श्रीलंकाका प्रभावशाली अलराउन्डर चरिथ असलंका आगामी नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सबाट खेल्ने भएका छन्। विराटनगरले असलंकालाई आफ्नो विदेशी खेलाडीका रूपमा टोलीमा समावेश गरेको हो।
अन्तर्राष्ट्रिय क्रिकेटमा लामो अनुभव बोकेका असलंका हाल श्रीलंकाको टी-२० अन्तर्राष्ट्रिय टोलीको नेतृत्व गरिरहेका छन्। नियमित कप्तान कुसल मेन्डिस चोटका कारण इंग्ल्यान्डविरुद्धको टी-२० शृंखलाबाट बाहिरिएपछि असलंकाले टोलीको कप्तानी सम्हालेका हुन्।
ब्याटिङ अलराउन्डर असलंकाले श्रीलंकाका लागि तीन टेस्ट, ८३ एकदिवसीय र ७६ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनले टेस्टमा ८८, एकदिवसीयमा २ हजार ७३४ र टी-२० अन्तर्राष्ट्रियमा १ हजार ४५६ रन बनाएका छन्। एकदिवसीयमा उनको नाममा पाँच शतक र १७ अर्धशतक छन् भने टी-२० अन्तर्राष्ट्रियमा ६ अर्धशतक बनाएका छन्।
बलिङतर्फ पनि योगदान दिन सक्ने असलंकाले एकदिवसीय अन्तर्राष्ट्रियमा १८ र टी-२० अन्तर्राष्ट्रियमा सात विकेट हात पारेका छन्। उनको टी-२० अन्तर्राष्ट्रियमा ८० रन उच्च स्कोर हो।
फ्रेन्चाइज क्रिकेटमा समेत असलंकाको अनुभव उल्लेखनीय छ। सन् २०२६ मा उनले पाकिस्तान सुपर लिग, लंका प्रिमियर लिग र क्यारेबियन प्रिमियर लिगमा सहभागिता जनाएका छन्। लंका प्रिमियर लिगको पछिल्लो संस्करणमा उनले ३८५ रन बनाएका थिए।
विराटनगरका लागि असलंकाको आगमनले टोलीको मध्यक्रमलाई थप बलियो बनाउनेछ। अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव, आक्रामक ब्याटिङ र आवश्यक पर्दा बलिङ गर्न सक्ने क्षमताका कारण उनी एनपीएलमा विराटनगरका महत्वपूर्ण विदेशी खेलाडीमध्ये एक बन्नेछन्।
नेपालको फ्रेन्चाइज क्रिकेटमा पहिलोपटक खेल्न लागेका असलंकाको सहभागिताले एनपीएलमा श्रीलंकाली क्रिकेटको अनुभव र अन्तर्राष्ट्रिय स्तरका खेलाडीको आकर्षणसमेत थप्ने अपेक्षा गरिएको छ।
प्रकाशित: २ आश्विन २०८३ ०६:२४ शुक्रबार



