साहसिक खेलको रूपमा लिइने प्याराग्लाइडिङप्रति पछिल्लो समय उदयपुरमा आकर्षण बढ्दै गएको छ । यही आकर्षणलाई मध्यनजर गर्दै नेपाल प्याराग्लाइडिङ एन्ड ह्याङ्गग्लाइडिङ एसोसिएसन उदयपुरले ‘कोशी एक्सेलेन्सी प्याराग्लाइडिङ प्रतियोगिता–२०८२’ सञ्चालन गर्न लागेको छ ।
प्रतियोगिताबारे एसोसिएसनले मंगलबार गाईघाटमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । सदरमुकाम गाईघाटस्थित होटल टाउनहलमा आयोजित पत्रकार सम्मेलनमा एसोसिएसन उदयपुरका सचिव जितेन्द्र राईले जिल्लाको पर्यटन प्रवर्द्धनमा योगदान गर्न प्याराग्लाइडिङ प्रतियोगिता गर्न लागेको बताए । उनका अनुसार पर्यटन कार्यालय धरान–सुनसरीको सहयोगमा प्रतियोगिता बेलका नगरपालिका–८ बुक्टाडाँडामा सञ्चालन हुनेछ ।
दुई दिन चल्ने प्रतियोगितामा आधादर्जन विदेशी पाइलटसहित प्रदेश १ (कोशी) का चार दर्जन बढी प्रतिस्पर्धीको सहभागिता रहने छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने खेलाडीलाई नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्न सबैखाले तयारी भइरहेको सम्मेलनमा जानकारी दिइयो ।
प्रतियोगिताले नयाँ वर्ष २०८३ लाई स्वागत गर्दै चैत २९ देखि वैशाख ३ गतेसम्म रौतामाई पोखरीमा सञ्चालन हुने ‘प्रथम रौतामाई/त्रियुगा पर्यटन महोत्सव–२०८२’ तथा बेलका–३ सुनखानीमा वैशाख १ देखि ६ गतेसम्म सञ्चालन हुने ‘बेलका पर्यटन महोत्सव–२०८२’ लाई सहयोग पुग्ने अपेक्षा गरिएको छ । ती दुवै महोत्सवमा प्याराग्लाइडिङ उडान कार्यक्रमसमेत समेटिने भएकाले यस प्रतियोगिताले थप सहयोग पुग्ने आयोजकको विश्वास छ ।
यसअघि नै परीक्षण भइसकेको बुक्टाडाँडामा विगत पाँच वर्षदेखि प्याराग्लाइडिङ तालिम सञ्चालन हुँदै आएको छ । तालिम सञ्चालनसँगै एसोसिएसनले सो स्थानमा हरेक शनिबार अभ्यास उडानसमेत गर्दै आएको छ । मैनामैनीस्थित बुक्टाडाँडाबाट उडेको प्याराग्लाइडिङ उदयपुर–सुनसरी सीमास्थित सप्तकोशी किनार क्षेत्रमा अवतरण गर्ने गरिएको छ । बुक्टाडाँडा उचाइयुक्त स्थान भएकाले यहाँबाट उडान गर्दा ऐतिहासिक तथा धार्मिकस्थल बराहक्षेत्र, आसपासका क्षेत्र तथा सप्तकोशीका दृश्य अवलोकन गर्न सकिन्छ ।
सचिव राईका अनुसार पोखरापछि उदयपुरमा विस्तार हुँदै आएको प्याराग्लाइडिङलाई बेलका, त्रियुगा, रौतामाई, ताप्ली, लिम्चुङबुङ र उदयपुरगढी तथा कटारीमा पनि सम्भावना रहेको छ । गाईघाटबाट करिब १२ किलोमिटर माथि साउने जंगलदेखि बरुवा किनारसम्म सफल परीक्षण भइसकेको छ ।
त्यस्तै त्रियुगा–१५ स्थित रमिते डाँडामा पनि परीक्षण सफल भएको छ भने छिमेकी रौतामाई गाउँपालिका–६ को रौतामाई पोखरी तथा रौतामाई–१ बाँझेडाँडामा पनि केही वर्षअघि नै परीक्षण सफल भएको राईले बताए । लिम्चुङबुङको भोग्रुङ, ताप्लीको ताप्ली पोखरी, कटारीको बेतिनी क्षेत्रमा समेत पर्याप्त सम्भावना रहे पनि हालसम्म परीक्षण हुन बाँकी छ ।
उदयपुरगढी र चौदण्डीगढीमा पनि परीक्षण सफल हुन सक्ने अनुमान भए पनि अझै परीक्षण गरिएको छैन । पटक–पटक उडान गरेर अनुभव बटुलेका गाईघाटका युवा भुपाल राउतले बुक्टाडाँडामा तालिमकै अवधिमा सफल उडान प्रमाणित भइसकेकाले व्यावसायिक उडान सञ्चालन गर्न कठिन नहुने बताए ।
त्यसैगरी साउने, रमिते र बाँझेडाँडामा पनि परीक्षण सफल भइसकेकाले आवश्यक पूर्वाधार तयार गरी व्यावसायिक रूपमा सञ्चालन गर्न इच्छुकहरूको खोजी गर्नुपर्ने उनको सुझाव छ । अन्य सम्भावित स्थानमा पनि परीक्षण गरी सफल भएपछि पूर्वाधार निर्माण गरेर अघि बढ्न एसोसिएसनले योजना बनाउनुपर्ने राउतको भनाइ छ ।
उदयपुरमा प्याराग्लाइडिङलाई व्यावसायिक रूपमा विकास गर्न सके वर्षेनी हजारौँ पर्यटक भित्र्याउन सकिने र त्यसबाट आर्थिक आम्दानीसहित स्थानीय उत्पादनको बजारीकरणमा टेवा पुग्ने एसोसिएसनको दाबी छ । यही उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको एसोसिएसनका अध्यक्ष माधव बानियाँले बताए ।
प्रकाशित: २४ चैत्र २०८२ २०:२० मंगलबार



