमा ९० रन, १०.४ ओभरमा १०० रन र १३.२ ओभरमा १५० रनको आँकडा पार गरेको थियो। 

सुदूरपश्चिमको विस्फोटक ब्याटिङसामु लुम्बिनीका कुनै पनि बलरले विकेट लिन सकेनन्। लुम्बिनीका कप्तान रोहित पौडेलले १ ओभरमा १८ रन खर्चिए भने रुबेन ट्रम्पेलम्यानले २ ओभरमा २६, किशोर महतोले ३ ओभरमा ३८, शेर मल्लले ३.३ ओभरमा ३४, डार्सी सर्टले २ ओभरमा २१ र अभिषेश गौतमले २ ओभरमा २० रन दिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो। लुम्बिनीका लागि दिलीप नाथले ३१ बलमा ३ छक्कासहित सर्वाधिक अविजित ३९ रन जोडे।

यस्तै कप्तान रोहित पौडेलले ३१ बलमा २ चौकासहित ३० रन, विकेटकिपर निरोशन डिकवेलाले १७ बलमा १ चौका र २ छक्कासहित २८ रन तथा अली शेखले १२ बलमा २ चौका र २ छक्कासहित २४ रन बनाए।

ओपनर डार्सी सर्ट १८ बलमा ४ चौकासहित २१ रनमा आउट हुँदा आसिफ शेख १ र सन्दीप जोरा ४ रनमा पेभिलियन फर्किए भने ट्रम्पेलम्यान २ बलमा ४ रनमा अविजित रहे।

अतिरिक्त ४ रन पाएको लुम्बिनीले पावरप्लेमा २ विकेट गुमाएर ३७ रन बनाएको थियो। इनिङ्सको २.२ ओभरमा आसिफ शेखको एलबीडब्ल्यू आउटविरुद्ध लुम्बिनीले लिएको रिभ्युमा अम्पायर पी. रम्बुकवेला र ७.६ ओभरमा डिकवेलाविरुद्ध सुदूरपश्चिमले लिएको रिभ्युमा अम्पायर जी. सोहेलको निर्णय सदर भएको थियो। लुम्बिनीले ५, ३५, ७४, १०८, ११४ र १४७ रनमा ६ विकेट गुमाएको थियो।

बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगेलेइनले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए। यस्तै हेमन्त धामीले ४ ओभरमा २३ रन, थरिन्दु रत्नायकेले ४ ओभरमा २४ रन र कप्तान दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा २५ रन खर्चेर १-१ विकेट हात पारे।

अनिल खरेल र इशान पाण्डे विकेटविहीन रहे। सुदूरपश्चिमको ओपनिङ जोडीले नै लक्ष्य पूरा गरेपछि अन्य खेलाडीले ब्याटिङ गर्नै परेन।

प्रकाशित: ५ मंसिर २०८३ २०:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App