भारतको कर्नाटक राज्य क्रिकेट टोलीसँगको अभ्यास खेलमा नेपालले जितका लागि १८९ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिले ब्याटिङ रोजेको नेपाली टोली ४५ ओभरमा १८८ रन बनाउँदै अलआउट भयो।
नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ४९ रनको इनिङ्स खेले। ७० बल सामना गरेका उनी २ चौका र १ छक्का प्रहार गर्दै अर्धशतक बनाउन मात्र १ रनले चुके।
यस्तै, इशान पाण्डेले ४९ बलमा ३ चौकाको मद्दतले ३४ रन जोडे भने देव खनाल र सन्दीप जोराले समान २७/२७ रनको योगदान दिए। तल्लो क्रममा बसिर अहमद १९ रनमा अविजित रहँदा गुलशन झाले ११ रन बनाए।
नेपाली शीर्ष र मध्यक्रमका अन्य ब्याटरहरू भने चल्न सकेनन्। ओपनर अर्जुन कुमाल र करण केसी शून्य रनमै पेभेलियन फर्किए भने रोहित पौडेल ४, सन्दीप लामिछाने २ र शेर मल्ल १ रनमै आउट भए।
कर्नाटकका बलर कीर्ति एमले उत्कृष्ट बलिङ गर्दै सर्वाधिक ५ विकेट लिए। उनले ८ ओभरमा १ मेडनसहित मात्र २० रन खर्चेका थिए।
यस्तै, आदित्य गोयल, अरविन्द कुमार राई, चिरन्त शिवरुद्र, सागर गौतम र समर्थ श्रीनिवासले समान १/१ विकेट हात पारे।
नेपालले दिएको १८९ रनको लक्ष्य पछ्याउँदै कर्नाटकले अबको केही बेरमा जवाफी ब्याटिङ सुरु गर्नेछ।
प्रकाशित: २ भाद्र २०८३ १५:५६ मंगलबार

-600x400.jpg)
